NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २४ गते

कोशीको विषयमा प्युठान पुगेर ओलीले के भने ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशीमा मध्यावधिमा जाँदा देशले ठूलो आर्थिक भार खेप्नुपर्ने देखिएकाले त्यसलाई रोक्न एमालेले कांग्रेस बिद्रोहलाई समर्थन गरेको बताएका छन् ।

प्युठानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरु जोसुकैलाई समर्थन गरेर भए पनि कोशीलाई मध्यावधिबाट जोगाउने पक्षमा रहेको बताए ।

‘देशको आर्थिक अवस्था नाजुक छ, मध्यावधिमा जाँदा देशलाई ठूलो खर्च हुने देखेर मध्यावधि जोगाउन कांग्रेस विद्रोहलाई समर्थन गर्‍यौं,’ ओलीले भने ।

‘तेस्रो भएको माओवादीलाई जताततै बोकेर हिँडेपछि सबैतिर कांग्रेसका नेता कार्यकर्ता आक्रोशित भएकोसमेत उनले बताए । उनले कांग्रेसका नेताहरुले प्रचण्डले भनेको मात्रै गरेपछि यस्तो परिस्थिती बनेको पनि बताए ।

उनले केन्द्र र प्रदेशमा सत्ताका लागि भएको अपवित्र गठबन्धनको सबैतिर संघीयताको वितृष्णा जगाएको बताए ।

‘कोशीमा हेर्नुस् कतिपटक किर्ते गरे, कति प्रदेशमा भागवण्डा पुर्याउन मन्त्रालय थपे, को को लाई कानून विपरीत नियुक्त गरे,’ ओलीले भने, ‘अनि यो प्रणालीमाथि वितृष्णा फैलिँदै गएको हो, यो सत्तारुढ गठबन्धनकै कारण भएको हो ।’

कोशी प्रदेशमा नेपाली कांग्रेस शेखर कोइराला समूहका ८ जनाले विद्रोह गरेर एमालेका सांसदको समेत समर्थनमा केदार कार्की मुख्यमन्त्री भएका छन् ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेसबाट १ र नेकपा एमालेबाट १ जना मन्त्रीलाई आइतबार नियुक्त गरेर मन्त्रिमण्डल गठन गरिसकेका छन् । कार्कीले सुरुमा प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष शपथ लिए लगत्तै दुई मन्त्री नियुक्त गर्दै शपथ गराए ।

एमालेबाट राम राना र कांग्रेसबाट शमशेर राईलाई कार्कीले मन्त्रीको शपथ गराएका हुन् । राई र रानाको मन्त्रालय भने तोकिएको छैन। कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन्।

 

ताजा अपडेट

नेपालवाच विशेष