NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

ललिता निवास प्रकरणः सिआइबीसँगको बयानमा पूर्वमुख्यसचिव पौड्यालले के भने ?

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग बयान लिएको छ । आइतबार विहानदेखि साँझसम्म उनीसँग ब्यूरोको कार्यालयमा बयान लिइएको हो ।

यो प्रकरणमा टिप्पणी उठाउने तत्कालिन सुब्बादेखि अधिकृतस्तरका कर्मचारी पक्राउ पर्दा निर्णकर्ताहरूले भने उन्मुक्ति पाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।

सोही रिटमा सर्वोच्चले निर्णयकर्ताहरूलाई पनि कारवाहीको दायरामा ल्याउने आदेश दिएपछि सिआइबीले तत्कालिन मुख्यसचिव पौड्यालको बयान लिएको हो । उनीसँगै तत्कालिन पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईद्वयको पनि बयान लिने तयारी छ ।

सिआइबीसँगको बयानमा पूर्वमुख्यसचिव पौड्यालले नक्कली मोही खडा गरेर गुठीको नाममा जग्गा दिने निर्णयमा आफ्नो संलग्नता नभएको प्रष्ट पारेका छन् । भूमिसुधार मन्त्रालयबाट आएको प्रस्तावमात्रै आफूले मन्त्रिपरिषद्मा पेश गरेको बयान उनले दिएका छन् । तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशनमा मन्त्रिपरिषद् बैठकमा कार्यसूचिमात्रै पेश गरेको उनले बताएका हुुन् ।

उनले लगेको सोही प्रस्तावमा सरकार मातहतको समरजंग कम्पनीको नाममा रहेको जग्गा पशुपति टिकिन्छा गुठीको नाममा नामसारी गर्ने भनिएको छ ।

१८ असोज २०६९ को मन्त्रिपरिषद्बाट पारित भएको सोही निर्णयलाई तकालिन मुख्यसचिव पौड्यालले प्रमाणित गरेका हुुन् । उक्त निर्णयपछि सरकार मातहतको जग्गा अस्तिस्वमै नभएको गुठी हुँदै व्यक्तिको नाममा पुग्यो ।

पौड्यालसँग यसअघि पनि सिआइबीले बयान लिएको थियो । उक्त बयानमा उनले प्रधानमन्त्रीले गरेको निर्णयलाई मुख्यसचिवले प्रमाणिकरण गर्दिन भन्ने अधिकार नहुने बताएका छन् ।

बालुवाटार प्रकरण : टिप्पणी उठाउने पक्राउ पर्दा मुख्य सचिवलाई हाइसञ्चो !