‘चीनले विदेशी कम्पनीहरूको अधिकार र बौद्धिक सम्पत्तिको रक्षा गर्नुपर्छ’

एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङले अन्तर्राष्ट्रिय कम्पनीहरूको अधिकार र बौद्धिक सम्पत्तिका लागि व्यापक सुरक्षाको आदेश दिएको सरकारी मिडियाले मङ्गलबार बताएको छ ।
बेइजिङले कठोर कारवाही र बिरामी अर्थतन्त्रबाट प्रभावित विदेशी कम्पनीहरूलाई प्रलोभनमा पार्ने काम गरिरहेको बेला राष्ट्रपति सीको उक्त आदेश आएको हो ।
भू–राजनीति, जासुसी विरोधी कानून, बहुराष्ट्रिय कम्पनीहरूमाथि छापा र घरेलु प्रतिस्पर्धीका लागि अनुकूल व्यवहारले मनोबलमा असर पारेको भन्दै चीनमा अमेरिकी र युरोपेली कम्पनीहरूले व्यापार गर्न पहिलाभन्दा धेरै नै कठिन भएको बताएका छन् ।
अब बेइजिङले विदेशी कम्पनीहरूलाई फिर्ता लाउने कोसिस गरिरहेको छ । यसै महिना एपीइसीका प्रमुख कार्यकारीहरूको शिखर सम्मेलनमा राष्ट्रपति सीले एक लिखित सम्बोधनमा कम्पनीहरूलाई लगानी गर्न निमन्त्रणा गर्दै ‘विदेशी कम्पनीहरूका लागि चीनमा लगानी र सञ्चालनलाई सहज बनाउनका लागि’ आनन्ददायी उपायको वाचा गरे ।
साथै मुलुकको शीर्ष निर्णय लिने निकाय चीनको कम्युनिष्ट पार्टी पोलिटब्यूरोको सोमबारको बैठकमा उहाँले चीनले विदेशी संस्थाहरूसँग ‘व्यापक, खुला र पारदर्शी’ कानूनी व्यवहार सुनिश्चित गर्नुपर्ने बताउनुभएको सरकारी प्रसारक सिसिटिभीले बताएको छ ।
‘चीनको कानूनी प्रणालीले बौद्धिक सम्पत्ति अधिकारहरूको सुरक्षालाई बलियो बनाउनुपर्छ, साथै विदेशी उद्यमहरूको वैध अधिकार र हितको रक्षा गर्नुपर्छ’, उनले भने, ‘बेइजिङले बजार उन्मुख, कानूनी र अन्तर्राष्ट्रिय प्रथम श्रेणीको व्यापारिक वातावरण सिर्जना गर्नुपर्छ ।’
चीनमा अस्पष्ट तथा स्वेच्छाचारी नियमका बारेमा विदेशी उद्यमहरूले लामो समयदेखि गुनासो गर्दै आएका छन् । उनीहरूले बौद्धिक सम्पत्तिको चोरी मुख्य गुनासो रहेको बताएका छन् । यसै वर्ष चीन भ्रमणका क्रममा अमेरिकी अधिकारीहरूले बौद्धिक सम्पत्तिको चोरीको मुद्दा उठाएका थिए ।
सुस्त वृद्धि र भूराजनीतिक तनावले लगानीको सम्भावनालाई प्रभावित गरेको भन्दै अमेरिकी र युरोपेली उद्यम लबीले सेप्टेम्बरमा चीनमा विदेशी व्यापारको विश्वास वर्षौैंमा सबैभन्दा न्यूनस्तरमा पुगेको चेतावनी दिएका थिए । यद्यपि अमेरिका–चीनको बढ्दो व्यस्तता र यसै महिना सी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको भेटवार्तापछि यी विषयमा सुधार हुनसक्ने सङ्केत व्यापारिक लबीले पाइरहेका छन् ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया