जङ्गली जनावरको आक्रमण : दुई महिनामा चार जनाको मृत्यु
चितवन । चालु आर्थिक वर्षको दुई महिनामा जङ्गली जनावरको आक्रमणबाट चार जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघको आक्रमणबाट दुई जना, गैँडाको आक्रमणबाट एक जना र गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
माछा मार्ने क्रममा र केराघारीमा जाँदा दुई जनाको बाघको आक्रमणमा परी मृत्यु भएको हो । भरतपुर महानगरपालिका–२८ का आशबहादुर बोटे र खैरहनी नगरपालिका–१२ का अनिल तामाङको बाघको आक्रमणबाट मृत्यु भएको उनले जानकारी दिए ।
सूचना अधिकारी तिवारीका अनुसार मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न गएका रत्ननगर नगरपालिका–६ का नवराज अधिकारी गैँडाको आक्रमणमा परी मृत्यु भएको थियो । यस्तै रत्ननगर नगरपालिका–५ का फगुन्ना महतोलाई गोहीले आक्रमण गरी मृत्यु भएको उनले बताए ।
सूचना अधिकारी तिवारीले सोही समयमा निकुञ्जभित्र चारवटा गैँडा मृत भेटिएका जानकारी दिए । यसमध्ये एउटा चोरी सिकारीले मारेका हुन् भने दुईवटा आपसमा जुधेर र एउटा बाघ र गोहीको आक्रमणबाट मरेका हुन् । मृत भेटिएका गैँडामध्ये दुईवटा भाले रहेका छन् भने दुईवटाको पहिचान हुन नसकेको उनले बताए ।
निकुञ्जका अनुसार आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म निकुञ्जमा २०४ वटा गैँडा मरेका छन् । तीमध्ये १०२ वटा भाले, ७८ वटा पोथी र ४७ वटाको पहिचान हुनसकेको छैन । अहिलेसम्म मरेका गैँडामध्ये बूढो भएर र भिरबाट लडेर ६८ , दलदलमा परेर र बाढीले बगाएर १९ , आपसमा जुधेर ५४, बाघ र गोहीको आक्रमणबाट १६ रहेका छन् ।
यस्तै सम्भावित चोरी सिकारीले सातवटा, विद्युतीय करेन्ट लागेर सातवटा, बिरामी भएर ११ , खाडलमा परी तीनवटा, विष सेवनबाट पाँचवटा र कारण नखुलेको २८ वटा गैँडा मरेको सूचना अधिकारी तिवारीले जानकारी दिए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया