NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

परराष्ट्रमन्त्री र इजरायलका विदेशमन्त्रीबीच फोन वार्ता, रातभर अन्य के-के भए ?

इजरायली हवाई आक्रमणमा हमासका दुई पोलिटब्युरो सदस्यको मृत्यु
गाजा । प्यालेस्टाइनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) का दुई जना पोलिटब्युरो सदस्यको दक्षिणी गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा परी मृत्यु भएको हमासको एक आधिकारिक स्रोतले मङ्गलबार सिन्ह्वालाई जानकारी दिएको छ ।

जकारिया अबु मुअम्मर र जवाद अबु शमाला प्यालेस्टाइनको दक्षिणी क्षेत्रमा खान युनिसमा गरिएको हवाई आक्रमणमा मारिएका छन् ।

इजरायली सेनाका प्रवक्ता अविचय अद्राईले एक प्रेस विज्ञप्ति जारी गर्दै इजरायली विमानले हमासका अर्थमन्त्री अबु शामालाको सोमबार राति आक्रमणबाट मृत्यु भएको बताएका छन्।

पाकिस्तानद्वारा श्रीलङ्का ६ विकेटले पराजित
भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत आजको खेलमा पाकिस्तानले श्रीलङ्कालाई पराजित गरेको छ । पाकिस्तानले श्रीलङ्कालाई ६ विकेटले हराएको हो ।

टस जितेर पहिला ब्याटिङ थालेको श्रीलङ्काले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर तीन सय ४४ रनको योगफल बनायो । तीन सय ४५ रनको विजय लक्ष्य पाकिस्तानले ४८ दशमलव दुई ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । पाकिस्तानका लागि अब्दुल्लाह शफिकले एक सय १३, मोहम्मद रिजवानले अविजित एक सय ३१, इफ्तीखार अहमदले अविजित २२, शाउद सकलिले ३१ तथा इमाम उल हकले १२ रन बनाए ।

बलिङतर्फ श्रीलङ्काका लागि दिलशन मदुसन्काले दुई विकेट लिए ।

गाजा नजिक रहेका नेपालीलाई सुरक्षित स्थानमा सारियो
इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फार्ममा रहेका सबै ५५ नेपाली विद्यार्थीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।

इजरायलको उत्तरी सिमाना आसपासको क्षेत्रमा उद्धारको प्रतीक्षामा रहेका ७२ जनालाई पनि सुरक्षित ठाउँमा सारिएको तेलअबिबस्थित नेपाली राजदूतावासले जनाएको छ ।

उक्त दूतावासका अनुसार शनिबारको आक्रमणमा घाइते भएका चारै जनाको स्वास्थ्यमा क्रमशः सुधार आएको छ तथा हराइरहेका एक नेपालीको प्रहरी, अस्पताललगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा व्यापक खोजी भइरहेको छ । नेपाल फर्कन चाहने तीन सय ५० जनाभन्दा बढी नेपालीले आफ्नो नाम दूतावासमा दर्ता गराएका छन् । उनीहरूको सुरक्षित स्वदेश फिर्तीको प्रक्रिया प्रारम्भ गरिसकेको छ ।

परराष्ट्रमन्त्री साउद र इजरायलका विदेशमन्त्रीबीच टेलिफोन वार्ता
परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग आज टेलिफोन वार्ता गरेका छन् । त्यस क्रममा उनले आतङ्कवादी समूह हमासको आक्रमणमा १० जना नेपालीका साथै इजरायली एवं अन्य देशका निर्दोष नागरिक मारिएकामा गहिरो दुःख व्यक्त गरे ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री साउदले नेपाल सरकार र जनताका तर्फबाट आफ्ना इजरायली समकक्षीप्रति सहानुभूति एवं ऐक्यबद्धता प्रकट गर्दै आतङ्कवादका हरेक रुप र प्रकटीकरणका विरुद्ध नेपाल दृढताका साथ उभिएको बताए । साथै उनले उक्त आक्रमणको निन्दा गरे ।

परराष्ट्रमन्त्री साउदले ज्यान गुमाएका नेपालीको शव नेपाल पठाउन आवश्यक समन्वय र सहजीकरण गर्न आग्रह गर्नाका साथै घाइते भएका चार जनाको उपचार तथा सम्पर्कविहीन भएका एक नेपालीको अवस्था पत्ता लगाइदिन विदेशमन्त्री कोहेनसमक्ष विशेष अनुरोध गरे । इजरायली सेनाले सुरक्षित स्थानमा स्थनानान्तरण गरेका नेपालीलाई आवास, भोजन एवं सुरक्षाको प्रबन्ध गर्न पनि उनले कोहेनसँग आग्रह गरे ।