NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

निराशाले मनमा घर गर्यो ? ११६६ मा फोन गर्नुस्

काठमाडौं ।  ललितपुरस्थित मानसिक अस्पतालको हेल्पलाइन नम्बर ११६६ मा बज्ने फोन घन्टीले परामर्शदातालाई उच्च सतर्कतामा राख्छ । फोन गर्नेमध्ये केहीले आत्महत्या गर्न लागेको, केहीले पारिवारिक झगडाका कारण घर छाडेर भाग्न थालेको र कतिपयले आफ्नो शरीरका अंगमा आफैँले चोट लगाउन लागेकोजस्ता जानकारी दिन्छन् । त्यसमध्ये पनि अधिकांशले मध्यरातमा फोन गर्छन् र घटना निम्त्याउन लागेको जानकारी अस्पताललाई गराउँछन् ।

राति–दिउँसो नभनी परामर्शदाता सेवामा खटिएका हुन्छन् । रातिको समयमै भए पनि अस्पतालका चिकित्सक र परामर्शदाताले घरमै पुगेर, छिमेकी वा प्रहरीलाई खबर गरेर, स्वयं व्यक्तिलाई सम्झाएर आत्महत्या वा क्षतिका घटना रोक्ने प्रयास गरिरहेका छन् । त्यसमा उनीहरूलाई सफलता प्राप्त भएको छ, त्यसैले २४सै घन्टा सेवामा लाग्न प्रेरणा मिलेको छ ।

गत असारयता अस्पतालको हेल्पलाइनमा मासिक ६ सयका दरले फोन कल आएका छन् । यसमध्ये अधिकांश कल काठमाडौंकै रहेका छन् भने बाहिरी जिल्लाबाट पनि केहीले फोन गरेर आत्महत्याको तयारी गरेको भन्दै अत्याउने गरेका छन् ।

अस्पतालका अनुसार ०७९/८० मा चार सय ६० जनाले मानसिक अस्पतालको हेल्पलाइन नम्बरमा फोन गरेर आफूले आत्महत्या गर्न लागेको बताएका थिए । कतिपयले आत्महत्या गर्न लागेको मात्रै अपूरो सूचना दिएर परामर्शदातालाई उल्टै अत्याए । केहीले त आत्महत्या गर्न औजार नै प्रयोग गर्न लागेको वेलामा समेत कल गर्ने गरेको परामर्शदाता बताउँछन् ।

रिसिभ भएका कलमध्ये सबैलाई पराशर्म वा भौतिक रूपमै पुगेर परामर्श वा उपचार गरेपछि ती व्यक्ति आत्महत्याको निर्णयबाट पछि हट्ने गरेका छन् । अस्पतालका अनुसार फोन गर्नेमध्ये ५० जना १८ वर्षभन्दा कम उमेर समूहका थिए भने ६० वर्षभन्दा बढी उमेर समूहका नौजना थिए । त्यस्तै, अन्य व्यक्ति १९ देखि ३९ उमेर समूहका रहेको अस्पतालले जनाएको छ । उनीहरूले आफूहरूलाई आत्महत्याको सोच आएको भनेर अस्पतालको हेल्पलाइनमा फोन गरेका थिए । उनीहरूलाई आवश्यक मनोपरामर्श तथा उपचार गरिएको अस्पतालले जनाएको छ ।

हाल मानसिक अस्पताल पाटनले फोनबाट परामर्श दिने पाँचजना कर्मचारी राखेको छ । यसमध्ये कतिपय अवस्थामा भौतिक रूपमै पुगेर परामर्श दिनुपरे पनि अस्पतालले चिकित्सकसहितको टोली पठाउने गरेको छ । ‘हामीकहाँ मानसिक रोगबारे परामर्शदेखि उपचार सेवासम्म छ, तर सबैको उपचार गर्न अस्पताल एक्लैले सक्दैन,’ मानसिक रोग विशेषज्ञ वासुदेव कार्कीले भने, ‘कतिपयले त अझ सुसाइट नोट लेखेर तथा सुसाइट गर्ने औजार नै बोकेर फोन गर्छन्, त्यस्तोमा रेस्पोन्स गर्न निकै कठिन र चुनौती हुन्छ ।’

पाटन अस्पतालले आत्महत्याको अवस्थामा पुगेका वा सोच आएका व्यक्तिलाई लक्षित गर्दै तीन वर्षअघिदेखि निःशुल्क परामर्श दिँदै आएको छ । यसका लागि हेल्पलाइन नम्बर ११६६ सञ्चालनमा ल्याएको छ । यसले आत्महत्या रोकथामका लागि ठूलो टेवा दिएको अस्पतालको भनाइ छ । ११६६ मा अस्पतालले २४सै घन्टा कर्मचारी परिचालन गरेको छ । यसमा फोन गरेर कुनै व्यक्तिले अप्ठ्यारोमा परेको बताए तुरुन्तै ‘रेस्क्यु टिम’ परिचालन हुन्छ ।

यसबाहेक फोनबाट परामर्श दिने, मानसिक रोगी भए अस्पतालमै ल्याएर उपचार गर्नेलगायत कार्य गर्ने गरिएको मनोपरामर्शदाता मनीष महर्जनले बताए । उनका अनुसार तीन वर्षको अवधिमा हेल्पलाइन नम्बरमा १३ हजार फोन आएका छन् । त्यसमध्ये अधिकांश आत्महत्याको मुखमा पुगेका र मानसिक रूपमा अस्वस्थ व्यक्ति थिए । तीन वर्षमा झन्डै ६ हजार फोन मानसिक स्वास्थ्यबारे आएका छन् ।

गएको आर्थिक वर्ष ०७९/८० मा अस्पतालको हेल्पलाइन नम्बरमा झन्डै ६ हजार कल आएको अस्पतालले जनाएको छ । त्यसमध्ये तीन हजार दुई सय १३ वटा कल मानसिक स्वास्थ्यबारे थिए । मनोचिकित्सक डा. कमल गौतमले आत्महत्या भयावह बनेकाले यसको रोकथामका लागि सचेतनामूलक कार्यक्रमको आवश्यकता देखिएको बताए ।

आत्महत्या रोकथाम जटिल पक्ष भएकाले यसमा केन्द्र सरकारले नै चासो दिनुपर्ने उनको भनाइ छ । ‘आत्महत्या गर्नेमा महिला–पुरुष बराबर छन् । महिलामा पनि आमा बनिसकेकाहरू बढी देखिएको छ,’ उनले भने, ‘यसबाहेक १९ देखि ३९ उमेर समूहका ऊर्जाशील युवाले आमहत्या गर्ने गरेका छन्, यसलाई रोकथाम गर्न जनचेतनामूलक कार्यक्रमको आवश्यकता छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।