NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

दाङमा धान उत्पादन बढ्यो

दाङ । दाङमा यसवर्ष धान उत्पादन वृद्धि भएपछि खुसी भएका छन् । समयमै वर्षा भएकाले धान समयमा नै रोप्न पाउँदा जिल्लामा धान उत्पादनमा वृद्धि भएको किसानको भनाइ छ ।

यस वर्ष गत वर्षको तुलनामा नौ दशमलव ७५ प्रतिशत धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । गतवर्ष एक लाख ५३ हजार चार सय ६३ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष एक लाख ५८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कार्यालयले जनाएको छ ।

घोराही उपमहानगरपालिका–६ का मङ्गल चौधरीले समयमा पानी परेकाले धान समयमै रोप्न पाएपछि विगत भन्दा यस पटक धान उत्पादनमा बढेको बताए ।

‘यसवर्ष ब्याड राखेको समयमै रोप्ने वातावरण बन्यो । पानीको समस्या नभएकाले रोपाइँ समयमा भएको थियो’, उनले भने, ‘हाइब्रिड धान रोपेका थियौँ । त्यसैले पनि धान उत्पादनमा वृद्धि भएको हो ।’

घोराही–५ धर्नाका मनोज चौधरीले ‘युएस तीन सय १२’ जातको धान लगाएका थिए। ‘गतवर्ष १५ कट्ठा खेतमा ६० मुरी धान फलेकामा यसवर्ष सोही जमिनमा ७० मुरी धान फलेको छ’, उनले भने, ‘गतवर्ष उत्पादन भएको धाएर सकिएको थियो । यसवर्ष पाँच क्विन्टल बिक्री गरेको छु । समयमा रोपाइँ गरेकाले धान उत्पादन बढेको हो ।”

रोपाइँ गरेदेखि पसाउँदासम्म धानलाई आवश्यक मात्रामा पानी पुगेकाले उत्पादन बढेको मनोजको भनाइ थियो । हाईब्रिड जातको बीउ, समयमा पानी पर्नु, मल समयमा पाउनुलगायत कारणले उत्पादन बढेको केन्द्रले जनाएको छ ।

जिल्लामा यस वर्ष ३५ हजार दुई सय ८० हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएकामा नौ दशमलव ७५ प्रतिशतले उत्पादनमा वृद्धि आएको केन्द्रका कृषि अर्थविज्ञ एवम् सूचना अधिकारी पृथ्वीराज लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष प्रति हेक्टर पाँच मेट्रिक टन धान उत्पादन भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष