NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

एक वर्षदेखि पुनःनिर्माण रोकिएको कमलपोखरी

दाङ । तुलसीपुर उपमहानगपालिका–६ मा रहेको कमलपोखरीको पुनःनिर्माण एक वर्षदेखि रोकिएको छ ।

पहिलोचरणको निर्माण काम सम्पन्न भएको एक वर्ष वितिसक्दा पनि पूर्णता पाउन सकेको छैन । पहिलो चरणको काम सम्पन्न भएको करिब एक वर्ष बितिसक्दा पनि पोखरीलाई उत्खनन गरिएको छैन । अहिले चारैतिर पर्खालले घेरी पानी बिना पुरिएको अवस्थामा पोखरीको रुप देख्न सकिन्छ ।

थप निर्माणको काम कहिलेदेखि सुरु हुने हो कुनै जानकारी छैन । अहिले पोखरीलाई दोहोरो पर्खालको घेरामा राखिएको छ । पोखरीको उत्खननदेखि पानी भर्नेलगायतका काम बाँकी छन् । बजेट अभावका कारण योजना अधुरै रहेको स्थानीयवासी बताउँछन् ।

पोखरी पुनःनिर्माणलाई निरन्तरता दिई यसलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न यहाँका स्थानीयवासीले माग गरेका छन् । उनीहरुले पछिल्लो समयमा पोखरीको पुनःनिर्माणका लागि विभिन्न निकायबाट रु एक करोड ५० लाखभन्दा बढी खर्च भइसकेको छ । योजना अझै अपूरो रहेकाले यसलाई पूर्णता दिई छिटो सम्पन्न गर्न सम्बन्धित निकायसँग स्थानीयवासीले माग गरेका हुन् ।

पोखरी निर्माणका लागि गठित उपभोक्ता समितिका अध्यक्ष डिल्लीप्रसाद रजौरेले हालसम्म पोखरीको संरक्षणका लागि बाहिरी भागमा इँटाको पर्खाल निर्माण, तालक्षेत्रको पानी सङ्कलन गर्न पोखरीको चारैतिर भित्री भागमा ढुङ्गाको पर्खाल, सिँढी र पर्खाल माथिबाट पाइप रेलिङको निर्माण सम्पन्न भएको जानकारी दिए। ती संरचना निर्माणका लागि उपमहानगरपालिकाबाट रु २५ लाख, लुम्बिनी प्रदेश सरकार पर्यटन मन्त्रालयबाट रु ४६ लाख प्राप्त भएको थियो ।

त्यसैगरी युएसएआइडीको तयार नेपाल विपद् जोखिम परियोजनाबाट रु ८० लाख पाँच हजार रकम पनि पुनःनिर्माणमा खर्च भएको इन्जिनीयर कमल थापाले जानकारी दिए । युएसएआइडीको तयार नेपाल विपद् जोखिम परियोजनाबाट लोकमणि विल्डर्स निर्माण कम्पनीले त्यहाँको निर्माणको जिम्मा प्राप्त गरेको र उसले पोखरीको भित्री भागको चारैतिर ढुङ्गाको पर्खाल, सिँढीलगायतका पूर्वाधार निर्माण गरेको पनि इन्जिनियर थापाले बताए ।

उनले दोस्रो चरणका लागि पनि उपभोक्ताबाट बजेट माग भइरहेकाले छिट्टै नै प्रक्रिया अगाडि बढाइने बताए । पोखरीमा पानी सङ्कलन गरी विपद्को समयमा प्रयोग गर्न सहज हुने उनी बताउँछन् । उपभोक्ता समिति अध्यक्ष रजौरे भन्छन् “अझै थुप्रै निर्माणका काम बाँकी छन् । पोखरी उत्खनन, त्यसमा पानी सङ्कलन गर्न बाँकी छ । पोखरीलाई आकर्षक बनाउन पोखरीको बाहिरी भागमा चारैतिर बगैँचा, अवलोकन गर्न आउने पर्यटकको सुविधाका लागि बस्ने ठाउँ, सिँढी, शौचालय, धारा जडान, बिजुली बत्ती जडानलगायतका काम बाँकी छन् । यसका लागि बजेट माग गरिरहेका छौँ ।”

करिब ९० वर्ष पहिले निर्माण गरिएको सो तालको संरक्षण स्थानीयवासीले गर्दै आएका थिए । बजेट अभावका कारण यसअघि ताललाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न नसकेको स्थानीयले जनाएका छन् । अहिले पोखरी पुनःनिर्माणले भने धेरै आशा पलाएको जनाइएको छ । त्यहाँ निर्माण गरिएका पूर्वाधारले अब पोखरीको अस्तित्व सुरक्षित हुनेमा विश्वस्त छन् यसको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका समाजसेवी तथा रजौरा निवासी ७५ वर्षीय गोविन्दप्रसाद रजौरे ।

उनी भन्छन्, “थप निर्माणका लागि बजेट नआएकाले निर्माणमा ढिलाइ भएको छ । समयमा बजेट उपलब्ध भएमा यसलाई पर्यटकीय क्षेत्रमा विकास गर्न सकिनेछ ।” तुलसीपुर बजार नजिकमा यस्तो पोखरी कहीँकतै छैन । यसमा पूर्वाधार निर्माण गर्नसके यहाँ धेरै पर्यटक भित्र्याउनुका साथै बजार क्षेत्रमा कुनै आगलागीका घटना भएमा त्यही पोखरीको पानी प्रयोग गर्न सजिलो हुने रजौरे बताँछन् ।

उनी भन्छन्, “यति पुरानो पोखरीको हामी स्थानीयवासीले संरक्षण गरेर राखेका छौँ, संरक्षण नगरेको भए सो जमिन अतिक्रमण भइसक्थ्यो ।” अर्का स्थानीय ५१ वर्षीय रोमहर्ष रजौरेले स्थानीयको लामो प्रयास र सरकारी निकायको सहयोगबाट पोखरी पहिलो चरणको पुनःनिर्माण सम्पन्न भएको छ । लामो समय बितिसक्दा अहिलेसम्म यो योजनाले पूर्णता नपाएर आफूहरु दुःखित भएको उनले बताए ।

पहिलो चरणमा महत्वपूर्ण पूर्वाधार निर्माण भएको छ । अब बाँकी पूर्वाधार निर्माण गर्नसके यसक्षेत्रलाई पर्यटकीय केन्द्र बनाउन सकिने स्थानीयवासी रजौरे बताउँछन् । पोखरी संरक्षण गरेर त्यस क्षेत्रमा माछापालन, जलविहार तथा त्यहाँ जीवजन्तुको अवलोकन गर्न सकिने र यसबाट गाउँको मुहार नै फेर्न सकिने पनि उनले बताए । उपमहानगरपालिकाका इन्जिनियर पवनकुमार योगीले यसपटक पोखरीका लागि कुनै बजेट विनियोजन नभएको बताए । उपमहानगरपालिकाबाट बजेट नभए पनि युएसएआइडीको तयार नेपाल विपद् जोखिम परियोजनाबाट बजेट विनियोजन भएको भन्ने जानकारीमा आएको स्थानीयवासीले बताएका छन् ।

तालको आफ्नै ऐतिहासिक पृष्ठभूमि छ । नब्बे वर्ष पहिले रजौराका स्थानीयवासीले रजौरा, गोलौरा, डुम्रीगाउँलगायत गाउँका गाईवस्तुलाई गर्मीयाममा पानी खुवाउन एक बिघा जमिनमा आफैं श्रमदान गरी मानवनिर्मित जलभण्डारको व्यवस्था गरेका थिए । त्यस समयमा पानीको अभाव भएपछि गाउँलेले सोही तालमा नुहाउने, कपडा धुने र भाँडाकुँडा सफा गर्ने गरेको यहाँका थारु अगुवा सीताराम चौधरी बताउनँछन् ।

त्यसैलाई पछि पोखरीमा परिणत गरिएको थियो । सो पोखरीमा कमलको फूल फुल्ने गर्दथ्यो । त्यो दृश्यले सबैलाई लोभ्याउने गरेकाले कमलफूल हेर्न र टिप्न गाउँगाउँबाट मानिस आउने गर्दथे । त्यसैले त्यस पोखरीको नाम कमलपोखरी राखिएको बताइएको छ । कमलपोखरी ताल तुलसीपुर बजारबाट डेढ किलोमिटर दक्षिणमा पर्ने रजौरा गाउँबाट पाँच सय मिटर पश्चिममा पर्दछ ।