NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

कारबाहीमा परेकाले आत्मलोचना गरे सदस्य नवीकरण गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा (एमाले)ले चुनावको बेला बागी/विद्रोही भई कारबाहीमा परेकालाई आत्मआलोचनासहित पार्टी सदस्यता नविकरण गर्ने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी)–८ मा कारबाहीमा परेकालाई आत्मआलोचना गरी सदस्यता नवीकरण गर्न चाहनेको पार्टी सदस्यता नवीकरण गर्ने भनिएको छ । अपानीमा अन्तर्घात गर्ने र पार्टी विरोधी गतिविधिमा संलग्नलाई सम्बन्धित कमिटीले कारबाहीको दायरामा ल्याउने जनाएको छ । पार्टीले सार्वजनिक कार्यक्रममा पार्टी र जनसङ्गठनका विभिन्न तहका नेता कार्यकर्ताको अनावश्यक फोटोको प्रयोग भएको पाइएकाले त्यसलाई रोक्ने निर्णय गरेको छ ।

पार्टीले कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन अबदेखि पार्टी र जनसङ्गठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा (तीन अग्रज नेताहरू संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी र पूर्वअध्यक्ष मनमोहन अधिकारीका अतिरिक्त) पार्टी अध्यक्षबाहेक अन्य फोटो प्रयोग नगर्ने निर्णय गरिएको अपानीमा जनाइएको छ ।

उम्मेदवारी शुल्क पाँच सय मात्र

पार्टीले अधिवेशनमा उमेदवारी शुल्क अधिकतम रु पाँच सय कायम गर्ने निर्णय गरेको छ । अन्तरपार्टी निर्देशनमा हाल अभ्यासमा रहेको शुल्क व्यवस्था पार्टी निर्माणका दृष्टिकोणबाट प्रतिकूल रहेकाले अधिवेशनमा उमेद्वारी शुल्क अधिकतम् रु पाँच कायम गर्ने निर्णय गरिएको उल्लेख छ । पार्टीले विभिन्न पदको उमेदवारी शुल्क तोक्दा त्यसको अनुपात यही अधिकतम शुल्कको आधारमा मिलाउन समेत निर्देशन गरेको छ ।

‘फेक एकाउन्ट’ बन्द गराउने पहल
एमालेले पार्टीको नाम, लोगो र झण्डा सामाजिक सञ्जालमा दुरुपयोगको भएको जनाउँदै ‘फेक एकाउन्ट’ बन्द गराउन पहल गर्ने निर्णय गरेको छ ।

‘सामाजिक सञ्जालमा अनधिकृत र अज्ञात व्यक्तिबाट पार्टीको नाम, लोगो र झण्डा दुरुप्रयोग भइरहेको छ । यसले पार्टीपङ्क्ति तथा समाजमा भ्रम सिर्जना गरिरहेको छ’, अपानीमा भनिएको छ, ‘सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका ‘फेक एकाउन्ट’ बन्द गर्ने पहलका लागि केन्द्रीय प्रचार तथा प्रकाशन विभागलाई निर्देशन दिइएको छ ।’

एमालेले भविष्यमा पार्टीमा प्रवेश गर्नेको सम्भावनालाई ध्यानमा राखी कमिटी निर्माण गर्दा कमिटीको अधिकतम सङ्ख्याभन्दा कम गर्ने अपानीमा भनिएको छ । एमालेले विगतमा कमिटीमा १० प्रतिशतसम्म मनोनयन गर्न पाउने अधिकारलाई अधिवेशनकै समयमा प्रयोग गर्नेजस्ता गल्ती भएको भन्दै यदि अधिवेशनबाटै कमिटीको मनोनयनका अधिकार प्रयोग गरेमा उक्त निर्णय स्वतः बदर हुने अपानीमा जनाइएको छ ।