NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको जहाज इजरायल पठाइने

काठमाडौं । प्यालेस्टिनी हमास समूहको आक्रमणपछि युद्धग्रस्त बनेको इजरायलबाट दुई सय नेपाली स्वदेश फर्किन चाहेका छन् । स्वदेश फर्किन चाहनेहरूका लागि इजरायलस्थित नेपाली राजदूतावासले अनलाइन दर्ता सुरु गरेकोमा सोमबार साँझसम्म कम्तीमा दुई सयको निवेदन परेको दूतावासले जनाएको हो ।

इजरायलमा श्रम, अध्ययनलगायत विभिन्न प्रयोजनका लागि पुगेका करिब पाँच हजार नेपाली छन् । शनिबार साँझ हमासले गरेको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएपछि त्रसित अन्य विद्यार्थीलगायत नेपालीले स्वदेश फर्किने इच्छा जनाएका हुन् । यो समाचार हामीले नयाँ पत्रिका दैनिकबाट लिएका हौँ ।

दूतावासले नेपाल सरकार र इजरायल सरकारसँग समन्वय गरी विवरण संकलनका लागि आइतबार रातिदेखि अनलाइन रजिस्ट्रेसन सुरु गरेको थियो । सोमबार साँझ दूतावासले जारी गरेको विज्ञप्तिअनुसार हाल युद्ध भइरहेको इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा फसेका नेपाली विद्यार्थीहरूलाई कृषि प्रशिक्षण केन्द्र, इजरायली सुरक्षा संयन्त्र तथा नेपाली संघ–संस्थाको सहयोगमा उद्धार थालिएको छ । ‘केही विद्यार्थीहरूको थप सुरक्षित ठाउँमा स्थानान्तरण भइसकेको छ भने केही स्थानान्तरण हुने क्रममा छन्,’ दूतावासले भनेको छ ।

सरकारले स्वदेश आउन चाहेका नागरिकको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले इजरायलमा रहेका नेपालीको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा तीन महिनाका लागि नियुक्ति गर्न इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने निर्णय पनि गरेको छ । इच्छुक नागरिकलाई स्वदेश नफर्किउन्जेलसम्म अस्थायी ट्रान्जिट होम स्थापना गरी व्यवस्थापन गर्न पनि सरकारले दूतावासलाई स्वीकृति दिएको छ । उद्धारका लागि इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरूसमेतको सहयोग लिने पनि सरकारको निर्णय छ ।