NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० मंसिर १६ गते

प्रविधि पछ्याउँदै प्रहरीः गुनासो व्यवस्थापनका लागि उजुरी पेटिकाबाट क्युआर कोडतर्फ

काठमाडौं । गुनासो व्यवस्थापनको लागि नेपाल प्रहरीले क्यूआर कोडको प्रयोग सुरु गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले मंगलबारदेखि यसको सुरुवात गरेको हो ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले क्यूआर कोडको प्रयोगको शुभारम्भ गरेका छन् । कार्यक्रममा उनले कोशी प्रदेश प्रहरीको क्यूआर कोडको प्रयोग सम्बन्धि कार्यविधि, २०८० पनि सार्वजनिक गरे ।

कार्यक्रममा बोल्दै महानिरीक्षक कुँवरले प्रविधिको दुरूपयोग गरी हुने आपराधिक क्रियाकलापलाई नियन्त्रण तथा अनुसन्धान गर्न नयाँ नयाँ प्रविधि भित्राउनुको साथै प्रहरी कर्मचारीहरूको दक्षता अभिवृद्धि गरी प्रविधिमा अब्बल बनाउनुपर्नेमा जोड दिए । उजुरी पेटिकाको डिजिटल संस्करणको रूपमा प्रदेश प्रहरी कार्यालय बिराटनगरले क्यूआर कोड प्रयोगमा ल्याएको हो । आम सेवाग्राहीहरूको हितलाई मध्यनजर गरी प्रहरीले प्रदान गर्ने सेवामा कुनै गुनासो, पिरमर्का वा कैफियत भएमा सिधै क्यूआर कोड मार्फत सम्बन्धित जिल्लाका जिल्ला प्रहरी प्रमुख समक्ष सेवाग्राहीले आफ्नो भनाई राख्न वा उजुरी गर्न सक्नेछन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले संचालनमा ल्याएको क्यूआर कोडको प्रयोग प्रभावकारी भएकोले कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले यसलाई थप परिमार्जन गरी कोशी प्रदेश अन्तर्गत रहेका सम्पूर्ण प्रहरी कार्यालयले प्रयोग गर्ने गरी कार्यान्वयनमा ल्याएको हो । उक्त क्यूआर कोड कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरी, विशेष सुरक्षा गण दुहवी, कोशी प्रदेश सशस्त्र प्रहरी गण बिराटनगर र १४ वटै जिल्ला प्रहरी कार्यालयहरूमा आजैदेखि कार्यान्वयनमा ल्याएको र ईलाका प्रहरी कार्यालय तथा चौकी स्तरसम्म एक महिनाभित्र सर्वसाधारणको सहजै पहुँच हुने उपयुक्त स्थानमा राखी कार्यान्वयनमा ल्याईने उक्त कार्यालयले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले क्यूआर कोडको प्रभावकारिता र कार्यान्वयनको लागि अनुगमन गर्न प्रहरी अधिकृत सहित प्राविधिक टोली समेत खटाएको छ । साथै कोशी प्रदेश प्रहरीको क्यूआर कोडको प्रयोग गर्न आम सेवाग्राहीहरूलाई उक्त कार्यालयले अनुरोध समेत गरेको छ । उक्त क्यूआर कोड हाल कोशी प्रदेश प्रहरी कार्यालय र मातहत कोशी प्रहरी प्रदेश तालिम केन्द्र बिराटनगर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरी, विशेष सुरक्षा गण दुहवी, कोशी प्रदेश सशस्त्र प्रहरी गण बिराटनगर र १४ वटै जिल्ला प्रहरी कार्यालयहरूका गेट लगायतका सार्वसाधारणको सहज पहुँच हुने सार्वजनिक ठाउँमा उपलब्ध गराइएको छ ।