NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

टेलिकमको नयाँ प्रिपेड सिमकार्डमा यस्ता छन् सुविधा

काठमाडाैं । टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा (First Call Activation) उपलब्ध हुने विभिन्न निःशुल्क सुविधा थप हुने भएको छ ।  त्यसैगरी कक्षा ८ देखि माथिका विद्यार्थीलाई समेत नयाँ सिम उपलब्ध गराइने छ भने रिचार्ज गर्दा पाइने बोनस सुविधा समेत थप गरिएको टेलिकमले जनाएको छ ।

नयाँ सिममा थप सुविधा

टेलिकमका अनुसार ९० रूपैयाँमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्डमार्फत ३०० एमबी डाटा चलाउन, ४० मिनेट कल गर्न र २० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध भइरहेको छ । तर अब सो सिमकार्डमार्फत १ जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने छ ।

यी सबै सुविधा ३० दिन सम्म प्रयोग गर्न सकिने छ । पहिले जस्तै यसमा रु. १० ब्यालेन्स समेत उपलब्ध हुनेछ ।

कक्षा ८ देखि माथिका विद्यार्थीलाई सिम

कक्षा ८, ९ र १० का विद्यार्थीलाई समेत निजको अभिभावकको नागरिकता र सम्बन्धित विद्यालयद्वारा जारी गरिएको परिचय पत्रको आधारमा रु. ९० मा प्रिपेड सिमकार्ड उपलब्ध हुनेछ । सो सिमकार्डमा समेत नयाँ सुविधा उपलब्ध हुनेछ ।

नयाँ सिमकार्डमार्फत १ जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने छ । सो सिमकार्डमा पनि रु. १० ब्यालेन्स हुनेछ ।

डाटा बोनस

विभिन्न दरका एमपोस तथा फिजिकल रिचार्ज कार्डमार्फत प्रिपेड तथा पोस्टपेड मोबाइलमा रिचार्ज गर्दा डाटा बोनस पनि उपलब्ध गराइने भएको छ । अब रु. १०० को रिचार्ज गर्दा समेत डाटा बोनस उपलब्ध हुनेछ ।

यस अनुसार एमपोसमार्फत रु. १०० देखि १९९ को रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, रु. २०० देखि ४९९ को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले २ दिनका लागि २ जीबी र रु. ५०० वा सो भन्दा माथिको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ ।

त्यसैगरी फिजिकल रिचार्जमार्फत रु. १०० को रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, रु. २०० को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले २ दिनका लागि २ जीबी र रु. ५०० तथा रु. १००० को रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ । यी सबै नयाँ सुविधा आगामी पुस १ देखि प्रारम्भ हुनेछ र फागुन ३० सम्म उपलब्ध हुनेछ ।

नेपाल टेलिकमले विभिन्न चाडपर्व र अन्य अवसरमा समेत सेवाग्राहीका लागि विभिन्न सुविधा उपलब्ध गराउँदै आएको छ । यसैको निरन्तरताको रुपमा उपलब्ध हुने नयाँ सुविधाबाट सेवाग्राहीले थप लाभ लिन सक्ने कम्पनीको अपेक्षा छ ।