NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १० गते

नेम्वाङको शाेकमा बिपी साहित्य महोत्सवको कार्यक्रम स्थगित

काठमाडौँं ।  नेपाली कांग्रेसले बिपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम स्थगित गरेको छ ।

संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण महोत्सवका कार्यक्रम स्थगित गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी गराएका छन्  ।

पार्टीका सहमहामन्त्री एवं महोत्सव तयारी समितिका संयोजक बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा आज बसेको बैठकले नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै महोत्सवका कार्यक्रम स्थगित गरेको हो ।

बैठकले उनको आकस्मिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरेको छ । बैठकले उनको परिवारजन, नेकपा (एमाले) पार्टी र शोकाकुल सबैमा गहिरो समवेदना व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

संविधानसभाका अध्यक्षप्रति उच्च सम्मान प्रकट गर्दै आज भदौ २६ का लागि निर्धारित ‘बिपी साहित्य महोत्सव—२०८०’ को तेस्रो र अन्तिम दिनको सम्पूर्ण कार्यक्रम स्थगन गर्ने निर्णय गरेको संयोजक पाण्डेले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यसमितिको साउन २ देखि १० मा सम्पन्न बैठकले निर्णय गरेअनुरुप बिपी साहित्य महोत्सव आयोजना गरिएको हो । महोत्सवको अन्तिम दिनको कार्यक्रम अर्को सूचनापछि गरिने जनाइएको छ ।