बर्दियाका विवेकलाई छाड्न युक्रेनले राख्यो यस्तो सर्त !
काठमाडौं । युक्रेनले रुसी सेनामा कार्यरत बर्दियाका विवेक खत्री मात्रै युक्रेनी सेनाको नियन्त्रणमा रहेको पुष्टि गरेको छ । तर, उनलाई नेपालमा पनि आपराधिक मामिलामा जेलमा राख्न नेपाल सरकार तयार भए मात्र रिहाइको प्रक्रिया अघि बढाउन सकिने सर्त राखेको छ ।
नेपालले खत्री र काभ्रेका सिद्धार्थ ढकालको रिहाइका लागि कूटनीतिक प्रयास गरेकामा युक्रेन सरकारले यस्तो सन्देश पठाएको हो । उसले ढकालको गिरफ्तारीबारे भने अहिलेसम्म आधिकारिक पुष्टि गरेको छैन ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार युक्रेनले रुसी सेनामा कार्यरत रहेका अन्य विदेशी नागरिक पनि आफ्नो नियन्त्रणमा रहेको र उनीहरू सबैलाई रिहा गर्नुपर्ने दबाब रहेको उल्लेख गर्दै नेपालीलाई मात्रै विनासम्झौता छाड्न नसकिने सन्देश पठाएको छ । ‘खत्रीलाई अपराधीका रूपमा नेपालले स्वीकार गर्ने र उनलाई जेलमा राख्ने सर्तसहित नेपाल र युक्रेनबीच समझदारीपत्र (एमओयू) हुनुपर्ने युक्रेनको प्रस्ताव आएको रहेछ । यसमा के गर्ने भन्ने निर्क्यौल गर्न बाँकी छ,’ परराष्ट्रका एक अधिकारीले नयाँ पत्रिकासँग भने । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि यसबारे जानकारी गराइसकेको छ ।
जानकार स्रोतका अनुसार रुसी सेनामा भर्तीका लागि नेपालीहरू रुस गएको विषयमा युक्रेनले असन्तुष्टि जनाएको छ । ‘उनीहरूले नेपालको नीति के हो भनेर सोधेका रहेछन्, नेपालले रुसी सेनामा भर्ती हुन निरुत्साहित गरेको र रुसलाई पनि भर्ती भएका नेपालीलाई फिर्ता गर्न आग्रह गरिसकेको जानकारी गराएको छ,’ परराष्ट्रका एक उच्च अधिकारीले भने, ‘युक्रेनमा रुसले हमला गरेकामा नेपालले विरोध जनाएको, बेलायत र भारतमा बाहेक विदेशी सेनामा भर्ती गर्ने नेपाल सरकारको नीति नरहेको भनेर हामीले जवाफ दिएका छौँ ।’ बर्दियाका खत्री असोज अन्तिम सातादेखि र काभ्रेका ढकाल मंसिर दोस्रो सातादेखि युक्रेनी सेनाको नियन्त्रणमा छन् ।
यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया