NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

जो दैनिक दुई सय लिटर दूध बेचेर मनग्य कमाउँछन्

घोराही । घोराही उपमहानगरपालिका-५ धर्नाका नोमबहादुर केसीले दैनिक दुई सय लिटर दूध बेच्छन् । उनी बिहानै गाउँबाट मोटरसाइकलमा दूधका क्यान झुन्ड्याएर घोराही बजारका विभिन्न ठाउँमा पुगेर दूध बेच्छन् ।

उनले विसं २०७१ बाट सुरु गरेको पशुपालन व्यवसायले राम्रो आम्दानी दिएको बताए। केसीकोे मालति बहुउद्देश्यीय पशु तथा कृषि फार्म छ । विसं २०७१ अघि दुईवटा भैँसीपालन गरेर पनि उनले साइकलबाट दूध बेचेको अनुभव सुनाए । पैतालीस वर्षीय केसी तीन वर्ष घरको कमजोर आर्थिक अवस्था सुधार्ने विचारले मलेसिया रोजगारीका लागि गए ।

मेलेसियाबाट फेर्केपछि फेरि उनी रोजगारीकै लागि भारत पनि गए । त्यहाँ पनि उनले सोचे अनुसारको कमाउन सकेनन् । त्यसकारण उनीसँग वैदेशिक रोजगारीका क्रममा कैयौँ दुःख झेलेको अनुभव छ ।

‘विदेशमा गरिने परिश्रम नेपालमा गर्न सके सफलता प्राप्त गर्न गाह्रो छैन’, उनले भने, ‘विदेशमा १८ घण्टा काम गर्छौँ, कमाइ भएको देख्छौँ, तर स्वदेशमा काम आठ घण्टा पनि गर्दैनौँ कमाइ धेरै खोज्छौँ, अनि जति कमाए पनि कमै देख्छौँ ।’ केसीले स्वदेशमै केही गर्नुपर्छ भनेर थालेको पशुपालन व्यवसायले आम्दानीसँगै तीन÷चार स्थानीय युवालाई रोजगारी दिएका छन् ।

आफनो फार्मबाट दैनिक ३० लिटर र बाँकी गाउँका अन्य किसानबाट दुध खरिद गरी बिक्री गर्छन् । उनको फार्ममा १८ भैँसी र तिनका पाडापाडी छन् । उनले केही दूध डेरी पसल र होटलमा दिनुहुन्छ भने बाँकी घरघरमा पु-याएर फुटकर बेच्छन् ।

केसी आफ्नो घरबाट निस्केपछि बाटोका चोकचोकमा किसानबाट दूध सङ्कलन गर्दै अघि बढ्छन् । ‘बिहान ३ बजे उठेर भैँसीको स्याहारसुसार गरेर अँध्यारै घरबाट निस्कन्छु, बिहान ९।३० बजेसम्म दूध बेचेर सक्छु’, उनले भने ।

उनलार्इ भैँसी र तिनका पाडापाडीको स्याहारसुसार गर्ने, दुहुने र आहारा तयार गर्ने काम गर्नुपर्छ । बिहान ५ बज्दा केसी दूध बोकेर हिँडछन् । घरका अन्य सदस्यले पनि सहयोग गर्ने गरेको उनले बताए ।

यही कामबाट आफूले मासिक रु दुई लाखसम्म आम्दानी गर्ने गरेको बताउए । उनले प्रतिलिटर रु एक सयमा दूध बेच्ने गरेका छन् । केसीले आफनै जग्गामा मौसमअनुसार घाँस लगाउँछन् । उनले पराल र भूस पनि आफ्नै जग्गाबाट उत्पादन गर्छन् । मोटरसाइकलमा दूधका क्यान बोकेर हिँड्दा ट्राफिक प्रहरीले समाउने गरेको उनले बताए ।

उनले भने, ‘धेरै पटक जरिवाना तिरेको छु, मोटरसाइकलमा यसरी बोक्ने होइन, गाडी किन्न भन्छन् ।’ तत्काल गाडी किन्न नसक्ने हुँदा समस्या भएको उहाँले बताए । किसानप्रति सम्मानको व्यवहार नभएका कारणले पनि युवा कृषिमा आकर्षित हुन नसकेको उनको भनाइ छ ।

उनले हालसम्म कतैबाट अनुदान नपाएको बताए । राज्यले वास्तविक किसानको हितमा काम गर्ने नीतिका साथ पशुपालक किसानलाई सहुलियत दिनुपर्ने उनको धारणा छ । वास्तविक किसानले अझै पनि अनुदान पाउन नसक्ने समस्या कायम रहेको उनले बताए । वैदेशिक रोजगारीबाट फर्केर कृषि क्षेत्रमा लागेका केसी उदाहरण पात्र मात्रै हुन् ।