NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

फिलिपिन्सले गर्‍याे १८० चिनियाँलाई देश निकाला 

एजेन्सी । फिलिपिन्सले राजधानी मनिलामा यौन बेचबिखन र अनलाइन घोटालाको आशङ्कामा छापा मारेर पक्राउ परेका एक सय ८० चिनियाँलाई बिहीबार देश निकाला गरेको अधिकारीहरूले बताएका छन् ।

अक्टोबरमा गरिएको कारबाहीका क्रममा एउटा परिसरभित्र भेटिएका करिब छ सय मानिसमा चिनियाँ, कोरियाली, भियतनामी र फिलिपिनो रहेका थिए । सेक्स खेलौना, एउटा मसाज पार्लर, साङ्गीतिक धुनसँग गीत गाउने कोठा र एउटा रेस्टुरेन्ट एक व्यवसायद्वारा सञ्चालित उक्त भवनमा फेला परेको थियो । उक्त व्यवसायले इन्टरनेट गेमिङ कम्पनीका रूपमा इजाजत प्राप्त गरेको अधिकारीहरूले बताएका छन् ।

छापा मार्ने क्रममा धेरै महिलाको ‘उद्धार’ गरिएको प्रहरीले बताएको छ । राष्ट्रपतिको सङ्गठित अपराधविरोधी आयोगका उपसचिव गिल्बर्टो क्रुजले एएफपीलाई भने, ‘चिनियाँ नागरिकसँग वर्क परमिट (काम गर्ने अनुमति) थिएन र उनीहरू ‘अनलाइन घोटालामा’ संलग्न थिए ।’ छापामा पक्राउ परेका थप विदेशीहरूलाई आगामी साताहरूमा देश निकाला गरिने उनले जानकारी दिए।

एसिया–प्रशान्त क्षेत्रमा इन्टरनेट घोटालाहरूबारे अन्तर्राष्ट्रिय चिन्ता बढिरहेको छ । यसमा प्राय तस्करीका पीडितहरूलाई धोका दिइन्छ र फर्जी क्रिप्टो लगानीलाई बढावा दिनका लागि बाध्य पारिन्छ ।

फिलिपिन्सका सिनेटर रिसा होन्टिभेरोसले फिलिपिन्समा ‘घोटाला कल सेन्टर’ सञ्चालन भइरहेको र मुलुकमा बेचबिखन गरी ल्याइएका विदेशीहरूलाई ती कल सेन्टरले रोजगारी दिन्छन् भनेर यसअघि नै चेतावनी दिएका थिए ।

अमेरिकी विदेश मन्त्रालयले उसको सन् २०२३ मानव तस्करी प्रतिवेदनमा फिलिपिन्सले मुलुकभित्र हुने गरेको श्रम तस्करी अपराधहरूको कडा अनुसन्धान वा मुद्दा चलाएको छैन भनेको छ । ‘भ्रष्टाचार र तस्करीको अपराधहरूमा आधिकारिक संलग्नता महत्त्वपूर्ण चिन्ताको विषय बनेको छ’, प्रतिवेदनमा भनिएको छ ।