NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

आँधीको रिपोर्टिङ गर्दा म्यानमारका पत्रकारलाई २० वर्ष कैद सजाय

एजेन्सी । म्यानमारको अदालतले एक फोटोपत्रकारलाई आँधीवेरीको रिपोर्टिङ गरेका कारण २० वर्षको जेल सजाय सुनाएको छ ।

म्यानमार नाउका फोटोपत्रकार साई जाव थाइकेलाई म्यानमारमा सेनाले सत्ता हातमा लिएयताकै कडा सजाय सुनाइएको हो । उनलाई सुनाइएको सजायले यसअघि पक्राउ परेका पत्रकारहरूलाई पनि मात खुवाएको छ ।

भूमिगत रूपमा सञ्चालन भइरहेको म्यानमार नाउका अनुसार थाइकेलाई बुधबार पहिलो सुनुवाइमै उक्त सजाय सुनाइएको हो । उनलाई पक्राउ गरेर पश्चिमी प्रान्त राखनीको हिरासतमा राखिएको थियो ।

उक्त अनलाइनका अनुसार थाइकेलाई सुरुमा देशद्रोहको सामान्य शिर्षक अन्तर्गत पर्ने मुद्दा लगाइएको थियो । त्यससँगै उनलाई त्रास उत्पन्न गराएको, झुट्टा समाचार सम्प्रेषण गरेको र सरकारी कर्मचारी र सेनाविरुद्ध आन्दोलन गरेको आरोप पनि लगाइएको छ । यो कसुरमा अधिकतम तीन वर्षको जेल सजाय तोकिएको छ ।

उनीमाथि अनलाइनमार्फत मानहानी गरेको आरोप पनि लगाइएको छ । यो कसुरमा पनि तीन वर्षसम्म जेल सजाय हुन्छ । त्यस्तै, उनलाई लागेको अर्को प्रकृतिक प्रकोप व्यवस्थापन कानुनको उल्लंघन गरेर सार्वजनिक त्रास फैलाउने उद्देश्यले विपद्कोबारेमा गलत जानकारी फैलाएको मुद्दामा सम्भावित एक वर्ष जेल सजाय हुन्छ ।

थाइकेलाई म्यानमारको सबैभन्दा ठूलो शहर याङ्गुनको इन्सेन जेलभित्र राखिएको छ । उनलाई पारिवारिक भेटघाटसँगै कानुनी प्रतिनिधिबाट पनि भेटघाट गर्न वञ्चित गराइएको छ ।

म्यानमार नाउका प्रधानसम्पादक स्वी विनले यो सजायबाट सैन्य शासनले प्रेस स्वन्त्रताको पूर्ण रुपमा खारेजी गरेको संकेतको रुपमा लिएका छन् । योसँगै त्यहाँका स्वतन्त्र पत्रकारहरुले आफ्नो व्यवसायिक मूल्यका लागि चर्को मूल्य तिर्नुपर्ने देखिएको उनले बताए ।

प्रेस स्वतन्त्रता समूह रिपोर्टस विदाउट बोडर्सले गत एप्रिलमा म्यानमारलाई चीन पछिको दोस्रो ठूलो पत्रकारको जेलरको संज्ञा दिएको थियो । उक्त समूहले सन् २०२३ मा जारी गरेको वल्र्ड प्रेस फ्रिडम इन्डेक्समा म्यानमार १८० देशमध्ये १७६ औं स्थानमा परेको छ ।

थाइकेलाई मे २३ मा राखिनको राजधानी सिट्वेबाट गिरफ्तार गरिएको थियो । उनले एक दशकमै अहिलेसम्मको विनाशकारी आँधीले गरेको क्षतिबारे रिर्पोटिङ गरेका थिए ।

उक्त आँधीले राखिन प्रान्तमा कम्तीमा १४८ जनाको ज्यान गयो । जसमध्ये धेरैजसो मुस्लिम रोहिंग्या र अल्पसंख्यकहरु परेका छन् जो विस्थापन शिविरमा बसिरहेका थिए । उक्त आँधीले १ लाख ८६ हजारभन्दा बढी भनवमा क्षति पुर्याएको जनाइएको छ ।

हाल म्यानमार नाउसहित कम्तीमा १३ मिडियाको इजाजतपत्र खारेज भएको छ भने १५६ जना पत्रकारहरु पक्राउ परेका छन् । जसमध्ये ५० जना हिरासतमा छन् । त्यहाँको स्थानीय अनुगमन समूह डिटेन्ड जर्नालिस्ट इन्फर्मेसनका अनुसार हिरासतमा रहेका झण्डै आधालाई दोषी ठहर गरी सजाय सुनाइएको छ । कम्तीमा चार सञ्चारकर्मीको हत्या भएको छ भने अन्यलाई थुनामा राखेर यातना दिइएको छ ।

सरकारले बन्द गर्न आदेश दिएका केही मिडियाहरुले लाइसेन्स बिना नै भूमिगत रूपमा आफ्नो सञ्चालन जारी राखेका छन् । अनलाइनमा समाचार प्रकाशन गर्दै त्यहाँका कर्मचारीहरू गिरफ्तारीबाट बच्न खोज्दै रिपोटिङ गरिरहेको अवस्था छ ।

सेनाले सत्ता कब्जा गरेको एक महिनापछि याङ्गुनस्थित म्यानमार नाउको कार्यालयमा छापा मारेको थियो र प्रधानसम्पादक स्व विनसहित केही कर्मचारीलाई आपराधिक आरोप लगाइयो । त्यसयता उनीहरू निर्वासित जीवन बिताइरहेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष