NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ मंसिर २८ गते
विचार

किन आलोचित छ निजामती सेवा ?

काठमाडौं । निजामती सेवा सद्गुणहरूको संगम हो । निजामती सेवामा एकसाथ राष्ट्रसेवा र वृत्ति विकास गर्ने अवसर प्राप्त हुन्छ, जुन अन्य सेवामा कम प्राप्त हुन्छ । निजामती सेवाभित्र समाजका योग्य, अभिप्रेरित र उच्च नैतिक आचरण भएका व्यक्तिहरू प्रवेश गर्दछन् र लामो अवधि नागरिक सेवा व्यवस्थापन गरी आफ्नो वृत्ति विकास गर्दछन् । त्यसैले निजामती सेवालाई राष्ट्रसेवाको पर्यायका रूपमा लिने गरिन्छ ।अहिले निजामती सेवा आलोचनाको तारो बनेको छ । बुुझेर, नबुुझेर यसमाथि आरोप/प्रत्यारोप गरिएको छ । सरकारमाथि आलोचना गर्दा पनि आलोचनामा यही पर्छ, सरकारको वैधता पहिल्याउन पनि यसैले काम गरेको छ । निजामती प्रशासनमा हुर्किएको जागिरे, अकर्मण्य प्रवृत्ति र गिर्दो व्यावसायिक सदाचारले पनि यसमाथि आलोचनाको स्वर ठूलो बन्दै गएको हो । वास्तवमा निजामती प्रशासनजस्तो आदर्श संयन्त्र अरू हुन सक्छ र ? यसका सैद्धान्तिक आधार र व्यावहारिक उपलब्धि विवेचना गर्दा त्यो कति आदर्श र व्यावसायिक पाइयो ? थोरै सैद्धान्तिक पक्षमा रहेर विवेचना गरौं ।

निजामती प्रशासनमा हुर्किएको जागिरे, अकर्मण्य प्रवृत्ति र गिर्दो व्यावसायिक सदाचारले यसमाथि आलोचनाको स्वर ठूलो बन्दै गएको छ ।

भनिन्छ, कर्मचारीको नाम होइन, काम हुन्छ । उसको पहिचान नै काम, सेवा र समर्पण हो । सेवा र समर्पणकै आधारमा उसले माया, नाम र पहिचान पाउने हो । करिब डेढ लाख जति दरबन्दी र एक लाख जति कर्मचारी कार्यरत निजामती सेवा नै सच्चा अर्थमा राज्य सञ्चालक हो । प्रणाली निर्वाह र संस्थागत सम्झना यही सजीव संयन्त्र हो । स्थायी सरकार, जीवित संविधान, सरकारको क्रियाशील हात, राज्यको चोथौ शाखा, जनता र सरकारबीचको सम्बन्ध सेतु आदि नाम र विशेषणको पगरी बोकेको निजामती सेवा के वास्तवमै त्यो विशेषण र उपनामअनुरूप माया ममता पाउन र इज्जत कमाउन सफल छ ? के उसका स्वभाव, शैली र संस्कृतिले यी भनाइको पुष्टि गरिरहेको छ ? यी दुई प्रश्नबीच नेपालको निजामती सेवाको आजको वास्तविक पहिचान मान्नु पर्ने हुन्छ ।

मेक्स वेवरले कर्मचारीतन्त्र (वा निजामती सेवा) को स्वरूप कोर्दा यसलाई ‘आदर्श कर्मचारीतन्त्र’ भनेका थिए । यसलाई ‘आदर्श’ बनाउने क्रममा अमेरिकी विद्वान विड्रो विल्सन, जो पछि अमेरिकी राष्ट्रपति पनि बने, ले आफ्नो पढाइको शोधपत्रमा यसलाई अलग विधा, पहिचान र अस्तित्त्व नदिएसम्म यसले भनिएझैं आदर्श काम गर्न नसक्ने उल्लेख गरेका छन् । त्यसपछिका दिनमा निजामती सेवालाई स्वायत्त संस्थाका रूपमा विकास गर्न राजनैतिक संरक्षणकत्वको प्रणाली (लुट प्रणाली) को तीतो अनुभवले पनि आफ्नै प्रकारले सहयोग गर्न पुग्यो । विद्वान र विचारकहरूले सिद्धान्त निर्माणका लागि अथक प्रयास गरे र यसलाई संवैधानिक स्वरूप दिन वातावरण पनि बनाए । कालान्तरमा यो संस्था स्थायी सरकार, जनता र राज्यबीच सम्बन्ध सूत्र, क्रियाशील संविधान एवं राज्यको एक मात्र जीवित सम्झनाका रूपमा स्थापित बन्न पुग्यो । यसो हुनुको पछाडि उसको छनोट प्रणाली, पेशागत आदर्शता, राजनैतिक मूल्य, तटस्थता, निष्पक्षता, योग्यता, सेवा निष्ठा, नैतिक मूल्य/मान्यता र आर्जित स्वायत्तताले पनि योगदान गरेको छ । त्यसैले वेवर र विल्सनले कल्पना गरेझैं यसलाई भन्न थालियो– ‘आदर्श निजामती सेवा’ ।

इतिहासको कालखण्डमा यसको पहिचान, यसलाई दिइने स्थान र स्वायत्तताका विषयमा भने निकै वाद–विवाद नभएको होइन । माक्र्स तथा लेनिनले यसको अस्तित्वलाई बुर्जुवा वर्गसँग जोडिएको र राजनैतिक विकासक्रममा सर्वहारा वर्गको स्थापना र बुर्जुवा वर्गको समाप्तिसँगै निजामती सेवाको समूल पनि अवशान हुन्छ भने । योग्यता प्रणालीको उपमाको रूपमा रहेको भारतीय निजामती सेवाले पनि कैयन्आ रोह/अवरोह नभोगेको होइन । भारत स्वतन्त्रतापछि संविधान निर्माणको क्रममा निजामती सेवालाई संवैधानिक हैसियत दिने कि नदिने भन्ने विषयमा पण्डित नेहरू र सरदार वल्लवभाइ पटेलबीच निकै विवाद भएको थियो । पटेलले ‘प्रशासनको व्यवहारले संघको विघठन हुन सक्छ’ भनेर निजामती प्रशसनको निकै आलोचनासमेत गरे । तर पछि नेहरूको भनाइसँग सहमत हुँदै पटेलले भने, ‘मैले उनीहरू (कर्मचारी) सँग क्षमा माग्नु पर्छ, उनीहरूको निष्ठा, भक्तिभाव, क्षमता र दत्तचित्तका लागि आर्को कुनै कुराले प्रतिस्थापन गर्न सक्दैन ।’

जापानलाई जापान बनाउन मेजी कालदेखि त्यहाँको समर्पित निजामती सेवाको उल्लेखनीय योगदान रह्यो । बेल्जियम, इटालीजस्ता राजनीतिक अस्थिरता भएका मुलुकमा प्रणालीलाई स्वचालित बनाउने काम त्यहाँको प्रशासनले नै गरेको थियो ।

राजगोपालचारीले कर्मचारीलाई रेलको लिकका रूपमा लिएका थिए, जसलाई भत्काएर होइन, मर्मत गरेर सुधार्न सकिन्छ । उनीहरूले निष्कर्ष निकाले कि विविधतायुक्त समाजमा राष्ट्रिय भावना विकास र एकीकरणका लागि पनि निजामती सेवा दह्रिलो सूत्र बन्न सक्छ । अन्ततः संवैधानिक उद्देश्य पूरा गर्न निजामती सेवालाई योग्यता र क्षमतामुखी विकल्पहीन संस्थाका रूपमा स्वीकारियो र यसको भूमिकालाई संघीय संविधानको धारा ३११ मा सम्मानित स्थान दिइयो ।

औपनिवेशिक भारतले बेलायतबाट पाएको दुई कुरा एउटा रेल्वे लिक र अर्को शासन व्यवस्थाको लिक (निजामती सेवा) लाई आज पनि मुक्त कण्ठले प्रशंसा गरिन्छ । विशाल भारतको निर्माण र प्रगतिमा त्यहाँको शासन सत्तालाई निजामती प्रशासनले अविचलित रूपमा सहयोग ग–यो । जापानलाई जापान बनाउन मेजी कालदेखि त्यहाँको समर्पित निजामती सेवाको उल्लेखनीय योगदान रह्यो । बेल्जियम, इटालीजस्ता राजनीतिक अस्थिरता भएका मुलुकमा प्रणालीलाई स्वचालित बनाउने काम त्यहाँको प्रशासनले नै गरेको थियो । युरोपेली मुलुकहरूको राष्ट्र निर्माणको आधार त्यहाको निजामती सेवा हो । त्यो उसको निजामती आदर्श वा धर्म पनि हो । त्यो धर्म र आदर्शको संरक्षण भने राजनीतिले गरिदिएको छ । त्यसैले स्वायत्तताभन्दा पनि पारस्परिकता प्रशासन र राजनीतिको सीमा र सम्बन्ध हो ।

निजामती सेवालाई स्वायत्त, सबल र पेशागत बनाउन राजनीतिक दलहरूले साझा कार्यसूचीसम्म बनाउन सकेका छैनन् ।

तर के कल्पना र मूल्य प्रयोगबिना संस्थागत हुन सक्छन् ? यी मूल्य र आदर्शहरू सबै राज्य व्यवस्थामा उत्तिकै प्रयोग भएका छन् ? यी प्रश्न पछिल्ला दिनमा निकै ओजिलो बनेर प्रकट भएका छन् । यो स्थायी संयन्त्र भए पनि यसलाई दिशाबोध गर्ने काम राजनीतिको हो । तर यो आफैंमा भने राजनीतिदेखि मूल्य तटस्थ संस्था हो । राजनीतिको सहयात्री भने पनि यो वास्तवमै भने उसको अप्रिय सहयात्री पनि बन्न पुग्यो । राजनीतिक वर्गबाट उसको अपेक्षा पूरा हुन नसकेको, लय मिलाउन नसेकको, सूचना, सल्लाह, र कार्यसम्पादनमा पेशागत विशिष्टता निर्वाह गर्न नसेकेको आरोप छ । त्यस्तै, सही दिशाबोध गर्न नसकेको, पर्याप्त सुविधा दिन नसकेको, कार्यस्वायत्तता नदिइएको र अभिभावकत्व निर्वाह नभएको आरोप राजनीतिक कार्यकारिणीप्रति निजामती सेवाको छ । निजामती सेवालाई स्वायत्त, सबल र पेशागत बनाउन राजनीतिक दलहरूले साझा कार्यसूचीसम्म बनाउन सकेका छैनन् ।

निजामती सेवाको स्थायित्व, पेशावादिता र योग्यताको परोक्ष इष्र्या पनि अर्को पक्षबाट भएजस्तो देखिन्छ । कारण र कारक जे–जस्ता भए पनि परिणाम एकै छ, निजामती सेवाको गरिमा बढाउन सकिएन । सेवा र समर्पणमार्फत जनताको मन जित्न सकिएन । सर्वसाधारण सेवाग्राहीबाट माया ममता पाउने आधार पनि खुम्चिन थाल्यो । भएको ज्ञान, क्षमता र अनुभव उपयोग गर्न संगठन सफल भएनन् । संस्थात्मक सम्झना मेटिँदै गयो ।

निजामती सेवाको स्थायित्व, पेशावादिता र योग्यताको परोक्ष इर्ष्या पनि अर्को पक्षबाट भएजस्तो देखिन्छ । कारण र कारक जे–जस्ता भए पनि परिणाम एकै छ, निजामती सेवाको गरिमा बढाउन सकिएन ।

निजामती सेवाभित्र आन्तरिक विश्वास र अवसर वितरणको वातावरण पनि दयनीय रहँदै आएको छ । सीमित अवसर वितरण न्यायपूर्ण छैन । सरुवा र पदस्थापनाको आधार स्थापित नीति होइन, आग्रह र पूर्वाग्रह बन्ने गरेको छ । उत्प्रेरणा र प्रोत्साहनका लागि प्रयोगमा ल्याइएको पुरस्कार र पदवीजस्ता विधिहरू विवादरहित हुन नसकेको आरोप छ । जसले नपाउनुपर्ने थियो, त्यसैले पुरस्कार पाएको छ, अझ जसलाई कारबाही हुनुपथ्र्यो, ऊ नै उत्कृष्ट र सर्वोत्कृष्ट निजामती कर्मचारी बनेको छ । सामान्य सिद्धान्त के हो भने जसले असाधारण प्रतिभा देखाउन सक्छ, अद्वितीय जिम्मेवारी निर्वाह गर्न सक्छ वा जसवाट सेवाग्राही निकै सन्तुष्ट छन्, जो निजामती आदर्शअनुरूप नैतिक पनि छ, उसैलाई प्रोत्साहन गरिएमा त्यसको लहरे असर संगठनभित्र पर्न गई सांगठनिक प्रभावकारिता बढ्न जान्छ । त्यसैले पुरस्कार पाउने व्यक्ति त्यस संस्थाको उदाहरण बन्न सक्नुपर्छ । राज्यले थुप्रै लगानी गरेर अनुभवी र क्षमतावान् बनाएका प्रशासकहरू ज्ञानी बने पनि शिल्पी बनेका छैनन् । उनीहरूको बुझाइ प्राज्ञिक विलाशन भएको छ, कार्यक्षेत्रमा देखिन पाएको छैन । निजामती आदर्शको सबलीकरण र भोलिका लागि अझै राम्रो प्रणाली हस्तान्तरण पेशागत इमान्दारिता हो, त्यसैको अपेक्षा छ ।

राजनैतिक कार्यकर्ता र निजामती सेवाका उच्च अधिकारीबीच स्वार्थको सौदाले पनि महत्त्व पाउन थाल्यो । सेवाभित्र रहँदा राम्रो नगर्ने, अनुचर प्रवृत्तिका व्यक्तिले सेवापछि पनि नियुक्ति र जिम्मेवारी पाउने अवस्थाले कम योग्यले अवसर पाउँछन् भन्ने सन्देश गयो । जसले सेवाभित्रका सीमित आदर्श व्यक्तिहरू पनि पलायन हुने, हीन मनोभावनामा रहने प्रवृत्ति विकास हुनपुुग्यो ।

निजामती सेवालाई बिच्क्याएर होइन, फकाएर, त्रासमा राखेर होइन, प्रोत्साहित गरेर, पुलपुल्याएर होइन, कठोर अनुशासनमा राखेर, आफ्नो र अर्को भनेर होइन, निष्पक्ष व्यवहार गरेर प्रभावकारी बनाउन सकिन्छ ।

राज्य पुनःसंरचनाको क्रम टुंगिएको छैन । राज्य संरचनाका सबै संयन्त्रहरूलाई चलायमान नबनाईकन राजनैतिक घोषणा वा औपचारिकताले मात्र पुनर्संरचना हुने होइन । पुनर्संरचनाको केन्द्रस्थमा कर्मचारी वर्ग त्यसमा पनि निजामती सेवालाई संम्बोधन नगरीकन भएको पुनर्संरचना औपचारिक र देखावटी मात्र साबित हुन्छ । भनिन्छ, ‘कुनै पनि मुलुकको सरकार त्यहाँको निजमती सेवाले अनुमति दिएभन्दा राम्रो हुन सक्तैन’ । यसको मनोबल, पेशावादिता, कार्यनिष्ठा र असल चरित्रका कारण नै कुनै पनि तहको सरकार सफल बन्ने हो । राज्य पुनर्बोध र पुनर्संरचनाको ‘नरम पक्ष’ भनेकै त्यही प्रशासन हो, जसको विकल्प आजसम्म भेटिएको छैन । भेटिँदो हो त आलोचना, अतिक्रमण र आक्रमणको सट्टा अर्कै स्वरूपले यसलाई पहिले नै विस्थापन गरिसक्ने थियो ।

त्यसैले निजामती सेवालाई बिच्क्याएर होइन, फकाएर, त्रासमा राखेर होइन, प्रोत्साहित गरेर, पुलपुल्याएर होइन, कठोर अनुशासनमा राखेर, आफ्नो र अर्को भनेर होइन, निष्पक्ष व्यवहार गरेर प्रभावकारी बनाउन सकिन्छ । यसका लागि उसलाई कित्ता कित्तामा बाँड्ने प्रवृत्तिको शीघ्र अन्त्य हुनुपर्छ । ‘एक्सक्युज’ लिने प्रवृत्ति जतिसक्दो चाँडो हटाउनु पर्छ । क्षमतामा विश्वास गर्ने र प्रणाली नभत्काउने बानी बसाउनु पर्छ । पेटभरि खानपुग्ने वेतन, पारिवारिक दायित्व पूरा गर्ने शिक्षा, स्वास्थ्यको सुविधा र स्पष्ट वृत्ति मार्ग सुनिश्चित गरिदिनु पर्छ । सरुवा, बढुवा र प्रोत्साहन पुुरस्कारमा निश्चित आधार अपनाउनुपर्छ । त्यसपछि सेवाग्राही सन्तुष्टि स्वतः प्रतिवर्त हुन्छ । यसो भए राष्ट्र निर्माण र समकालीन आवश्यकता पूरा गर्ने क्षमता यस संस्थाभित्र उजागर हुन्छ । नेपालको नवनिर्माणका लागि निजामती सेवाभित्रका यिनै आदर्श चाहिन्छ, ठूलो केही गर्नु पर्दैन । न यो आमूल परिर्वतनको विषय नै हो ।

(नेपाल सरकारका पूर्वसचिव मैनाली नेपालवाचका स्तम्भकार हुन् । उनलाई ट्विटर @mainaligopi मा भेट्न सकिन्छ । )