NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते
राजनीति

बधाई खान पनि संकोच मान्छन् नेविसंघका मनोनित सदस्य

विदेशमा रहेका पनि मनोनित, कमिटी जम्बो बने पनि विवाद उस्तै

‘म सम्झिन्छु ०५७ सालमा अध्यक्ष विश्वप्रकाश शर्मा, यादव पण्डित महामन्त्री, चितवनको केन्द्रीय समिति र ०५९ मा नेपाल विद्यार्थी संघको वीरगञ्ज महाधिवेशनबाट गुरु घिमिरे अध्यक्ष, गगन थापा महामन्त्री, ४१ सदस्यीय केन्द्रीय समिति । कस्तो चर्चा थियोे, नेविसंघ केन्द्रीय सदस्यको । कति गौरव थियोे केन्द्रीय सदस्य हुनु र जित्नुमा, भनी साध्य छैन । त्यति नै महत्त्व थियोे, महाधिवेशन प्रतिनिधि र मत खसाल्नुमा । अहिले गणेशहरूको भीड देख्दा कस्तो–कस्तो लाग्दैछ । तैपनि, भाइ–भतिजा, भतिजीहरूलाई शुभकामना– तिमीहरूको राम्रो होस, कुमारहरूले तिमीहरूको रक्षा गरून् । सधै ब्रह्मा, विष्णु महेश दाहिना होऊन् ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पा नेतृत्वको नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय तदर्थ कार्यसमितिमा सोमबार ७१० सदस्य मनोनित गरेका छन् । यसअघि नै महाधिवेशन भइसक्नुपर्ने नेविसंघमा देउवाले ‘टीका’ लगाएर केन्द्रीय सदस्य मनोनयन गरेका हुन् । इतिहासमै जम्बो कार्यसमिति बनेपछि अधिवक्ता सुरेन्द्रसिंह ऐरले नेविसंघको उतिबेला र अहिलेको क्रेज तुलना गर्दै लेखेको स्ट्याटस हो माथिको ।

दोस्रो पटक सभापतिमा निर्वाचित भएपछि पनि भातृ संगठनहरूलाई लथालिंग पारेको आरोप खेपिरहेका देउवाले नेविसंघभित्रको विग्रह साम्य पार्ने हेतुले यस्तो कदम चालेको बताइन्छ । तर विवाद साम्य हुनुको साटो थप बल्झिने संकेत देखिएको छ । पार्टी सभापतिको कदमपछि त्यसको विरोध र समर्थनमा कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बुधबार प्रदर्शन गरिएको छ । संस्थापन र असन्तुष्ट दुई समूहले एकसाथ पार्टी कार्यालयमा प्रदर्शन गरेका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले नेविसंघमा ७११ केन्द्रीय सदस्य मनोनित गरे पनि समस्या समाधान हुनुको साटो थप चर्किंदै गएको छ

एउटै संगठनले विरोध र समर्थनमा प्रदर्शन गर्दा मुठभेड हुनसक्ने खतरा देखापरेको थियो । तर संयमता अपनाएर प्रहरी परिचालन गरिएकाले अप्रिय घटना भने हुन पाएन ।

बधाई खान संकोच मान्छन् केन्द्रीय सदस्य

देशकै पुरानो प्रजातान्त्रिक पार्टीनिकट विद्यार्थी संगठनको केन्द्रीय समिति सदस्य हुनु सम्मानको विषय हुनुपर्ने हो । तर यस पटकको मनोनयन र मनोनित सदस्यलाई मजाकको पात्र बनाइएको छ । सामाजिक सञ्जालमा अन्य दल आबद्धले मात्र होइन, स्वयं कांग्रेसनिकटस्थहरूले नै यसबारे व्यंग्य र कटाक्ष गरेका छन् ।

प्रेस युनियनका अध्यक्ष शिव लम्सालले सामाजिक सञ्जाल फेसबुकमा नेविसंघको केन्द्रीय समितिलाई ‘एक पालिका, एक सदस्य बनाउनु पर्ने, कांग्रेस किन चुक्यो’ भन्दै व्यङ्ग्य कसेका छन् । ‘नेविसंघको केन्द्रीय समिति कम्तीमा एक पालिका, एक सदस्य हुनेगरी ७५३ बनाउनु पर्नेमा ७११ बनाएर कांग्रेस किन चुक्यो ? अब ४२ थप्ने होला,’ उनले फेसबुकमार्फत दनक दिएका छन् ।

प्रेस युनियनका उपाध्यक्ष नकुल अर्यालले ‘ठूलो आकारको भातृ संस्था भएका पार्टी सभापतिलाई कमजोर भन्ने को हो ?’ भनेर व्यंग्य गरेका छन् । ‘जुन पार्टीको सभापतिलाई ८२ प्रतिशत केन्द्रीय सदस्यहरुको अपार समर्थन छ, जुन पार्टीको भातृ संस्थाहरू ४०१ र ७११ सदस्यीय छन् । त्यो पार्टी र नेतृत्वलाई कमजोर भन्ने को हो ?,’ अर्यालले लेखेका छन्, ‘यस्तो पार्टी कहिल्यै कमजोर हुँदैन, सोझै सिद्धिन्छ ।’

केन्द्रीय समितिमा मनोनितलाई मजाकको पात्र बनाएपछि बधाई थाप्न पनि संकोच लागेको एक मनोनित केन्द्रीय सदस्यले बताए । ‘अधिवेशनबाट जितेर आउँदा पो खादा, माला, अबिर लगाएर बधाई खानुको छुट्टै सान हुन्थ्यो । नेता बनिन्थ्यो । यत्रो ७ सय बढीको संख्यामा मनोनित भइएको छ, सम्मान थाप्न त परै जाओस्, बधाई खान नि लाज लागेको छ,’ ती केन्द्रीय सदस्यले नाम उल्लेख नगर्ने सर्तमा भने ।

नेविसंघको कार्यसमिति मनोनयनमार्फत इतिकासमै भद्दा आकारको बनाइएकाले सदस्यमा परे पनि उत्साह नपलाएको अर्का एक मनोनित सदस्यले नेपालवाचसँग बताए ।

‘यत्रो जम्बो टोलीमा बनेको केन्द्रीय सदस्यको के भाउ हुनु ? मलाई त कसले कहाँबाट राखिदियो थाहा नै छैन्, के बधाई खानु लाजको मर्नु,’ अर्का एक केन्द्रीय सदस्यले भने ।

नेविसंघका नवनियुक्त केन्द्रीय सदस्य चन्द्रप्रकाश देवकोटाले समितिले पूर्णता पाउँदा खुसी लागे पनि सिनियर र जुनियर दुवैलाई एउटै कमिटीको जिम्मेवारी दिइएकाले उत्साहमा भने कमी आएको बताए । तर जम्बो केन्द्रीय समिति बनाइएको भनेर भइरहेको आलोचनाको भने उनले बचाउ गरे । लामो समय दुःख गरेकालाई समेट्नुपर्ने बाध्यताका कारण समिति केही ठूलो हुन गएको उनको भनाइ छ ।

‘प्राप्त जिम्मेवारीपछि जुन रूपमा उत्साह सञ्चार हुनु पर्ने हो, त्यो हुन सकिरहेको छैन । लामो समयदेखि संघ–संगठनमा काम गरेका सिनियर साथीहरू र जुनियर साथीहरू एउटै समितिमा हुँदा सिनियरहरुको अवमूल्यन भएको महसुस भएको छ,’ उनले अगाडि थपे, ‘तर लामो समय दुःख गरेका साथीहरू समेट्नु पर्ने भएकाले ठूलो समिति बनाउनु बाध्यता हो भन्ने लाग्छ । समिति ठूलो हुँदैमा लाज मान्नु पर्ने केही छैन ।’

विदेशमा बस्ने पनि केन्द्रीय सदस्य !

नेविसंघमा सक्रियलाई केन्द्रीय समिति नबनाइएको भनेर गुनासो चुलिरहेका बेला विदेशमा रहेकालाई समेत मनोनित गरिएको पाइएको छ । डा. रितेश चिमोरिया नेपालबाहिर छन् । तर उनलाई केन्द्रीय सदस्य बनाइएको छ ।

त्यसैगरी, विदेशमै रहेका किरण भण्डारी, रवीन ढुंगाना र अमृत वस्तीलाई पनि केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ । यीमध्ये ढुंगानाले जिम्मेवारी अस्वीकार गरेका छन् । अन्यले भने यसबारे कुनै प्रतिक्रिया जनाएका छैनन् ।

भएन विवाद मत्थर

एक वर्षमा अधिवेशन गर्ने कार्यादेशका साथ १७ महिनापछि बल्ल दुजाङ शेर्पा नेतृत्वको तदर्थ समितिलाई पूर्णता दिइएको छ । कार्यसमितिले पूर्णता पाएकाले आगामी ६ महिनाभित्र उसले निर्वाचन गर्नुपर्नेछ । यति ठूलो संख्यामा केन्द्रीय समिति सदस्य मनोनित गर्दा पनि नेविसंघभित्रको सदाबहार विवाद अन्त्य हुन भने सकेन । कतिसम्म भने केन्द्रीय समिति सदस्यमा पदोन्नति भएकाहरू नै असन्तुष्ट बनेका छन् । खासगरी संस्थापन पक्षले सहमति कुल्चिएर संख्या थपेको संस्थापनइतर पक्षको आरोप छ । नेविसंघका केन्द्रीय सदस्य मनिष सिम्खडा ५५१ सदस्यीय तदर्थ समिति ल्याउने सहमतिलाई संस्थापनपक्षले लत्याएको आरोप लगाउँछन् । ‘हामीले ५५१ मा फाइनल गरेका थियौं । पछि थपेर आयो । हामीले पठाएका २०–२१ जनाको त झन् नाम नै काटियो । नेताहरूले के सहमति गरेर यस्तो भयो हामीलाई थाहा छैन,’ उनले नेपालवाचसँग भने ।

केन्द्रीय सदस्य बम स्वारले नेता खुसी पार्न विधान मिचेर केन्द्रीय सदस्य मनोनित गरिएको आरोप लगाए । ‘यो समितिमा विद्यार्थी नेताहरू अटाएका छैनन् । नेताहरूको वरिपरि घुम्ने, नाता सम्बन्ध भएका, काठमाडौंका कलेज पढ्ने केन्द्रीय सदस्य सिफारिस भएका छन् । दूर–दराजका विद्यार्थीहरू, संगठनमा खटेर लागेकाहरूलाई समितिमा समेटिएको छैन,’ स्वारले गुनासो गरे, ‘नियमित रूपमा अधिवेशन गरेको भए अवस्था यस्तो हुँदैन थियो । सक्रिय विद्यार्थीहरू राजनीतिको मेन लाइनमा आउँथे ।’ स्वारले तदर्थ समितिले नभई विधि र विधानसम्मत ढंगले नेविसंघ चल्नु पर्नेमा जोड दिए ।

केन्द्रीय सदस्य सिम्खडा समितिमा समेटिनै पर्ने थुप्रै विद्यार्थी नेता नअटाएको सुनाउँछन् । ‘हिजोका दिनमा संघर्ष गरेका साथीहरू नै छुटेका छन् । जिल्लाको नेतृत्व गरेको, क्याम्पसको नेतृत्व गरेका, विद्यार्थी आन्दोलनमा अग्र भागमा रहेका थुप्रै साथीहरू छुटेका छन् । उनीहरूलाई पनि समेटेर लैजान सकिए राम्रो हुन्छ,’ उनले भने ।

ठूलो कमिटी रहर नभएर बाध्यता : शेर्पा

नेविसंघ तदर्थ समितिका अध्यक्ष शेर्पा ठूलो कमिटी बनाउनु रहर नभएर बाध्यता भएको बताउँछन् । नियमित अधिवेशन नहुनु, उमेर हदबन्दी, स्ववियु निर्वाचनलगायतलाई उनले यसको मुख्य कारण औंल्याए ।

विगत लामो समयदेखि हुन नसकेको महाधिवेशन, उमेर हदबन्दी र स्ववियु निर्वाचनलाई सफल बनाउन विभिन्न जिल्ला र क्याम्पसहरूमा योगदान गरेकाहरूलाई समेट्नु पर्दा ठूलो संख्याको समिति बनाइएको हो,’ जम्मो केन्द्रीय कमिटी बनाएको भन्दै चौतर्फी आलोचित बनेपछि शेर्पाले फेसबुकमा प्रष्टीकरण दिएका छन् ।