NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

सुन तस्करी प्रकरण: विमानस्थल भन्सारका कर्मचारीले गराए कार्गो जाँचपास बन्द

काठमाडौं । सुन तस्करी प्रकरणमा आफ्ना सहकर्मी पक्राउ गरेको विरोधमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारी आन्दोलित भएका छन् ।

उनीहरुले सोमबार भन्सार जाँचपास ठप्प पारेका छन् । यसअघि आइतबार उनीहरूले ३ घण्टा पेन डाउन गरेर विरोध जनाएका थिए ।

एकजना भन्सार अधिकृतकाअनुसार औषधिबाहेकको भन्सार जाँचपास आज नहुने जनाइएको छ । यस्तै भोलि पनि सेवा अवरुद्ध हुने बताइएको छ ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार भदौ २५ गते सोमबार र भदौ २६ गते मंगलबार उनीहरूले त्रिभुवन विमानस्थल भन्सार कार्यालय अन्तरगत कार्गो जाँचपास शाखामार्फत हुने निकासी र पैठारीको सम्पूर्ण काम बन्द गर्ने जनाएका थिए ।

६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रिय अनुसन्धान विभागले हालसम्म ६ जना भन्सार कर्मचारीलाई पक्राउ गरिसकेको छ ।

सुन प्रकरणमा प्रहरीले विमानस्थल भन्सारका अन्य कर्मचारीसंग पनि बयान लिइरहेको छ भने केही कर्मचारी बिरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

कर्तव्य पालनाको क्रममा खटिएका कर्मचारीलाई धरपकड गरी दैनिक प्रशासनिक कार्यलाई नै हतोत्साहित गर्ने काम गरेको भन्दै कर्मचारीको मनोबल गिरेको र आत्मसम्मानमा ठेस पुगेको कर्मचारीको गुनासो छ ।

प्रहरी र अन्य निकायबाट निरन्तर हस्तक्षेप र धरपकड भएको भन्दै उक्त कार्य पूर्णरुपमा बन्द नभएसम्म कार्यालयको दैनिक कार्यसञ्चालन गर्न असमर्थ रहेको कर्मचारीले विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् ।