NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी इन्डोनेसियामा

एजेन्सी । पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थीले भरिएको तीन वटा डुंगा आइतबार इन्डोनेसियाको सबैभन्दा पश्चिम प्रान्तमा आइपुगेको संयुक्त राष्ट्रसङ्घीय एजेन्सी (युएनएचसिआर) ले बताएको छ ।

सन् २०१७ मा म्यान्माद्वारा अल्पसङ्ख्यक रोहिङ्ग्या समूहमाथि सैन्य कारबाही सुरु गरेपछिको यो सबैभन्दा ठूलो आगमनमध्येको एक हो । अधिकांश मुस्लिम रोहिङ्ग्याले म्यान्मामा व्यापक उत्पीडनको सामना गर्नुपरेको छ र उनीहरू प्रत्येक वर्ष आफ्नो ज्यानलाई जोखिममा राखेर प्राय कमजोर डुङ्गामा मलेसिया वा इन्डोनेसियासम्म पुग्ने प्रयासमा लामो र महङ्गो समुद्री यात्रा गर्छन् ।

राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी संरक्षण सहयोगी फैसल रहमानले एउटा डुङ्गा आचे प्रान्तको बिरेयुन जिल्लामा दुई सय ५६ रोहिङ्ग्या लिएर आइपुगेको र अर्को कम्तीमा दुई सय ३९ बोकेर आचेको पिडी क्षेत्रमा आइपुगेको थियो । त्यस्तै ३६ जना बोकेको अर्को सानो डुङ्गा पूर्वी आचेमा आइपुगेको थियो ।

‘उनीहरूलाई धेरै स्थानमा पाइएको छ’, उनले भने । बिरेयुन डुङ्गामा सवार दुई सय ५६ मध्ये एक सय १० महिला र ६० जना बालबालिका रहेको उनले बताए ।

रहमानका अनुसार त्यो त्यही डुङ्गा थियो जसलाई स्थानीय बासिन्दाहरूले समुद्रमा धकेलेका थिए । त्यसपछि उक्त डुङ्गा कयौँ दिनसम्म समुद्री तटमा अलपत्र परेको थियो । स्थानीय अधिकारीहरूका अनुसार पछिल्लो आगमनसँगै यो एउटै सातामा आठ सयभन्दा बढी शरणार्थी आचे प्रान्तमा आइसकेका छन् ।

मङ्गलबार एक सय ९६ र बुधबार एक सय ४७ शरणार्थी आएका थिए ।  युएनएचसिआरका अनुसार दुई हजारभन्दा धेरै रोहिङ्ग्याले सन् २०२२ मा दक्षिणपूर्वी एसियाली मुलुकहरूको जोखिमपूर्ण यात्राको प्रयास गरेका छन् । गत वर्ष खतरनाक समुद्र पार गर्ने प्रयासमा करिब दुई सय रोहिङ्ग्या मारिएको वा हराएको युएनएचसिआरले बताएको छ ।