NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

एनसेलबाट आजियाटाले सेयर बिक्री गर्ने निर्णयविरुद्ध रिट

काठमाडौं । एनसेलबाट आजियाटाले सेयर बिक्री गर्ने निर्णयविरुद्ध उच्च अदालत पाटनमा रिट दायरा भएको छ । यो रिटमा अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको छ  । धितोपत्र बोर्डमा सूचीकृत भएर सेयर बेच्नुपर्ने व्यवस्था भए पनि त्यसो नगरी आजियाटाले सेयर बेच्ने निर्णय गरेको भन्दै गोकुलबहादुर रोकायाले रिट दर्ता गरेका थिए । एनसेल पब्लिक कम्पनी भएकाले बोर्डमा सूचीकृत नभएको वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बताए । त्यस्तै रिटमा पुँजीगत लाभकर छली गर्ने उद्देश्यले सेयर बिक्री गर्न खोजिएको दाबी गरिएको उनको भनाइ छ ।

कम्पनी रजिस्ट्रारको कार्यालयलाई विपक्षी बनाई परेको रिटमा न्यायाधीश दीपेन्द्र अधिकारीले दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएका हुन् । अदालतले मंसिर २५ गतेको पेसी तोकेको छ । साथै, निवेदकको मागअनुसारको आदेश दिनुनपर्ने कारण भए १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत उच्चको आदेशमा भनिएको छ ।

एनसेल नेपाल धितोपत्र बोर्डमा सूचीकृत भई सार्वजनिक खरिद बिक्रिका लागि सेयर निष्काशन नगरे सम्म एनसेलको सेयर बिक्रि वितरण वा हस्तान्तरण गर्न नपाउने निवेदकको दाबी छ । यसका लागि अन्तरिम आदेशको समेत माग भएको छ ।

एनसेल पब्लिक लिमिटेडमा रुपान्तरण भएपछि एनसेलको कुनै पनि सेयर होल्डरले नेपाल धितोपत्र बोर्डमा दर्ता नगरी सेयर बिक्रि, वितरण, हस्तान्तरण गर्न नपाउने रिटमा उल्लेख छ ।

‘विगतमा जसरी विदेशमा एनसेलको सेयर बेच्ने, पुँजीगत लाभकर नतिर्ने र राज्यलाई गुमराहमा राख्ने कार्य भएको थियो र सो बिषय अदालतमा उठाउनु परेको थियो,’ रिट निवदेनमा भनिएको छ, ‘त्यसरी नै हाल पब्लिक लिमिटेड भए पश्चात पनि केवल २ जना मात्रै शेयर धनि कायम गरी फेरी एनसेल र एनसेलको सेयर भित्र भित्रै बिदेशमा बेच बिखन गर्न ठुलो चलखेल हुन्थालेको कुरा सार्वजनिक भएको छ ।’

पाँच करोड भन्दा बढी चुक्ता पुँजी भएको दूरसञ्चार सेवा प्रदायक कम्पनीले २ वर्षभित्र पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्नु पर्ने अनिवार्य व्यवस्था छ । तर एनसेलले निर्धारित अवधिभित्र आफुलाई पब्लिक लिमिटेडमा रुपान्तरण गरेन । बरु निजी कम्पनीको रुपमा विदेशमा शेयर खरिद बिक्रि गरी पूँजीगत लाभकरबाट राज्यलाइ बन्चित गर्ने कार्य गरेको रिटमा उल्लेख छ । कम्पनी ऐनमा तोकिएको अवधिभित्र पब्लिक लिमिटेडमा परिणत गर्न लगाई सर्वसाधरणको पहुँचका लागि शेयर बिक्रि वितरण खुल्ला गर्नु गराउनु पर्ने दायित्व र जिम्मेवारी एनसेलको रहेको रिटमा भनिएको छ ।

आजियाटा समूहले एनसेलमा रहेको आफ्नो सेयर हिस्सा पाँच करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोड नेपाली रुपैयाँमा बिक्री गरेको बताएको छ । सन् २०१६ मा एक अर्ब ३६ करोड ५१ लाख डलर ९तत्कालीन समयको विनिमय दरअनुसार करिब एक खर्ब ४३ अर्ब रुपैयाँ०मा टेलियासोनेरासँग ८० प्रतिशत सेयर खरिद गरेर आजियाटा एनसेलमा भित्रिएको थियो । आजियाटाले खरिद गरेको मूल्यको अत्यन्तै कम मूल्यमा एनसेलको स्वामित्व बिक्री गर्दै बाहिरिएको छ । यो समाचार हामीले आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौँ ।

ताजा अपडेट

नेपालवाच विशेष