कोशी सरकार प्रक्रियामा राप्रपा तटस्थ, घटनाक्रमलाई नजिकबाट नियाल्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले कोशी प्रदेशको सरकार गठनमा तटस्थ बस्ने निर्णय गरेको छ ।
आज बसेको पार्टी पदाधिकारी बैठकले मुख्यमन्त्रीमा दाबी पेश गरेका कसैको पनि पक्ष नलिने निर्णय गरेको हो ।
अहिलेको अवस्थामा ‘पार्टीको समर्थन कसैलाई पनि आवश्यक नपरेकाले अहिले तटस्थ बस्ने निर्णय लिएको हो’, बैठकपछि पार्टीका प्रवक्ता मोहन श्रेष्ठले भने, ‘पार्टीले कोशी प्रदेशको विषयमा गम्भीर समीक्षा पनि गर्यो ।’
देखिएका ‘घटनाक्रमलाई पार्टीले नजिकबाट नियालिरहेको भन्दै उनले आवश्यक परेको बेलामा फेरि निर्णय लिन सकिने बताए ।
कोशीको मुख्यमन्त्रीमा गठबन्धनका तर्फबाट माओवादीका ईन्द्र आङ्बो र कांग्रेसको शेखर कोइराला पक्षका केदार कार्कीले दाबी पेश गरेका छन् ।
कार्कीले एमालेका ३९सहित कांग्रेसका ८ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका छन् । प्रदेशसभामा कांग्रेसका २९ सांसद छन् । आङ्बोले पनि कांग्रेसका २९ जनाकै हस्ताक्षर रहेको बताएका छन् ।
तर कांग्रेसका ८ सांसदले आङ्बोलाई आफ्नो समर्थन नरहेको भन्दै प्रदेश प्रमुख समक्ष उजुरी दिएका छन् । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा शुक्रबार साँझ ५ बजेसम्म छ ।
प्रतिक्रिया