NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

दोलखामा पाँच दिनमा तेस्रोपटक सुन बरामद, भागबन्डा नमिल्दा बाहिरियो सूचना

दोलखा । दोलखामा पाँच दिनमा तेस्रोपटक तस्करीको सुन बरामद भएको छ । बिगु गाउँपालिका– १ का २८ वर्षीय केसर तामाङको डेराबाट सात र नजिकैबाट चार गरी ११ केजी सुन बरामद भएको हो । गत बुधबार चार र शनिबार तीन केजी सुन बरामद गरेको प्रहरीले आइतबार थप चार केजी बरामद गरेको छ । पछिल्लो चार किलो सुन ढुंगाको कापमा माटोको चपरीले पुरिएको अवस्थामा फेला परेको हो ।

दोलखाको उत्तरी नाका फलेक हुँदै ११ किलो सुन तस्कर गर्ने गिरोहका मुख्य नेपाली व्यवस्थापक बिगु गाउँपालिका– १ का ५५ वर्षीय नुर्बुछिरिङ शेर्पा रहेको पनि खुलेको छ । प्रहरीका अनुसार तस्करी गरेर ल्याइएको सुनमा उनको समेत लगानी छ । नौ करोड ९३ लाख ३५ हजार तीन सय १३ रुपैयाँ मूल्यबराबरको ११ केजी सुन बरामदसँगै प्रहरीले ६ जनालाई पक्राउ गरेको छ, जसमा नुर्बुछिरिङ पनि छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाले नुर्बुछिरिङलाई गत बिहीबार श्रीमती ३० वर्षीया सुनमाला तामाङसँगै सदरमुकाम चरिकोेटबाट पक्राउ गरेको थियो । सुन तस्करीका लागि आवश्यक युवा उनकै योजनामा भेला गरिएको खुलेको छ । सुन तस्करीमा ठूलै गिरोह संलग्न रहेको देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को विशेषज्ञ टोली नै खटाएर अनुसन्धान भइरहेको छ ।

भागबन्डा नमिल्दा बाहिरियो सूचना
तस्करीको सुनका मालिक चिनियाँ नागरिकले नेपालमा मुख्य व्यवस्थापनको जिम्मा नेपालकै नुर्बुछिरिङ शेर्पालाई दिएका थिए । चिनियाँ मालिकले फलेक नाकाबाट लामाबगरसम्म सुन ल्याउने जिम्म पेम्बा तामाङ र च्याङ्बा भनिने चसमान तामाङलाई दिएका थिए जसको व्यवस्थापन भने नुर्बुछिरिङले गरेका थिए । लामाबगरमा सुन राख्ने जिम्मा केसर तामाङको थियो ।

योजनाअनुसार पेम्बा र चसमानले सुन लामाबगर ल्याए । केसरलाई जिम्मा पनि दिए । तर, लामाबगरबाट चरिकोट लैजाने क्रममा भने विवाद भयो । प्रहरीका अनुसार सुन चरिकोटसम्म लैजाने जिम्मा अशोक मागरसहितको टोलीलाई दिइएको थियो । उनीहरूबीच भागबन्डाको विषयमा कुरा मिलेन । उनीहरूमध्येकै असन्तुष्ट पक्षले सूचना प्रहरीलाई चुहाइदियो । नभन्दै प्रहरीले सुनसहित केसर, नुर्बुछिरिङ, सुनमाला, पेम्बा, बिगु– १ कै २० वर्षीय माधव मगर र राज तामाङलाई पक्राउ गरेको छ । अशोकसहितको टोली भने फरार छ ।

नयाँ पत्रिका दैनिकबाट

ताजा अपडेट

नेपालवाच विशेष