NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० मंसिर १४ गते

क्यानडामा रहेकालाई अत्यधिक सावधानी अपनाउन भारतले पनि जारी गर्‍यो ट्राभल एडभाइजरी

काठमाडौं । भारत सरकारले क्यानडामा रहेका आफ्ना नागरिकका लागि ‘एडभाइजरी’ जारी गरेको छ ।

उक्त ‘एडभाइजरी’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले सामाजिक सञ्जाल एक्समा सेयर गरेका छन् ।

भारतले आफ्नो एडभाइजरीमा भनेको छ, ‘क्यानडामा भारत विरोधी गतिविधि, राजनीतिक रूपमा प्रेरित घृणित अपराध र आपराधिक हिंसाको बृद्धिलाई ध्यानमा राख्दै, त्यहाँ बसोबास गर्ने सबै भारतीयहरूलाई सतर्क रहन अपील गरिएको छ ।’

भारतीय नागरिकहरूलाई सल्लाह दिइएको छ, ‘क्यानडामा भर्खरै भारतीय कूटनीतिज्ञहरू र भारत विरोधी एजेन्डा विरुद्ध आवाज उठाउने भारतीय समुदायका सदस्यहरूलाई लक्षित गरी धम्की आएको छ । त्यसैले भारतीय नागरिकहरूलाई क्यानाडामा त्यस्ता क्षेत्रहरूबाट टाढा रहन सल्लाह दिइन्छ ।’

हाम्रो उच्चायोग/महावाणिज्य दूतावास क्यानाडामा भारतीय समुदायको सुरक्षा सुनिश्चित गर्न क्यानाडाली अधिकारीहरूसँग सम्पर्कमा छ,’ विज्ञप्तिमा भनिएको छ ।

भारत सरकारले क्यानडामा बिग्रँदै गएको सुरक्षा वातावरणमा विशेष गरी भारतीय विद्यार्थीहरूलाई अत्यन्त सावधानी अपनाउन सल्लाह दिएको छ ।

सल्लाहकारले क्यानडामा बस्ने भारतीय नागरिक र विद्यार्थीहरूलाई ओटावामा रहेको भारतीय उच्चायोग र टोरन्टो र भ्यानकुभरमा रहेको भारतीय वाणिज्य दूतावासमा चेक इन गर्न पनि सल्लाह दिएको छ ।

खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्याको विषयलाई लिएर तनावग्रस्त बनेको भारत र क्यानाडाबीचको सम्बन्ध थप पेचिलो बन्दै गएको छ ।

मंगलबारसम्म कूटनीतिज्ञलाई देश निकाला गर्ने प्रतिस्पर्धामा उत्रिएका क्यानडा र भारतले बुधबार एक अर्काविरुद्ध थप दबाब बनाएका छन् ।

मंगलबार राति क्यानडाले भारतमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन भन्दै ट्राभल एडभाइजरी अप्डेट गरेको थियो । त्यसको २४ घण्टा नबित्दै भारतले पनि क्यानडामा रहेका आफ्ना नागरिकलाई ट्राभल एडभाइजरी जारी गरेको छ ।

गत सोमबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतीय एजेन्टले गत जुन महिनामा क्यानडाको ब्रिटिश कोलम्बिया क्षेत्रमा शिख समुदायका नेता हरदीप सिंह निज्जरको हत्या गरेको अभिव्यक्ति दिएपछि दुई देशबीच तनाव बढेको छ ।

क्यानडाले यही आरोपमा भारतका एक जना कूटनीतिज्ञलाई देश निकाला गरेको छ भने भारतले पनि क्यानडाका एक कूटनीतिज्ञलाई पाँच दिनभित्र देश छाड्न निर्देशन दिएको छ ।