NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

रातभर के भए ? : कैद मिनाहाबारे रास्वपाले जवाफ माग्ने, पाकिस्तानमा ‘रकेट लञ्चर’ विस्फोट

काठमाडौं । बुधबार राति राजधानी काठमाडौंसहित देश शान्त नै रह्यो । देशमा राति त्यस्तो अप्रिय घटना नभएपनि विदेशका केही छुटेका  समाचारलाई हामीले यहाँ समावेश गरेका छौँ ।

कैद मिनाहा सम्बन्धमा रास्वपाले सरकारसँग जवाफ माग्ने
राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान दिवसका अवसरमा सरकारको सिफारिशमा राष्ट्रपतिबाट छ सय ७० कैदीबन्दीको भुक्तान हुन बाँकी कैद मिनाहा भएको विषयमा सरकारको जवाफ माग गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय बालाजुमा बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सदनबाट यससम्बन्धमा सरकारसँग जवाफ माग्ने र सदनमा सङ्कल्प प्रस्ताव दर्ता गर्ने निर्णय गरेको महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले जानकारी दिए ।

बैठकले कैद माफी मिनाहासम्बन्धी विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई संविधान र कानुनको संरक्षण र पालना गर्ने विषयमा ध्यानकर्षण पत्र बुझाउने निर्णय गरेको छ ।

राष्ट्रपति पौडेलले संविधान दिवसका अवसरमा भीमबहादुर खवाससमेतका चार सय ९७, हर्कबहादुर लिम्बुसमेतका एक सय ७० र ज्येष्ठ नागरिक समदिन मियाँसमेतका तीन गरी कूल छ सय ७० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरेका थिए ।

अभियन्ता ‘ईः’ र काठमाडौं महानगरपालिकाबीच चार बुँदे सहमति
धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबीच चारबुँदे सहमति भएको छ । ‘ईः’ र महानगरपालिकाका तर्फबाट कार्यपालिका सदस्य चिनीकाजी मर्हजनबीच आज बेलुका चारबुँदे सहमति भएको हो ।

सहमतिसँगै ‘ईः’ ले आन्दोलनका कार्यक्रमहरू स्थगित भएको घोषणा गरेका छन् । साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै उभिएर उनले आन्दोलन गरेका थिए । फुटपाथ व्यवसायीको हक र अधिकारका लागि अभियन्ता ‘ईः’ अनवरत एक सय ९९ घन्टादेखि काठमाडौं महानगरपालिकाको कार्यालय र राष्ट्रिय सभागृह अगाडि उभिँदै आएका थिए ।

पाकिस्तानको दक्षिणी क्षेत्रमा ‘रकेट लञ्चर’ विस्फोट
पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको एक गाउँस्थित एक घरमा बुधबार ‘रकेट लञ्चर’ मा प्रयोग हुने बादी गोला विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन् ।

कान्धकोटका वरिष्ठ प्रहरी उपरीक्षक रोहेल खोसोले घटनामा परी मृत्यु हुनेमा पाँच बालबालिका र दुई महिला रहेको जानकारी दिए ।

रकेट लञ्चरको नफुटेको खोल नजिकैको खेतमा बालबालिकाले फेला पारी घरमा लगेको बुझिएको छ । मृतक र घाइते सबै एकै परिवारका रहेको उनले बताए ।

इन्धनको मूल्य वृद्धि रोक्न पुटिनको निर्देशन
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले निर्यात प्रतिबन्धका बावजुद पनि थोक पेट्रोलको मूल्य निरन्तर बढ्दै गएकाले इन्धनको मूल्य वृद्धिप्रति ‘तत्काल’ थप प्रतिक्रिया दिन सरकारसँग आग्रह गरेका छन् ।

रूसी सरकारले गत हप्ता घरेलु बजारलाई ‘स्थिर’ बनाउन पेट्रोल र डिजेल इन्धनको निर्यातमा अस्थायी रूपमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

पुटिनले भने, “हामी प्रस्तावित उपायहरूले काम गर्ने तथ्यमा भरोसा गर्नेछौं र मूल्य घटाउनका लागि तेल कम्पनीहरूसँग अझ नजिकबाट काम गर्न सरकारलाई आह्वान गर्दछौं ।