अब विद्युतकाे समस्या हुँदैन : मन्त्री बस्नेत

बाँके । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालगञ्जमा उद्योग सञ्चालनका लागि अब विद्युत्को समस्या नहुने बताएका छन् ।
नेपालगञ्ज उद्योग वाणिज्य संघले आज नेपालगञ्जका उद्योगी व्यापारीसँग आयोजना गरेको भेटघाट कार्यक्रममा उनले बाँकेमा देखिँदै आएको लामो समयदेखिको विद्युत् समस्या समाधान गर्न कोहलपुर-नेपालगञ्ज १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण गरेर सञ्चालन गरिने बताए ।
‘यहाँको विद्युत् समस्या समाधानका लागि नेपालगञ्ज-कोहलपुर १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण आजबाट सुरू हुँदैछ’, मन्त्री बस्नेतले भने, ‘आयोजनाको निर्माण पूरा भएपछि बाँकेको विद्युत् समस्या समाधान हुनेछ ।’ आयोजनाको निर्माणपछि ‘लो भोल्टेज’ र जथाभावी विद्युत् जाने समस्या समाधान हुनुका साथै उद्योग पनि पूर्णरुपमा सञ्चालनमा आउने उनले विश्वास व्यक्त गरे ।
नेपालगञ्जमा अहिले लो भोल्टेज र जथाभावी विद्युत् जाने समस्याले उद्योगी व्यवसायी निकै समस्यामा परेका छन् । उद्योगीमा देखापरेको विद्युत् समस्या हल हुने गरी यो आयोजना सुरू हुन लागेको मन्त्री बस्नेतले उल्लेख गरे ।
सो अवसरमा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले नेपालगञ्जको विद्युत् समस्या समाधान हुने गरी निर्माण हुन थालेको आयोजना समयमै पूरा गर्नुपर्नेमा जोड दिए । उनले आयोजना सुरु हुने तर वर्षौसम्म अलपत्र पारेर समस्या समाधानमा अवरोध हुँदै आएकाले यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
अध्यक्ष धामीले पछिल्लो समय बाँकेमा उद्योग, कलकारखाना खुल्ने क्रम बढे पनि विद्युत्लगायतका पूर्वाधार नबन्दा सञ्चालनमा कठिनाइ भइरहेकाले स्थानीय उद्योगी व्यवसायी समस्यामा परेको उल्लेख गरे । अध्यक्ष धामीले नेपालगञ्जका उद्योगी व्यवसायीका समस्या सम्बोधन गरिदिन सङ्घका तर्फबाट मन्त्री बस्नेतलाई ज्ञापनपत्र समेत बुझाए ।
प्रतिक्रिया