NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

इजरायलमाथि हमला गर्ने हमास के हो ? यस्तो छ दुईबीच द्वन्द्वको इतिहास

एजेन्सी । हमासले गाजा क्षेत्रमा गरेको आक्रमणले इजरायल यतिबेला तनावग्रस्त बनेको छ । शनिबार हमासले इजरायलमाथि गरेको आक्रमणबाट इजरायलमा सयौंको मृत्यु भइसकेको छ जसमा १० जना नेपाली विद्यार्थीसमेत परेका छन् ।

हमासले हजारौं रकेट प्रहार गरेर इजरायलमाथि हमला गर्नुसँगै हमासका कट्टरपन्थीहरूले जमिनबाटसमेत आक्रमण गरेको अन्तर्राष्ट्रिय न्युज एजेन्सीहरुले जनाएका छन्।

धेरै ठाउँमा इजरायलबाट गाजालाई छुट्याउने बार तोडेर हमास इजरायल प्रवेश गरेका थिए । ५० वर्षअघि इजिप्ट र सिरियाले संयुक्त रुपमा गरेको आक्रमणको एक दिनपछि हमासले इजरायलमा यो हमला गरेको हो ।

सन् १९७३ को अक्टोबरमा भएको आक्रमणपछि सम्पूर्ण मध्यपूर्व युद्धको चपेटामा परेको थियो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासविरुद्ध युद्धको घोषणासँगै आफ्ना शत्रुहरूले आक्रमणको ठूलो मूल्य चुकाउनु पर्ने बताइसकेका छन् । आक्रमणले निम्त्यिाएको आतंक, मृतक र घाइतेको तस्बिर र भिडियोसहित सामाजिक सञ्जालमा फैलिएको छ ।

जसमा हमासका चरमपन्थीहरूले सैनिक र सर्वसाधारणलाई बन्धक बनाएका छन् । गाजाको यो भिडियो सार्वजनिक भएपछि इजरायलको आक्रोश झनै बढेको छ । हमासले आक्रमण गरेको केही घण्टामै इजरायलले गाजामा जवाफी हमला गर्न थाल्यो । इजरायली सेनाको अर्को योजना गाजामा जमिन आक्रमण गर्नु हो ।
तर इजरायलको अघिल्लो सैन्य कारबाही जस्तै गाजामा अर्को आक्रमण त्यति सजिलो छैन । किनभने हमासले गाजामा धेरै इजरायली सैनिक र नागरिकहरूलाई बन्धक बनाएको छ।

यसरी सुरु भयो तनाव

पछिल्ला केही महिनादेखि प्यालेस्टाइनका सशस्त्र विद्रोही समूह र इजरायलबीच तनाव बढ्नुसँगै ठूलो विस्फोटको डर बढ्दै गइरहेको थियो । तर हमासको सशस्त्र समुहले शनिबार गरेको आंक्रमणले भने इजरायल स्तब्ध बन्यो । दुईबीच बढ्दो तनावको प्रमुख कारण वेस्ट बैंक हो । यो जेरुसेलम र जोर्डनको सीमा बीचको क्षेत्र हो । जसमा इजरायल र प्यालेस्टाइन दुवैले आफ्नो नियन्त्रण बढाउन प्रयास गरिरहेका छन्। वेस्ट बैंक सन् १९६७ देखि इजरायलको कब्जामा छ। तर प्यालेस्टाइनको प्रतिरोधपछि यहाँ वर्षभरि हिंसात्मक घटना र झडप भइरहन्छ।

दक्षिणपन्थी इजरायली सरकारका कट्टर राष्ट्रवादीहरूले उनीहरूको कब्जामा रहेको सम्पूर्ण क्षेत्र यहूदीहरूको भएको भनेर बारम्बार दाबी गर्छन् । यस्तो अवस्थामा हमासले गाजाबाट सुनियोजित ढंगले यति ठूलो हमला गर्छ भन्ने कल्पना पनि कसैलाई थिएन । इजरायलको सुविधा सम्पन्न खुफिया एजेन्सीहरू पनि यतिबेला चकित अवस्थामा छन् । इजरायलसँग मध्यपूर्वमा सबैभन्दा उत्कृष्ट खुफिया सेवा, लेबनान, सिरिया र अन्य ठाउँहरूमा सूचनादाता र एजेन्टहरू भएपनि यो हमलाबारे चुइक्क पनि पाउन सकेन । योसँगै गाजा र इजरायलबीचको सीमा बारमा क्यामेरा, ग्राउण्ड मोशन सेन्सर र नियमित सेना गस्तीहरू पनि छन् । कतिपयले यो सन्दर्भमा इजरायलको ‘इन्टिलिजेन्ज एजेन्सी’ नै असफल भएको टिप्पणी पनि गरिरहेका छन् ।

हमास र इजरायलबीच द्धन्द्व कहिलेसम्म ?

धेरै समयपछि इजरायल र प्यालेस्टाइन एक पटक फेरि युद्धमा होमिएका छन् । जसको असर त्यहाँका नागरिकलाई परिरहेको छ । अन्तर्राष्ट्रिय समाचारमा यी दुईबीचको गहिरो द्वन्द्वबारे कुनै हेडलाइन नआए पनि यो सधैं चलि नै रहेको थियो । सन् १९९० को दशकमा ओस्लो शान्ति प्रक्रियापछि वर्षौंसम्म कायम रहेको शान्तिको आशा थियो।

तर अमेरिका इजरायलसँग सम्बन्ध बढाउनुको सट्टा साउदी अरबलाई सुरक्षा प्रत्याभूति दिने उपाय खोज्न व्यस्त भयो । इजरायल र प्यालेस्टाइनबीच शान्ति सम्झौताको अन्तिम प्रयास अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यकालमा भएको थियो। तर उक्त प्रयासले पनि दुई समुहबीच शान्ती सम्झौता हुन सकेन ।
यो समस्याको प्रमुख कारण नै मेडिटेरेनियन सागर र जोर्डन नदी बीचको भूमिलाई नियन्त्रण गर्नु हो । जसलाई लिएर यहूदी र अरबका मानिसहरूबीच शताब्दी लामो द्वन्द्व चलिरहेको छ। यो विवाद आजसम्म पनि समाधान हुन सकेको छैन । यसबीचमा भइरहेका आक्रमण र हिंसाका घटनाले यो विवादलाई थप बढावा दिइरहेको छ ।

इजरायलमा आक्रमण गरेको हमास के हो ?

हमासको स्थापना सन् १९८७ मा मुस्लिम ब्रदरहुडमा सक्रिय रहेका शेख अहमद यासिनले गरेका हुन् । पश्चिम बैंक र गाजामा इजरायली सैन्य नियन्त्रण विरुद्धको पहिलो प्यालेस्टाइनी विद्रोहको क्रममा यसको स्थापना भएको थियो ।

त्यसयता हमासले इजरायलका नागरिकहरुविरुद्ध आत्मघाती आक्रमणसँगै इजरायली सैनिकहरुको अपहरण गर्दै आएको छ । अमेरिकाले आतंककारी समूह मान्नेमध्ये हमास पनि एक हो । तर गाजा स्ट्रिपमा भने हमास नै शासक शक्ति हो ।

प्यालेस्टिनी लडाकु इस्लामवादी समूहमध्ये ठूलो मानिने हमासले इजरायललाई राज्यको रूपमा मान्यता दिँदैन र त्यस क्षेत्रबाट सबै यहूदीहरुलाई धपाउने अठोट लिएको छ ।

मुख्यतः हमास तीनवटा स्तम्भमा उभिएको छ । धर्म, परोपकार र इजरायलविरुद्धको लडाइ ।

महमूद अब्बासको नेतृत्वमा रहेको आफ्नो प्रतिद्वन्द्वी प्यालेस्टिनी पार्टी फताहसँग हमासको वर्षौंदेखि विवादस्पद सम्बन्ध रहेको छ । गाजाबाट इजरायल फिर्ता भएको एक वर्षपछि हमासले प्यालेस्टिनी विधान सभा चुनाव जित्यो र फताहलाई पराजित गर्यो । सन् २००७ मा गाजामा गुटगत लडाइ पछि हमासले फताहको प्रभुत्व भएको प्यालेस्टाइनको सरकारलाई हटायो र गाजामा कब्जा गर्यो ।

सुरुका वर्षमा हमासलाई प्यालेस्टिनीहरुले इजरायलको प्रतिरोध गर्न सबैभन्दा इच्छुक समूहको रुपमा अंगालेका थिए । र हमासलाई केहीले प्यालेस्टिनी सरकार भन्दा कम भ्रष्ट र राम्रो संगठनको रूपमा पनि हेरेका थिए । तर पछिल्लो समय युद्धका कारण प्यालेस्टिनीहरुको पनि अवस्था बिग्रिदैं जानु, इजरायल र इजिप्टबीच लामो समयदेखि चलिरहेको नाकाबन्दीलगायतका समस्याका कारण प्यालेस्टिनीहरूमा पनि असन्तुष्टि बढेको छ ।

गाजा स्ट्रिपमा इजरायलविरुद्ध हमासससँगै इस्लामिक जिहाद(त्यस क्षेत्रको दोस्रो ठूलो आतंकवादी समूह) सधैं एकजुट हुन्छन् ।

हमास सिरियाजस्ता मध्यपूर्वी देशहरु र लेबनानमा शिया इस्लामी समूह हिजबुल्लाहजस्ता संस्थाहरूसँग पनि गठबन्धनमा छ । यी समूहले अमेरिका र इजरायली नीतिहरूको विरोध गर्दै आइरहेका छन् । हमासको सबैभन्दा मुखर समर्थकहरूमध्ये इरान पनि एक हो । इरानको इजरायलविरूद्ध द्वन्द्व चर्काउन मद्दत गर्नुमा आफ्नै स्वार्थ छ । दशकौंदेखि इरानले इजरायली भूभागमा पुग्न सक्ने उन्नत किसिमको रकेटहरू र हातहतियार निर्माण गर्न हमासलाई प्रविधिसँगै प्रशिक्षण पनि उपलब्ध गराइरहेको छ ।

इजरायललाई समाप्त पार्ने भनेर कसम नै खाएको हमासले सन् २००७ देखि इजरायलसँग युद्ध लड्दै आएको छ ।

हमासले कब्जा जमाइरहेको गाजा स्ट्रिप ४१ किलोमिटर लम्बाइ र १० किलोमिटर चौडाइमा फैलिएको क्षेत्र हो । जुन इजिप्ट र मेडिटेरेनियन सागरको बीच अवस्थित छ । झण्डै २३ लाख जनशक्ति भएको यो क्षेत्र विश्वमा धेरे जनसंख्या भएमध्येमा पर्छ ।

गाजाको ८० प्रतिशत जनसंख्या बैदेशिक सहायतामै निर्भर छ । संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार त्यहाँको करिब दश लाख जनसंख्या दैनिक छाक टार्नका लागि सहयोगकै भरमा हुन्छन् ।

ताजा अपडेट

नेपालवाच विशेष