NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

इमरान खानका मुद्दा: तोशाखानाको सजाय स्थगित, सिफर मुद्दामा अट्टक जेलमा थुनामा

पाकिस्तानको एउटा अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई यसअघि दिइएको तीन वर्षको जेल सजायमा रोक लगाएको छ ।

इस्लामाबाद उच्च अदालतले तोशाखाना मुद्दामा खानलाई यसअघि सुनाइएको तीन वर्षको जेल सजाय निलम्बन गर्न आदेश दिएको हो ।

उच्च अदालतका मुख्य न्यायाधीश आमेर फारुक र न्यायाधीश तारिक मेहमुदको संयुक्त इजलासले ट्रायल कोर्टले सुनाएको आदेश खारेज हुने फैसला सुनाएको पाकिस्तानी संचारमाध्यमले जनाएका छन् ।

उनी प्रधानमन्त्री रहेका समयमा राज्यलाई प्राप्त भएका उपहारहरू तोसखानामा जम्मा गर्नुपर्नेमा उनले ६ लाख अमेरिकी डलरमा विक्री गरेको अभियोग लागेको थियो ।

‘तोसखाना’ यो मन्त्रिपरिषद्को प्रशासनिक मातहतको एक विभाग हो जहाँ प्रधानमन्त्री, राष्ट्रपति, राज्य प्रमुख, मन्त्री, सांसद वा अन्य वरिष्ठ अधिकारीहरूले भ्रमणका क्रममा प्राप्त गरेका बहुमूल्य उपहारहरू राखिन्छ ।

खानले निर्वाचन आयोगलाई बुझाएको विवरणमा ती सम्पत्तिबारे उल्लेख गरिएको थिएन । अदालतको फैसलाअनुसार सन् २०१८ देखि सन् २०२२ सम्म प्रधानमन्त्री रहँदा खानले विदेश भ्रमणका क्रममा प्राप्त भएका १४ करोड पाकिस्तानी रुपैयाँभन्दा बढीका उपहारहरू विक्री गरेका थिए ।

त्यसपछि आयोगले खानलाई प्रधानमन्त्री हुँदा आफूले पाएका उपहारहरू बेचेको र उनलाई फौजदारी कानुनमार्फत् सजाय दिनुपर्ने भन्दै जिल्ला अदालतमा उजुरी दिएको थियो ।

खान अट्टक जेलबाट बाहिर आउनुअघि नै गोप्य चिठी चोरी मुद्दा (साइफर गेट स्क्यान्डल) मा उनलाई हिरासतमा लिइएको पाकिस्तानको अखबार ‘द डन’ले दिएको हो ।