इजरायल र हमासबीच युद्धविराम : के हुँदैछ विपिन जोशी रिहाइको पहल ?
काठमाडौं । नेपाल सरकारले गाजा क्षेत्रमा इजरायल र हमास समूहबीच भएको युद्धविराम सम्झौताको स्वागत गर्दै नेपाली नागरिक विपिन जोशीको तत्काल रिहाइका लागि आग्रह गरेको छ । बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी गाजामा बन्दीहरूको रिहाइ तथा मानवीय सामग्रीको आपूर्तिका लागि मार्गप्रशस्त गर्ने सम्झौताको स्वागत गरेको हो । यो समाचार हामीले नयाँ पत्रिका दैनिकबाट लिएका हौँ ।
नेपालले यो सम्झौतामा पुग्न प्रयास गरेका कतार, अमेरिका र इजिप्टको प्रशंसा गरेको छ । ‘नेपाली नागरिक विपिन जोशीको तत्काल रिहाइका लागि नेपाल सरकार आह्वान दोहोर्याउन चाहन्छ,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी कञ्चनपुरका जोशी २० असोजदेखि गाजा क्षेत्रमा हमास समूहको नियन्त्रणमा रहेको पुष्टि भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले बिहीबार नेपालका लागि इजरायलका राजदूत हनान गोदरसँग जोशीलाई पहिलो चरणमै रिहाइका लागि प्रयास गर्न अनुरोध गरेका छन् । पहिलो चरणमा हमासको नियन्त्रणमा रहेका ५० जनालाई मुक्त गर्ने सहमतिअनुसार जोशीलाई पनि त्यही सूचीमा राख्न परराष्ट्रमन्त्रीले अनुरोध गरेका छन् ।
‘परराष्ट्रमन्त्रीले उपलब्ध सबै कूटनीतिक च्यानलहरूमार्फत विपिन जोशीको सकुशल रिहाइका लागि प्रयास जारी राख्नुभएको छ । यही सिलसिलामा इजरायलका राजदूतलाई बोलाएर छलफल भएको हो,’ परराष्ट्रमन्त्री साउदका स्वकीय सचिव दीपक जोशीले भने । परराष्ट्रमन्त्री साउदले शुक्रबार कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल मुराइखीसँग पनि जोशीको रिहाइका विषयमा चासो राख्नेछन् ।
कतारी राज्यमन्त्री मुराइखी बिहीबार नेपाल आएका छन् । यसअघि कतारका राजाको नेपाल भ्रमणको तयारी भएकोमा इजरायल–प्यालेस्टाइन द्वन्द्वका कारण उनको भ्रमण पछि सरेको थियो । परराष्ट्रमन्त्री साउदले यसअघि पनि कतारी राज्यमन्त्रीलाई जोशीको रिहाइका लागि प्रयास गर्न अनुरोध गरेका थिए । प्यालेस्टाइनको हमास समूहसँग कतार, इजिप्ट र इरानको राम्रो सम्बन्ध छ ।
कतारी राज्यमन्त्रीले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि शिष्टाचार भेट गर्दै छन् भने उनले परराष्ट्र सचिव भरतराज पौड्यालसँग औपचारिक वार्ता गर्दै छन् । ‘कतारका राज्यमन्त्रीसँग सबै भेटहरूको पहिलो एजेन्डा विपिन जोशीको रिहाइ हुन्छ । दोस्रो एजेन्डा कतारका राजाको नेपाल भ्रमण हुनेछ,’ परराष्ट्र स्रोतले भन्यो ।
ताजा अपडेट
-
प्रधानमन्त्रीको विश्वासको मत संकटमा !
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
प्रतिक्रिया