NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

‘पेट र कलेजोको समस्याले पनि गिजाबाट रगत आउँछ’

काठमाडौं । गिजाबाट रगत बग्ने समस्या दुई कारणले हुन्छ । एउटा मुखमा फोहार जम्मा भएर हुन्छ । जसलाई दन्तेलेउ भनिन्छ । यसले गिजालाई सुन्नाउने गर्छ र गिजाबाट रगत आउने समस्या देखिन्छ ।

अर्को सिस्टमिक कारणले गिजाबाट रगत आउने गर्छ । रगतमा कुनै क्यान्सर भएमा वा शरीरमा प्रतिरक्षा प्रणाली बिग्रदा पनि गिजाबाट रगत बग्ने समस्या देखिन्छ । यसबाहेक, मृगौला, पेट तथा कलेजोको समस्या हुँदा पनि गिजाबाट रगत आउन सक्छ ।

मुखमा कुनै घाउ चोट लाग्दा पनि गिजाबाट रगत आउने समस्या हुन्छ । सामान्यतया धेरैजनालाई दन्तेलेउ जम्मा भएर वा दाँत फोहर भएमा गिजाबाट रगत आउने हुन्छ । गिजामा समस्या भएको व्यक्तिमा श्वासप्रश्वासको समेत समस्या देखिन्छ । यसले श्वास गन्हाउने समस्यासमेत हुन्छ ।

श्वास गन्हाउने समस्या विभिन्न कारणले हुन्छ । मृगौलाको समस्या हुँदा मुखबाट आउने गन्ध फरक प्रकारको हुन्छ भने पेटको समस्या हुँदा पनि फरक गन्ध आउँछ । हामीले सेवन गर्ने औषधिको असरले पनि गिजामा समस्या हुन्छ ।

गिजाबाट रगत आउने समस्या कसरी कम गर्ने ?

यो समस्या कम गर्न मुखको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । मुख फोहोर भए÷नभएको यकिन गरेर यो समस्या कम गर्न सकिन्छ । गिजामा रगत आउने समस्या किन भएको पत्ता लगाएर यसको उपचार गर्नुपर्छ । यदि गिजामा फोहर जमेर वा दाँतमा खानेकुरा अड्केर समस्या भएको हो भने त्यसलाई सफा गरेर यो समस्या कम गर्न सकिन्छ । अन्य रोग लागेर गिजामा समस्या आएको खण्डमा पनि त्यसलाई उपचार गरेर सहजै गिजाको समस्या समाधान गर्न सकिन्छ ।

घरमा के गर्न सकिन्छ ?

नियमित रुपमा दिनको दुईपटक मुखको पाँचै भाग सफा गरेर दाँत माझनु पर्छ । जसले मुख स्वस्थ रहन्छ । सामान्तया दाँत माझ्दा हामी तीन भाग मात्र गर्ने गछौं । गालाको भाग, टोक्ने र जिब्रोको भाग । हामी दुईवटा दाँतको बिच भाग सफा गदैनौं । तर त्यो भाग पनि सफा गर्न आवश्यक छ ।

यसरी मुखको पाँचवटै भाग सफा गर्ने र राति सुत्नुभन्दा अघि र बिहान उठ्नासाथ ब्रस गर्ने हो भने गिजासम्बन्धी समस्याबाट धेरै हदसम्म बच्न सकिन्छ । योसँगै मुखको नियमित मसाज र सन्तुलित खाना खानु पनि जरुरी छ । मुख स्वस्थ राख्न चिनीजन्य खाना, सुर्तिजन्य पदार्थ, धुम्रपान तथा मद्यपान त्याग्नु पर्छ । यसबाहेक, खाना खाने वित्तिकै मुख कुल्ला गर्नुपर्छ । यसरी दैनिक हामीले घरमा गर्ने क्रियाकलाप स्वस्थ हुँदा मुख र गिजा स्वस्थ रहन्छ ।

गिजा स्वस्थ राख्न नियमित चिकित्सको सल्लाह र परामर्श लिनुपर्छ ।

स्वस्थ्य गिजाको लागि कस्तो खानपान ?

स्वस्थ गिजाको लागि मुखलाई स्वस्थ र सफा गर्ने खानपान गर्नुपर्छ । सकेसम्म बाहिरी प्रशोधित खानेकुरा खानुहुँदैन । गिजाको स्वास्थको लागि ताजा खानेकुरा जस्तै, फलफूल, हरियो सागपात, लामो समय प्याकेजिङ नगरेका र प्राकृतिक खानेकुरा खानुपर्छ ।

(दन्त रोग विशेषज्ञ डा.सुवास घिमिरेसँग नेपालवाचकर्मी सलिना ढुंगेलले गरेकोकुराकानीमा आधारित)