NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

भरतपुरमा राडारजडित क्यामरा जडान गरिने

नारायणगढ । चितवनको भरतपुर महानगरपालिकाले महानगरभित्र राडारजडित क्यामरा जडान गरिने भएको छ ।

मुख्य सहरी क्षेत्रमा महानगरले चार सय १६ उच्चस्तरीय राडारजडित क्यामेरा जडान गर्न लागिएको हो । यसरी सडकमा जडान गरिएका क्यामराले तीव्र गतिमा गुडिरहेको सवारीसाधनको पहिचान गरी त्यसको अभिलेख प्रहरी कार्यालयको नियन्त्रण कक्षमा रहेको सर्भर र क्यामरा दुवैमा रहने छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार महानगरभित्र पहिलो चरणमा एक सय ३७ क्यामेरा जडान गर्ने योजना छ । स्थान छनोट, उपकरण र प्राविधिक विषयमा प्रहरीले अध्ययन गरिरहेको उनले बताए ।

प्रहरी नायब उपरीक्षक पण्डितले भने, ‘क्यामरा जडान गर्न प्राविधिक र सुरक्षाको काम प्रहरीले गर्छ । अन्य काम महानगरपालिकाले गर्ने छ ।’ पहिलो चरणमा महानगरको मुख्य बजार क्षेत्र र राजमार्गमा क्यामेरा जडान गर्न लागिएको उनले बताए । राजमार्गमा तीव्र गतिका कारण हुने सडक दुर्घटना तथा अन्य आपाराधिक घटना बढ्दै गएका र त्यसको छिटो पहिचानका लागि यस प्रकारका क्यामरा सहयोगी हुने प्रहरी नायब उपरीक्षक पण्डितले बताए ।

‘यसबाट ट्राफिक व्यवस्थापनमा सहज हुने छ । ट्राफिक प्रहरीलाई सडकमा उभिनु पर्दैन’, उनले भने । महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरका २९ वटै वडामा क्यामेरा जडान गरिने बताए। ‘यहाँका बासिन्दाको सुरक्षामा चुनौती थपिँदै गएको छ । जनतालाई सुरक्षित महसुस गराउन क्यामेरा जडान गर्न लागिएको हो’, उनले भने । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाका अनुसार सबै वडामा क्यामेरा जडानका लागि करिब रु १० करोड खर्च हुने छ ।