एमालेका सबै जिल्ला कमिटीको अधिवेशन माघ महिनाभित्र गर्ने निर्णय

काठमाडौं । नेकपा (एमाले) ले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ ।
पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको एमाले सङ्गठन विभागका सचिव माधवप्रसाद ढुङ्गेलले जानकारी दिए । एमालेले भर्खरै मात्रै सात प्रदेश कमिटीको अधिवेशन सम्पन गरेको छ ।
पार्टीले सबै जिल्ला र पालिका तहलाई माघसम्म सम्पन्न गर्ने गरी कार्ययोजना बनाउनसमेत निर्देशन दिएको उनले बताए । यस्तै, पार्टीका जनसङ्गठनको प्रदेश तथा जिल्ला तहका अधिवेशन आगामाी मङ्सिर र वडा कमिटीको अधिवेशन चैत मसान्तभित्र आयोजना गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
पार्टीले वडा कमिटीको अधिवेशनसँगै पुनः फागुन र चैत्रमा पार्टी सदस्यता नवीकरण अभियान सञ्चालन गर्ने भएको छ । गत साउनमा गरिएको पार्टी सदस्यता अभियान र नवीकरणमा करिब पाँच लाख ५० हजार पार्टी सदस्यता पुगेका छन् ।
केन्द्रीय सङ्गठन विभागबाट प्रमाणीकरण गरिएको नवीकृत सदस्यहरूको सूचीमा रहेका पार्टी सदस्यले मात्र स्थानीय पार्टी अधिवेशनको प्रक्रियामा सहभागी हुन पाउनेछन् ।
यस्तै साउनदेखि रोकिएको सदस्यता स्थानान्तरण कार्यलाई पनि खुला गर्ने निर्णय गरेको विभागका सचिव ढुङ्गेलले जानकारी दिए । सदस्यता स्थानान्तरण गर्न चाहने सदस्यले सम्बन्धित जिल्लाको अधिवेशनको मिति नतोकिँदासम्म आफ्नो सदस्यता स्थानान्तरण गर्न पाउनेछन् ।
यसैगरी, पार्टीले विभिन्न कारणले कारबाहीमा परेकालाई लिखित रुपमा आत्मालोचना गरेको अवस्थामा पार्टी काममा फर्काउने समेत निर्णय गरेको उनले बताए ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया