NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

सुन तस्करी प्रकरण: राहुलसहित ४ जनाविरुद्ध मुद्दा दायर, कति छ कैद सजायको मागदावी ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुलसहित ४ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राहुलसहित चिनियाँ तस्करका सहयोगी लोकेन्द्र पौडेल, हाल थुनामा रहेका दावा छिरिङ र काभ्रेका निमा गुरुङविरुद्ध मुद्दा दायर गरेको हो । निममा भने अझै फरार छन् ।

उनीहरुविरुद्ध संगठित अपराध र भन्सार छलीको अभियोगमा मुद्दा दायर भएको कार्यालयका प्रमुख सहन्यायधिवक्ता अच्युतमणि नेउपानेले बताए ।

मुद्दामा ३ देखि ५ वर्षसम्मको कैद र संगठित अपराधको कसुरमा त्यसको ५० प्रतिशत गरी अधिकतम साढे ७ वर्षको कैद सजायको मागदावी लिएको छ ।

विद्युतीय चुरोटमा लुकाए ल्याएको करिव ९ केजी सुन तस्करीको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धनान गरी रायसहितको प्रतिवेदन शुक्रबार सरकरी वकिलको कार्यालयमा पेस गरेको थियो ।

सीआईबीको रायअनुसार सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो । यही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वसभामुख कृष्णबहादुर महराको बयान पनि लिएको थियो ।

भन्सारले भेप नियन्त्रणमा लिएपछि पूर्वसभामुख महरा र उनका छोरा राहुलले पटकपटक भन्सारका कर्मचारीलाई फोन गरी छुटाउन दबाब दिएका कुरा स्विकार गरेका छन् ।

१० पुसमा फ्लाइ दुबईबाट काठमाडौं आएका चिनियाँ नागरिक ली हाङसनले ल्याएको ७३० वटा भेपभित्र ९ किलो सुन बरामद भएको थियो ।तर, सीआईबीले पूर्वसभामुख महरालाई भने प्रतिवादी नबनाई सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो ।