NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

रातभर के-के भए ? वर्षाका कारण आठ जनाको मृत्यु, चितुवाको छाला बेच्ने पाँच पक्राउ

काठमाडौं । दिनभर मिडियामा विभिन्न क्षेत्रका समाचारले स्थान पाएपनि राति केही अबेर बाहिरिएका समाचारलाई हामीले यहाँ समेटेका छौँ ।

बङ्गलादेशमा डेङ्गुबाट एक हजारको मृत्यु
बङ्गलादेशमा यस वर्षको सुरुदेखि हालसम्म डेङ्गुबाट एक हजारभन्दा बढी मानिसको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ । लामखुट्टेबाट हुने यो रोगलाई मुलुकको सबैभन्दा खराब प्रकोप मानिएको छ ।

डेङ्गुबाट उच्च ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, मांसपेशी दुख्ने र सबैभन्दा गम्भीररूपमा रक्तस्राब हुन्छ । अत्यधिक रक्तस्राबका कारण मानिसको मृत्युसमेत हुन सक्छ ।

विश्व स्वास्थ्य सङ्गठनले लामखुट्टेबाट सर्ने डेङ्गुसहित चिकुङ्गुन्या, पहेँलो ज्वर र जिका जस्ता रोगहरू जलवायु परिवर्तनका कारण छिटो र थप फैलिरहेको चेतावनी दिएको छ ।

बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार राति प्रकाशित गरेको तथ्याङ्कअनुसार डेङ्गुबाट दुई लाखभन्दा बढी सङ्क्रमित हुँदा एक हजार छ जनाको मृत्यु भइसकेको छ ।

मलेरियाविरूद्धको उपचारका लागि दोस्रो खोप सिफारिस
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको बालबालिकाका लागि मलेरियाको आर–२१/म्याट्रिक्स–एम नामक दोस्रो खोप आर–२१/म्याट्रिक्स–एम को सिफारिस गरेको जनाएको छ ।

आर २१/म्याट्रिक्स–एम खोप सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको हो र बुर्किना फासो, घाना र नाइजेरियामा प्रयोगका लागि अनुमति दिइसकिएको छ ।

“मलेरिया अनुसन्धानकर्ताको रूपमा, म त्यो दिनको सपना देख्थें जुन दिन हामीसँग मलेरिया विरुद्ध सुरक्षित र प्रभावकारी खोप हुनेछ । अहिले हामीसँग दुई विकल्प प्राप्त भएका छन्,” डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले भने ।

सन् २०२१ मा बेलायती औषधि कम्पनी जीएसकेले उत्पादन गरेको आरटीएस एस खोप मध्यमदेखि उच्च औलो सङ्क्रमण भएका क्षेत्रका बालबालिकामा औलो रोकथामका लागि डब्लुएचओले सिफारिस गरेको पहिलो खोप बनेको थियो ।

भारतको पूर्वी क्षेत्रमा भारी वर्षाका कारण आठ जनाको मृत्यु
नयाँदिल्ली । भारतको पूर्वी राज्य झारखण्डमा भारी वर्षा र चट्याङका कारण कम्तीमा आठ जनाको मृत्यु भएको क्षेत्रीय विपद् व्यवस्थापन निकायले सोमबार जानकारी गराएको छ । भारी बर्षाका कारण आएको बाढी र डुबानका कारण अन्य कैयौँ व्यक्ति घाइते भएका छन् ।

झारखण्डका केही भागमा शनिबारदेखि लगातार वर्षा भइरहेको छ । अविरल वर्षाका कारण घरहरु क्षतिग्रस्त हुनुका साथै सडकहरु डुबानमा परेका छन् र नदीहरूमा पानीको बहाव खतराको तहसम्म पुगेको विपद व्यवस्थापन अधिकारीले बताए ।

चितुवाको छालासहित पाँच पक्राउ
नेपाल प्रहरीले संरक्षित वन्यजन्तु चितुवाको छालासहित पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०को टोलीले संरक्षित वन्यजन्तु चितुवाको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बिक्री वितरण गर्ने पाँच जना व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भोजपुरका ३९ वर्षीय लक्ष्मण विश्वकर्मा, २० वर्षीय विनोद कालिकोटे, ३४ वर्षीय दलबहादुर आलेमगर, धादिङ गल्छीका २८ वर्षीय उमेश दुधराज र २० वर्षीय प्रेमबहादुर विक छन् ।

ताजा अपडेट

नेपालवाच विशेष