NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

मधेश प्रदेशमा नेपाल लाइफ क्यापिटलको वित्तीय साक्षरता कार्यक्रम, लगानी प्रोत्साहनमा जोड

काठमाडौं । नेपाल लाइफ क्यापिटलले मधेश प्रदेशको जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । सेयर बजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे जनतालाई साक्षर गराउने मुख्य उदेश्यका साथ नेपाल लाइफ क्यापिटलले नेपाल धितोपत्र बोर्डसँगको समन्वयमा शुक्रबार उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल धितोपत्र बोर्डका निर्देशक हरिप्रसाद भुसालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत नविन बाँस्कोटाले लगानीका क्षेत्र र सेयर बजारको महत्व कार्यक्रममा उल्लेख गरेका थिए ।

उनले निम्न आय भएका व्यक्तिले सेयर बजारमा कसरी पहुँच पु-याउन सक्छन् र यस्तो बजारबाट सर्वसाधारणले कसरी लाभ लिन सक्छन् भन्ने विषयमा जोड दिए । कार्यक्रममा कोष प्रबन्धक नवराज सिलवालले ‘लगानीका आधारभूत कुरा, धितोपत्र बजार र जोखिम व्यवस्थापन’ विषयमा प्रस्तुतिकरण गरेका थिए ।

सेयर बजारको महत्व, यसले कसरी काम गर्छ र लगानीका थप क्षेत्रहरू के हुन् भन्ने बारेमा सर्वसाधारणमा साक्षरता ल्याउने कुरामा कार्यकारी अधिकृत बाँस्कोटाकाे जोड थियाे । नेपाल लाइफ क्यापिटलका अधिकृत विज्ञान नेपालले कार्यक्रममा सहभागीहरुलाई डिम्याट, ब्रोकर, सेयर बजार र जोखिम विश्लेषणको बारेमा जानकारी दिएका थिए ।

सर्वेक्षणबाट करिब ७० प्रतिशत सहभागीहरु आईपीओ आवेदनका लागि प्राइमरी मार्केटमा संलग्न रहे पनि सेयर बजारमा करिब ३० प्रतिशत मात्रै सक्रिय रहेको पाइएको थियो । आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका गरी १०८ व्यक्तिहरुको सहभागिता थियो ।