NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

जहाजभित्र पसल सञ्चालन गरेर हिमालयले गर्यो दुई करोड बढी आम्दानी, निगमको छैन सुरसार

काठमाडौं । जहाजभित्र पसल सञ्चालन गरेवापत अन्तर्राष्ट्रिय उडान गर्दै आएको निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले सात महिनामा साढे दुई करोड आम्दानी गरेको छ ।

एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको प्रतिवेदन अनुसार हिमालयले गत डिसेम्बरदेखि मे महिनासम्म सो कामबाट दुई करोड ५० लाख ६५ हजार ९२१ रूपैयाँ आम्दानी गरिसकेको छ ।

एयरलाइन्सले स्वीकृत कार्यविधिमा उल्लिखित सबै प्रक्रिया पूरा गरी पेस गरेको निवेदन बमोजिम मन्त्रालयबाट २०७९ असोज २६ गते अन बोर्ड ड्युटी पेड स्टोर सञ्चालनको अनुमति प्राप्त गरी सेवा सुचारु गरिरहेको छ ।

सेवा सञ्चालनको त्रैमासिक प्रगति विवरणअनुसार प्याक्ड स्न्याक्स, ननअल्कोहलिक पेय पदार्थ र अल्कोहलिक पेय पदार्थको कुल बिक्रीबाट डिसेम्बरमा ३८ लाख ७२ हजार २ सय रुपैयाँ, जनवरीमा १५ लाख ७ हजार ९३० रुपैयाँ, फरवरीमा ३४ लाख ३७ हजार ९५५ रुपैयाँ, मार्चमा ३५ लाख ९३ हजार ३४९ रुपैयाँ, अप्रिलमा ३६ लाख ५८ हजार ८५० रुपैयाँ, मे महिनामा ३७ लाख १२ हजार १५ रुपैयाँ र जुनमा ३२ लाख ८३ हजार ६२२ रुपैयाँ आम्दानी गरेको छ ।

यसरी एयरलाइन्सले अन बोर्ड ड्युटी पेड स्टोर सञ्चालनमार्फत् वस्तु सेवा बिक्री बापत हालसम्म ‍२ करोड ५० लाख ६५ हजार ९२१ रुपैयाँ कुल आम्दानी गरेको विवरणबाट देखिन्छ । एयरलाइन्सले बंगलादेश, चीन, मलेसिया, कतार, कुवेत, साउदी अरब, दुबाईमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।

अर्कोतर्फ राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले भने मन्त्रालयबाट स्वीकृति लिइसकेपनि सेवा सुरु गर्न सकिरहेको छैन । निगमले यो सेवा सञ्चालनका लागि २०८० साउन ३ गते अनुमति प्राप्त गरेसँगै मन्त्रालयबाट अन बोर्ड ड्युटी पेड स्टोर सञ्चालन गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या दुईवटा पुगेको थियो ।तर पसल सञ्चालनका लागि निगमले स्वीकृति लिएपनि सुरु गरिसकेको छैन । पसल सञ्चालन गर्ने विषयमा निगमका सूचना अधिकारी रमेश पौडेलले अनविज्ञता जनाए ।

सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट हवाई यात्रुहरूको लागि आवश्यक स्तरीय थप यात्रु सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले २०७९ भाद्र २० गते अन बोर्ड ड्युटी पेड स्टोर सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेको थियो ।

सेवा/पसल सञ्चालन गर्न चाहने वायुसेवा कम्पनीले अनुमतिका लागि मन्त्रालयमा आर्थिक तथा प्राविधिक सम्भाव्यता सहितको निवेदन पेस गर्नुपर्ने व्यवस्था छ ।

वायुसेवा संस्थाले आन्तरिक सञ्चालन कार्यविधिलगायत खरिद गरिने सामग्रीको बिक्रेता छनौट प्रक्रिया, विभिन्न प्रकृतिका सामग्रीको खरिद र गुणस्तर कायम गर्न अवलम्बन गर्ने प्रक्रिया, गोदाम व्यवस्थापन तथा वायुयानसम्म ओसारपसारको प्रक्रिया, खाद्यवस्तुसमेत बिक्री गर्ने भए खाद्य सुरक्षाका लागि अवलम्बन गरिने उपाय, उपभोक्ता हकहितको सुनिश्चितता, सुरक्षाका उपायहरु, बिक्रीपश्चात भुक्तानीका उपायहरु, सरोकारवालाहरुसँगको अन्तर्सम्बन्ध सुदृढ गर्ने लगायतका विषयहरु निवेदनसाथ पेस गर्नुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ ।

यसरी प्राप्त हुन आएका कागजातहरु मूल्याङ्कन गर्दा उपयुक्त देखिएमा मन्त्रालयले निवेदक वायुसेवा संस्थालाई अन बोर्ड ड्युटी पेड सप सेवा सञ्चालनका लागि अनुमति प्रदान गर्नेछ ।

प्रत्येक उडानमा बिक्रीका लागि चलान गरिएका सामानहरू सिलबन्दी गरी सम्बन्धित विमानले विमानस्थलमा तोकिदिए बमोजिम सुरक्षा जाँच गराउनु पर्ने हुन्छ । यस्तो सामान राख्ने प्रयोजनका लागि विमानस्थल क्षेत्रमा राखिएको गोदामको सुरक्षा सम्बन्धी व्यवस्था विमानस्थलले तोकिदिए बमोजिम हुनेछ ।

यस किसिमको सेवा सञ्चालन गर्ने वायुसेवा संस्थाले बिक्री गर्ने सामग्रीहरुको सूची अन्तर्राष्ट्रिय विमानस्थलको सम्बन्धित भन्सार कार्यालयबाट सेवा सञ्चालन गर्नु अघि नै पूर्वस्वीकृति लिनुपर्नेछ । हरेक उडानमा बिक्रीका लागि चलान गरिने सामग्रीहरुको विवरण, बिक्री वितरणको विवरण र बिक्री गर्दा भएको आम्दानीको विवरण सम्बन्धित वायुसेवाले जुनसुकै बखत पेस गर्न सक्ने अभिलेख अद्यावधिक गरी सुरक्षित राख्नुपर्नेछ ।

प्रत्येक उडानमा बिक्रीका लागि पठाइने सामग्रीहरु तथा उडान सम्पन्न भएपश्चात गोदाममा फिर्ता ल्याइने सामानको मौज्दातको विवरण पेस गर्ने ढाँचा तथा प्रक्रिया सम्बन्धित भन्सार कार्यालयले तोकिदिए बमोजिम हुने व्यवस्था कार्यविधिमा गरिएको छ । प्रचलित कानुनले बन्देज गरेका सामग्री बिक्री वितरण गर्न पाइने छैन ।

त्यसैगरी कार्यविधिमा वायुसेवा संस्थाद्वारा पालना गर्नुपर्ने कर्तव्य र दायित्वको विषयमा पनि विस्तृत रुपमा उल्लेख भएको छ । कार्यविधिमा उल्लेख भए अनुसार बिक्री गर्ने सामग्रीको गुणस्तर उपभोक्ता हकहित तथा अधिकारका विषयमा जिम्मेवार हुनुपर्ने र बिक्रीपश्चात यात्रुलाई भुक्तानी भएको रकम स्पष्ट उल्लेख भएको आधिकारिक बिल जारी गर्नुपर्ने व्यवस्था छ । अन बोर्ड ड्युटी पेड सप सेवा सञ्चालन सम्बन्धमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण)ऐन, मूल्य अभिवृद्धि कर ऐन, आयकर ऐन र सो ऐनअन्तर्गत बनेका नियमावली, कार्यविधिरनिर्देशिकामा उल्लिखित व्यवस्थाहरु, यस कार्यविधिले तोकेको र अन्य प्रचलित कानुनको पूर्णपालना गर्नुपर्ने हुन्छ । साथै विभिन्न निकायहरुको माग बमोजिम उपलब्ध गराउनु पर्ने आवश्यक विवरण तथा कागजात तत्काल पेस गर्न सक्ने गरी अभिलेख अद्यावधिक राख्नु पर्नेछ ।

अन बोर्ड ड्युटी पेड स्टोर सञ्चालन सम्बन्धी कार्यविधि स्वीकृत हुनुभन्दा अगाडि हवाई यात्रुले हुलाक, बैंक मुद्रा सटही काउण्टर, टेलिफोन, कर मुक्त पसल (ड्युटी फ्री शप), क्यूरियो पसल, पुस्तक पसल, सूचना केन्द्र, चमेना गृह, शौचालय, यात्रु कक्ष, प्रतिक्षा कक्ष, विश्राम कक्ष, टिकट जाँच कक्ष, अध्यागमन तथा भन्सार जाँच कक्ष, यात्रु तथा यात्रुहरूको मालसामानको सुरक्षा तथा ओसार पसार गर्ने व्यक्ति (पोर्टर), मालसामान (ब्यागेज), मालसामानको सुरक्षा (लकर), सवारी साधन लगायतका सेवा सुविधाहरू विमानस्थल क्षेत्रभित्र मात्र यात्रु सेवा सुविधा उपभोग गर्दै आएका थिए ।

यो कार्यविधि स्वीकृत भएपछि वायुयानभित्र सञ्चालित अन बोर्ड ड्युटी पेड सपबाट नै अनुमति प्राप्त उपभोग्य खाद्यवस्तुलगायतका सामग्रीहरु खरिदरउपभोग गर्न पाउने व्यवस्था भएको हो ।