NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

विद्युतीय गाडीमा बढ्दो आकर्षण, यस्तो छ सवारी आयातको तथ्यांक

काठमाडौं । नेपाली अटोमोबाइल्स क्षेत्रमा पछिल्लो समय विद्युतीय गाडीमा आकर्षण बढ्दै गइरहेको छ । पेट्रोलको मूल्यवृद्धि उच्च हुँदै गएसँगै सर्वसाधरणहरु पेट्रोलियम गाडीको विकल्पको रुपमा विद्युतीय गाडीतर्फ आकर्षित भएको अटोमोबाइल व्यवसायीहरु बताउँछन् ।

सर्वसाधरणको रुची पेट्रोलियम गाडीमा कम हुँदै गएको र विद्युतीय गाडीमा आकर्षण बढ्दै गएपछि अटो व्यवसायीहरुले पनि विद्युतीय गाडी आयातमा जोड दिन थालेको हो । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको तथ्यांकअनुसार नेपालमा तीन हजार ६ सय ८३ वटा विद्युतीय गाडी (कार,जीप,भ्यान) भित्रिएको छ । उक्त गाडी भित्र्याउँदा नेपालबाट ९ अर्ब ८ करोड ९७ लाख रुपैयाँ बाहिरिएको छ भने सरकारले विद्युतीय गाडी भित्र्याउँदा चार अर्ब ५४ लाख राजश्व संकलन गरेको छ ।

चालु आवको पाँच महिनामा आयात भएको गाडी गत आवको सोही अवधिको तुलनामा भन्दा बढी हो । गत वर्षको सोही अवधिमा एक हजार एक सय ३४ विद्युतीय कार, जीप, भ्यान नेपाल भित्रिएको थियो ।

चालु आवको मंसिरमा मात्रै ८९६ वटा गाडी भित्रिएको छ । जुन कार्तिक महिनामा भन्दा बढी आयात हो । कार्तिकमा ६५२ वटा विद्युतीय गाडी आयात भएको विभागको तथ्यांक छ ।

तथ्यांकअनुसार चीनबाट ६ अर्ब ३० करोड ६६ लाख रुपैयाँको दुई हजार २९७ वटा गाडी भित्रिएको छ । मंसिर मसान्तसम्ममा चीनबाट ५० किलोवाटदेखि तीन सय किलोवाटसम्म मोटर क्षमता भएका गाडी भित्रिएका हुन् । भारतबाट २ अर्ब ५६ करोड ६४ लाख रुपैयाँके एक हजार तीन सय तीन सय ६८ वटा एक सय किलोवाटसम्मको गाडी आयात भएको छ ।

त्यस्तै इन्डोनिसियाबाट २ करोड ८९ लाखको १७ वटा, कोरिया २८, अमेरिका र जर्मनीबाट तीन वटा कार, जीप, भ्यान आयात भएका छन् ।

कुन महिना कति भित्रिए विद्युतीय गाडी ?

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ११० वटा कार, जीप, भ्यान आयात भएको छ । भदौ महिनामा सो संख्या बढेर ७८८ वटा विद्युतीय सवारी आयात भएको विभागको तथ्यांक छ ।

भन्सार विभागका अनुसार असोजमा गाडी आयात झन् बढेको छ । असोजमा एक हजार २३७ वटा विद्युतीय सवारी भित्रिएका छन् । त्यस्तै कार्तिकमा भने विद्युतीय सवारीमा कार्तिकको तुलनामा आधा नै घटेको देखिन्छ । कार्तिकमा जम्मा ६५२ वटा मात्रै विद्युतीय गाडी आयात भएको छ । मंसिरमा आइपुग्दा विद्युतीय सवारी आयात पुन उकालो लागेको छ । विभागको तथ्यांकअनुसार मंसिरमा ८९६ वटा गाडी आयात भएको छ ।