NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

५० हजार खसीबोका र च्याङ्ग्रा उपत्यका ल्याइँदै

काठमाडौं । यस वर्ष दसैँमा उपत्यकामा ५० हजार खसीबोका र च्याङ्ग्रा बिक्री हुने व्यवसायीले अनुमान गरेका छन् । दसैँमा खसीबोकाको खपत धेरै हुने हुँदा सरकारी कम्पनी र निजी व्यवसायीले ५० हजार सङ्ख्यामा खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरेका हुन् ।

सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी व्यवसायीले उपयत्यकामा दसैँमा खसीबोका ल्याएर बिक्री गर्ने गरेका छन् । यस वर्ष पनि व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गर्ने तयारी गरेका छन् ।

काठमाडौं चौपाया खरिद बिक्री सङ्घका व्यवस्थापक जीवन खड्काले दसैँलाई लक्षित गरेर घटस्थापनाको दिनदेखि उपत्यकामा खसीबोकाको बिक्री सुरु गरिने जानकारी दिए । यस वर्ष गत वर्षकै हाराहारीमा ४५ देखि ५० हजार सङ्ख्यामा उपत्यकामा खसीबोकाको खपत हुने उनको अनुमान छ । आर्थिक मन्दीको असरले उपभोक्तासँग पर्याप्त क्रयशक्ति नहुँदा यस वर्ष बिक्री खासै नबढ्ने देखिएको उनको भनाइ छ । यस वर्ष खसीबोकाको मूल्य गत वर्ष कै प्रतिकेजी जिउँदो खसीबोकाको मूल्य ६६० देखि ६८० रुपियाँसम्म कायम रहेको उनले जानकारी दिए ।

हाल नियमित रूपमा दैनिक आठ सय सङ्ख्यामा उपत्यकामा खसीबोकाको खपत हुने गरेको व्यवसायीको भनाइ छ । घटस्थापनाको दिनदेखि अष्टमीको दिनसम्म बढीमात्रामा खसीबोका बिक्री हुने व्यवसायीको भनाइ छ । दसैँमा सबैले अनिवार्य रूपमा मासुको उपभोग गर्ने भएकाले पनि उपत्यकामा धेरै खसीबोका बिक्री हुने गर्छ । निजी व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गरी उपत्यकामा ल्याएर बिक्री गर्ने गर्छन् । स्थानीय उत्पादनले माग धान्न नसक्दा व्यवसायीले छिमेकी मुलुक भारत र चीनबाट समेत खसीबोका र च्याङ्ग्रा आयात गरेर बिक्री गर्ने गरेका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँलाई लक्षित गरेर तीन हजार खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने भएको छ ।

चाडपर्वको बेलामा उपभोक्तालाई सहुलियत मूल्यमा बिक्री गर्नका लागि गाउँ गाउँबाट खरिद गरेर बिक्री गर्ने भएको हो । दसैँमा बजारमा खसीबोकाको खपत धेरै हुने हुँदा निजी व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठग्न सक्ने हुँदा बजार मूल्य नियन्त्रण गर्न खसीबोका खरिद गरी उपत्यकामा ल्याई बिक्री गर्न लागेको कम्पनीले जनाएको छ ।
गोरखापत्र दैनिकबाट

ताजा अपडेट

नेपालवाच विशेष