NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

एमाले लुम्बिनी प्रदेश अधिवेशन : मतगणना सुरु हुँदै, मतपरिणाम आजै आउने

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणना केहि बेरमा सुरु हुने भएको छ ।

मतदान सकिएपछि मुचुल्का उठाएर मतगणना प्रक्रिया सुरु गर्ने निर्वाचन मण्डलले जनाएको छ । प्रदेशको नेतृत्व चयनका लागि बिहान पौने ९ बजबाट मतदान भएको थियो । उक्त मतदान दिउसो साढे २ बजे सकिएको हो ।

निर्वाचनमा कुल १ हजार ५ जना मतदाता रहेकोमा ९६५ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ ।निर्वाचनको मतपरिणाम आजै रातिसम्म सार्वजनिक गर्ने तयारी छ ।

प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरिप्रसाद रिजाल प्रतिस्पर्धामा छन् । कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकटका हुन् ।

पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको छ । यसबाहेक भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको छ ।

उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र बाँकेका पुजन विश्वकर्मा प्रतिष्पर्धामा छन् ।