NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

दक्षिण अफ्रिकाको प्लाटिनम खानीमा लिफ्ट खस्दा ११ जनाको मृत्यु

एजेन्सी । दक्षिण अफ्रिकाको एउटा विशाल प्लाटिनम खानीमा मजदुरहरूलाई सतहमा लैजाँदै गरेको एउटा लिफ्ट नियन्त्रण बाहिर गएर खस्दा ११ जनाको मृत्यु र ७५ जना घाइते भएको खानी सञ्चालकहरूले मङ्गलबार बताएका छन् ।

इम्पाला प्लाटिनमले सोमबार जोहानेसबर्गको उत्तरपश्चिममा रस्टेनबर्ग खानीमा ‘विनाशकारी दुर्घटना’ भएको बताएको छ । त्यतिबेला ८० भन्दा बढी मजदुरले आफ्नो सिफ्टको अन्त्यमा मार्ग बनाउँदै थिए ।

कम्पनीका अनुसार स्थानीय समयअनुसार लिफ्ट अप्रत्याशितरूपमा तल ओर्लन लागेपछि साँझ ५ बज्नुभन्दा पहिला चेतावनी जारी गरिएको थियो । ‘कन्भेन्स काउन्टरवेटको ज्याक क्याचमा फसेका कारण लिफ्टको द्रुत अवतरण रोकियो’, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ज्याक क्याच एउटा सुरक्षा प्रणाली हो जसको उद्देश्य दुर्घटनाको स्थितिमा लिफ्ट र भूमिगत रेलहरूलाई पछाडि जानबाट रोक्नु हो ।

‘यो विनाशकारी दुर्घटनामा जीवन गुमाउने र प्रभावित व्यक्तिहरूका लागि हाम्रो मुटु हृदय भारी भएको छ’, इम्पाला प्लाटिनम (इम्प्लाट्स) का प्रमुख कार्यकारी निको मुलरले भने, ‘हामी आफ्ना सहकर्मीहरू गुमाउँदा स्तब्ध भएका छाैं र निकटका सबै आफन्तसँग सम्पर्क गर्न सकियोस् भनी सुनिश्चित गर्ने प्रक्रियामा छौँ ।’

कम्पनीले ७५ मजदुर घाइते भएको र उनीहरूलाई स्थानीय अस्पतालहरूमा उपचारका लागि भर्ना गरिएको बताएको छ । इम्प्लाट्सका प्रवक्ता जोहान थेरोनले केही मजदुर गम्भीर घाइते भएको बताए । उनका अनुसार अधिकांशको घुँडा र खुट्टा भाँच्चिएको तथा अन्यलाई सामान्य चोट लागेको छ ।

उद्धार कार्य सकिएको र सबै ८६ मजदुरको अवस्था पत्ता लागेको विज्ञप्तिमा उल्लेख छ । दुर्घटनाको अनुसन्धान सुरु भएका कारण मङ्गलबार खानीमा सबै काम रोकिएको छ ।

‘इम्प्लाट्स सेवामा हराएकाहरूको परिवार र सहकर्मीहरूलाई निरन्तर सहयोग गरिँदैछ’, मुलरले भने, ‘हामी अविश्वसनीयरूपमा कठिन समयमा आफ्ना घाइते सहयोगीहरूका बारेमा पनि ध्यान दिनेछौँ ।’

दक्षिण अफ्रिका प्लाटिनमको विश्वको अग्रणी उत्पादक मुलुक हो । यो मुलुकमा खानी दुर्घटनाहरू सामान्य मानिन्छ । यहाँ हजारौँ मानिस खानी उद्योगमा काम गर्छन् ।

दक्षिण अफ्रिकामा सबैभन्दा गहिरा खानीहरू छन् र यो सुन, हिरा, कोइला र अन्य कच्चा सामग्रीको प्रमुख निर्यातक हो । धेरै गहिरा खानीमा लिफ्ट छन् र यिनले एकै समयमा एक सयभन्दा बढी मानिसलाई लैजान सक्छन् ।

प्रत्येक वर्ष दर्जनौँ खानी मजदुर मारिन्छन् तर पछिल्लो दुई दशकमा सुरक्षा मापदण्ड बढाइएकाले मर्नेहरूको सङ्ख्यामा कमी आइरहेको छ । सरकारी आँकडाअनुसार सन् २०२२ मा खानी दुर्घटनामा करिब ५० जनाको मृत्यु भएको थियो ।

सन् २०२१ मा सोही रस्टेनबर्ग इम्प्लाट्स खानीमा एउटा मार्गमा हिलो खसेपछि थुप्रै खानी मजदुरको मृत्यु भएको थियो । सन् १९६० मा कोलब्रुक प्रकोपमा चार सय ३० भन्दा बढी कोइला खानी मजदुरको मृत्यु भएको थियो ।