NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

भाडामा बस्दै आएको काठमाडौं प्लाजा नै किन्ने तयारीमा महानगर

काठमाडौं । मासिक ६० लाख ५० हजार भाडा तिर्ने गरी नेपाल ट्रस्टको भवन काठमाडौं प्लाजामा बसाइँ सरेको काठमाडौं महानगरपालिकाले सोही भवन नै किन्ने तयारी गरेको छ । काठमाडौं प्लाजाबाट महानगरका सबै विभाग तथा शाखा, महाशाखाहरू सञ्चालन गर्न सहज हुने र एकै भवनबाट सेवा प्रवाह गर्न सकिने भन्दै महानगरले सो भवन खरिद गर्ने तयारी गरेको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकले प्रकाशन गरेको छ ।

हाल रेट्रोफिटिङ प्रक्रिया अघि बढेको सुन्धारास्थित बागदरबार तयार भइसके पनि त्यहाँ महानगरका सबै कार्यालय अट्दैनन् । सबै कार्यालय अटाउन काठमाडौं प्लाजा नै उपयुक्त देखिने निष्कर्षसहित त्यसलाई आफ्नै बनाउन मेयर बालेन्द्र साह नै अघि बढेको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । उनका अनुसार काठमाडौं प्लाजा किन्ने विषयमा नेपाल ट्रस्ट र संघ सरकारसँग छलफल भने भइसकेको छैन ।

‘पहिले यत्रतत्र रूपमा महानगरका कार्यालय छरिएका थिए, त्यति वेला सेवाग्राही, कर्मचारी र जनप्रतिनिधिलाई काम गर्न निकै सकस थियो,’ प्रवक्ता मानन्धरले भने, ‘अहिले एउटै भवनमा सबै कार्यालय अटेका छन्, यो भवन नै हामीले किन्ने सोच बनाएका छौँ ।’ १ साउनदेखि काठमाडौं प्लाजा भाडामा लिएर बसाइँ सरेको महानगरपालिकाका सबै विभाग, शाखा र महाशाखाहरू त्यहाँ अटाएका छन् । काठमाडौं प्लाजा नेपाल सरकारकै भवन भएकाले खरिद गर्न सहज हुने प्रवक्ता मानन्धरले बताए ।

हाल काठमाडौं प्लाजालाई महानगरले मासिक ६० लाख ५० हजार रुपैयाँ भाडा तिर्छ । उक्त भाडा निकै चर्को भएकाले आफ्नै भवनमा बस्न महानगरलाई धेरैले सुझाव दिएका थिए । तर, मेयर साहले कार्य सम्पादनलाई व्यवस्थित बनाउन एउटै भवन आवश्यक रहेको भन्दै काठमाडौं प्लाजा भाडामा लिने सम्झौता गरेका थिए ।

सेवा एकीकृत गर्न भन्दै ०७७ मा मन्त्रिपरिषद् निर्णयबाट नेपाल ट्रस्टको काठमाडौं प्लाजा भाडामा दिने निर्णय भएको थियो । ०७२ को भूकम्पपछि महानगरको प्रशासनिक सेवा सुन्धारास्थित जेडिए कम्प्लेक्सबाट सञ्चालन भइरहेको थियो । कम्प्लेक्सलाई महानगरले मासिक १८ लाख रुपैयाँ भाडा तिर्दै आएको थियो ।

तर, गत १ साउनदेखि भने उक्त भवन महानगरले छाडेको थियो । काठमाडौं प्लाजामा सबै विभाग, शाखा, महाशाखा अटेका छन् भने क्यान्टिन पनि यसभित्र बनाउन दिने तयारी गरिएको छ ।

यस भवनमा ७० वटा चारपांग्रे र सयवटा मोटरसाइकल पार्किङ गर्न मिल्छ । भवनसँगैको दुई रोपनी खाली जग्गा पनि महानगरले प्रयोग गरेको छ । त्यस्तै, टुकुचा खोलाको नजिकै रहेका अन्य साना सरकारी भवन पनि महानगरले नै प्रयोग गर्ने सम्झौता गरिसकेको छ ।

बागदरबारस्थित कार्यालय पनि २६ वर्षअघि लिएको थियो महानगरले
हाल महानगरपालिकाको कार्यालय रहेको बागदरबार पनि विगतमा काठमाडौं महानगरको नाममा थिएन । ०५४ मा टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग बागदरबार साटासाट गरिएको थियो । तत्कालीन समयमा मेयर केशव स्थापित थिए । काठमाडौं प्लाजाको भवन पनि कुनै अन्य संरचनासँग साटेर लिने योजना महानगरको छ । महानगरले टेकुमा निर्माणाधीन भवन र न्युरोडको सांस्कृतिक भवन केन्द्र सरकारलाई दिएर काठमाडौं प्लाजा लिन खोजिरहेको छ ।