कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने, बहुमत पुर्याउन सकस

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् ।
प्रदेश सभामा ठूलो दलको हैसियतमा २२ भदौमा मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले शनिबार विश्वासको मत लिने भएपनि शुक्रबार रातिसम्म उनको सरकार सुरक्षित रहने संसदीय अंकगणित भने बनिसकेको छैन ।
संविधानको धारा १६८(३) अनुसार प्रदेश सभामा सबैभन्दा ठुलो दलको हैसियतले कोशीमा ३० दिन नेकपा एमाले संसदीय दलको नेता कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो । यसरी गठन भएको सरकारले संविधानको १६८(४) बमोजिम ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने व्यवस्था रहेकोले आज मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेका हुन् ।
शनिबार कार्कीले विश्वासको मत नपाए प्रदेश प्रमुख परशुराम खापुङले संविधान धारा १६८ को उपधारा ५ अनुसार बहुमत पुर्याउने सांसदलाई सरकार गठनका लागि आह्वान गर्नेछन् ।
विपक्षी गठबन्धनमा रहेका दलहरू कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीले कार्कीको सरकारलाई विश्वासको मत नदिने घोषणा गरिसकेका छन् । कार्कीको विपक्षमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाको ४७ मत छ । कोशीमा हाल एमालेका ४० (उपसभामुखसहित), कांग्रेस २९, माओवादी १३, राप्रपा ६, एकीकृत समाजवादी चार र जनता समाजवादीका एक सांसद छन् ।
कोशी प्रदेशमा ठुलो दल नेकपा एमालेसँग ४० सांसद सङ्ख्या छ भने विपक्षी गठबन्धनसँग भने सरकार गठन गर्न आवश्यक ४७ मत छ । प्रदेश सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया