NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

पोखरामा एतिहासिक २६ कुरिया फोटो प्रदर्शनी हुने

गण्डकी । पोखरामा ऐतिहासिक २६ कुरिया फोटोकथा प्रदर्शनी हुने भएको छ ।

नेपाल बेस्ट मेनेजमेन्टको व्यवस्थापनमा यही भदौ १६ गते रानीपौवा अवस्थित भगवती दलगण प्राङ्गणमा एकदिने २६ कुरिया फोटोकथा प्रदर्शनी गर्न लागिएको कार्यक्रम संयोजक राजन श्रेष्ठले जानकारी दिए ।

१८औँ शताब्दीको सुरूमा कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहले भक्तपुर (ख्वप) का अन्तिम राजा रणजीत मल्लदेवसँग व्यापार तथा मैत्री सम्झौता गरी २६ कुरिया जग्गा उपलब्ध गराइ भक्तपुर, ललितपुर र काठमाडौंका नेवारहरू ल्याएर पोखरामा बजार सुरुआत गरेको इतिहास छ ।

त्यही २६ कुरिया अन्तर्गत हाल पोखराका गणेशटोल, नालामुख, भीमसेनटोल, भैरवटोल, मोहरियाटोल र तेर्सापट्टि टोल पर्दछन् । तत्कालीन समयमा ल्याइएका नेवार विशेषतः व्यापारी, शिल्पी, कालीगढ रहेको र सुरुमा करिब एक सय ५० जनालाई बसोबास गराइएको दस्तावेजमा उल्लेख छ ।

विक्रम संवत् १८२६ मा भक्तपुरका राजा रणजीत मल्लयुद्धमा हारेपछि ठूलो संख्यामा नेवार पोखरामा आएको र उक्त संख्या सात सय पुगेको छ । पोखरा आएका २६ कुरियामा बसोबास गर्ने नेवार आफ्ना मौलिक कला, परम्परासँगै जात्रा, पर्व मनाएर व्यापार विस्तार गर्ने गरेको र उनीहरू पोखरामा आएसँगै यहाँको सामाजिक, आर्थिक, धार्मिक एवम् सांस्कृतिक विकासले गति लिएको मान्निछ ।

पोखराका यिनै ऐतिहासिक सत्य तथ्यलाई फोटो कथाका माध्यमबाट देखाउन खोजिएको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिए । पोखराको तत्कालीन इतिहासको कल्पना गरेर आयुष श्रेष्ठले तयार गरेको २० वटा फोटोकथा प्रदर्शनीमा राखिने उल्लेख गर्दै उनले यसअघि काठमाडौँमा पनि प्रदर्शन गरिएको बताए ।