NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० असोज ९ गते

एकैदिन महत्त्वपूर्ण चार व्यक्तित्वको अवसान

काठमाडौं । मंगलबार विहानैदेखि सञ्चारमाध्यमहरू चर्चित व्यक्तित्वहरूको निधनको खबरले भरिएका छन् ।

नेपाली राजनीतिका सदावहार लोकप्रिय नेता सुवास नेम्बाङ, मधेश प्रदेशकी सांसद विन्दु कुमारी यादव, लेखक तथा पत्रकार राजेन्द्र पराजुली र नेकपा एकीकृत समाजवादी पार्टीका सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माले पनि आजै संसार छाडेको खबरले यतिबेला सिंगो देशलाई स्तब्ध बनाएको छ ।

नेपालको संविधान निर्माणमा संविधानसभाको अध्यक्षको रूपमा निर्णायक भूमिका खेलेका नेम्बाङ आज हामीमाझ रहेनन् ।

एक पटक मन्त्री, पाँच पटक सभामुख र दुई पटक राष्ट्रियसभा अध्यक्षको भूमिकामा रहेका उनी पछिल्लो पटक २०७९ मंसिर ४ को निर्वाचनमा इलाम क्षेत्र नं २ बाट विजयी भएका थिए ।

चुनाव जितेपछि उनले २०७९ फागुनमै राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गरे पनि पराजित भएका थिए । नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय राखिएको छ ।

च्यासलस्थित मुख्यालयमा अन्तिम श्रद्धाञ्जलीका आज दिनभर नेम्वाङको शव पार्टी कार्यालयमा राखिनेछ । नेम्बाङको पार्थिव शरीरलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धासुमन व्यक्त गरेका छन् ।

पार्टी कार्यालयमा राखिएको उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन नेताहरूको बाक्लो उपस्थिति छ । दुई छोराहरू विदेशबाट फर्किएपछि बिहीबार उनको अन्येष्टि गरिने तयारी छ ।

मन्त्रिपरिषद् बैठकले उनको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने साथै अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बालुवाटारस्थित निवासमा आज बिहान साढे १ तिर हृदयघात भएपछि नेम्वाङको त्रिवि शिक्षण अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको थियो ।

मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको निधन

जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको पनि आजै निधन भएको छ ।

४४ वर्षीया यादवको आज बिहान साढे ८ बजे निधन भएको हो । उनी दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । दश दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियू कक्षमा भर्ना भएर उपचाररत उनको अस्पतालमै निधन भएको हो ।

समानुपातिक सांसद रहेकी यादवले दोस्रो मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् ।

रहेनन् नेकपा एसका सल्लाहकार परिषद् सदस्य विश्वकर्मा

नेकपा एकीकृत समाजवादी पार्टीका सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको पनि आजै निधन भएको छ ।

उनको आज बिहान हृदयघातबाट निधन भएको हो । विश्वकर्माको शव श्रद्धाञ्जलीको लागि पार्टी कार्यालय आलोकनगरमा राखिएको छ । उनको दाहसंस्कार आजै गरिने पारिवारिक स्रोतले जनाएको छ ।

लेखक तथा पत्रकार पराजुलीको देहावसान

लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको पनि आजै निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचाररत पराजुलीको आज बिहान निधन भएको हो ।

उनलाई ज्वरोसँगै र निमोनियाको संक्रमण भएको थियो । पराजुलीका कथासंग्रह जन्तरमन्तर, अघोरी, कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चश्मा, अनायिका, सपनामा मार्क्स, जाडोमा भोक, भ्रष्ट संवेदना, विकल्प यात्रालगायत कृति प्रकाशित छन् ।

उनले राजधानी, नेपाल समाचारपत्र, नागरिक र आर्थिक दैनिक पत्रिका तथा बाह्रखरी लगायतका अनलाइनमा पनि काम गरेका थिए । पराजुलीको आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ ।

घोडाघोडी नगरपालिकाकी पशु सेवा शाखाका प्रमुख न्यूरेको निधन

कैलालीको घोडाघोडी नगरपालिकाको पशु सेवा शाखाका प्रमुख छत्रा रावत न्यूरेको पनि आजै निधन भएको छ ।

४८ वर्षीया न्यूरेको नगरपालिका–१ सुखड स्थित आफ्नै घरमा राति करिब साढे २ बजेपछि निधन भएको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।

हृदयाघातका कारण उनको निधन भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव निरीक्षक वीरेन्द्र विकले जानकारी दिए । उनको निधनमा घोडाघोडी नगरपालिकाले आज शोक बिदा दिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष