NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

इजरायलका नेपाली आक्रोशित : ‘सिंहदरबारमा बस्ने बैठकले साथीहरूको मूल्य मात्रै तोकिरहेको छ’

काठमाडौं । दक्षिणी इजरायलको द्वन्द्वग्रस्त नेतिभोतबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएका नेपाली विद्यार्थीहरू उद्धारमा ढिलाइ गरिएकोप्रति आक्रोशित देखिएका छन् । जीवन उच्च जोखिममा परेको चार दिन बितिसक्दा पनि उद्धार नगरेको भन्दै कृषि विद्यार्थीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

इजरायलको दक्षिणी गाजा क्षेत्र र लेवनानसँग जोडिएको उत्तरी क्षेत्रमा कृषि काममा २ सय ६५ जना विद्यार्थी थिए । जसमा हमास लडाकुको आक्रमणमा परी १० जना विद्यार्थी शनिबार मारिएका थिए । चार जना घाइतेको उपचार जारी छ भने एक जना बेपत्ता छन् । घरफिर्तीका लागि ३ सय ५० जनाको विवरण दूतावासले प्राप्त गरिसकेको छ । ‘हामी सेदोत नेगेभ ९एग्रिकल्चर ट्रेनिङ सेन्टर० बाट सँगै ल्याएको कम्बोडिया र थाइल्यान्डका विद्यार्थीलाई सोमबार नै आफ्नो सरकारले उद्धार गरेर लगिसक्यो । हाम्रो सरकार भने चार दिन बैठक मात्रै बसिरहेको छ,’ सुदूरपश्चिम विश्वविद्यालयका लुइस रिजालले भने, ‘प्राथमिकता केलाई दिने भन्ने कुरा नै हाम्रो सरकारले छुट्याउन सकेको छैन ।’

विद्यार्थीहरूले ‘सिंहदरबारमा बस्ने बैठकले साथीहरूको मूल्य मात्रै तोकिरहेको’ बताए । ‘कहिले आठ लाख भनेको छ । कहिले १० लाख भनेको छ । तर, हामी जुन तरिकाले शारीरिक र मानसिक तरिकाले गुज्रिरहेका छौं । त्यो निकै कठिन छ । दुई दिन अगाडिसम्म खान पाएका थिएनौं । अहिले खाना खान पाएका छौं । त्यो फरक कुरा हो,’ रिजालले भने, ‘दूतावासलाई फोन गर्दा कमर्सियल विमानहरू चलिरहेको छ भन्छ । यसका लागि पैसा चाहिने रहेछ । यो पैसाको जिम्मेवारी कसले लिने भन्ने कुरा छ । सरकारले सक्तैनौं भन्नुपर्‍यो । पैसा हामी आफैं हाल्छौं । पैसा हाल्न नसक्ने भए हामीलाई तुरुन्तै सूचना प्रदान गर्नुपर्‍यो ।’

नेपाली दूतावासले फार्म मालिक र इजरायली सुरक्षा संयन्त्रसँग समन्वय गरी दक्षिणी क्षेत्र सेदोत नेतिभोतबाट ५५ जना विद्यार्थीलाई रामेत नागेभ र उत्तरी क्षेत्रबाट ७२ जनालाई सीएफ ग्यालेली क्षेत्रमा ल्याएर राखिएको छ । इजरायलको उत्तरी क्षेत्र लेवनानको बोर्डर नजिक कार्यरत सय जना विद्यार्थीलाई सीएफ ग्यालेली क्षेत्रमा ल्याएको हो । उत्तरी क्षेत्र पनि असुरक्षित बन्दै गएको हो ।

विद्यार्थीहरू आफूहरू ‘लर्न एन्ड अर्न’ कार्यक्रमअनुसार आफ्नो बसाइलाई निरन्तरता दिन नसक्ने भन्दै उद्धार चाहेको बताए । इजरायलका कृषि मालिक र विश्वविद्यालयले भने अध्ययन र पढाइलाई निरन्तरता दिन आग्रह गर्दै आइरहेको छ ।

‘हामीलाई जहिले पनि मानसिक र भावनात्मक रूपमा बलियो हुनुपर्छ भनेर सबैले भनिरहेको छ । आफूले सकेसम्म शतप्रतिशत दिइसकेका छौं । पाँच दिन हुन लागिसक्यो । बमको आवाज गर्जेको गर्जै छ,’ चितवनकी विभूषा अधिकारीले भनिन्, ‘हामीलाई बमको आतंक कम भएको ठाउँमा रिलोकेट गरेको मात्रै हो । हामी पूर्ण रूपमा सुरक्षित छैनौं ।’ विद्यार्थीहरू १६ अक्टोबरबाट इजरायलका उडानहरू कतै पनि बाहिर जान नदिने खबरले थप चिन्तित देखिएका छन् । ‘इजरायलले आफ्नै नागरिकलाई त बिदामा बाहिर जाऊ भनिरहेको छ । हामीलाई भने नेपाल सरकारले किन अहिलेसम्म लिन आइरहेको छैन ?’ उनले भनिन् ।