NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

भूमिगत पार्किङको असफलतापछि खुलामञ्चलाई फुटबल मैदान बनाउँदै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले अब खुलामञ्चलाई फुटबल मैदान बनाउने योजना अघि सारेको छ । दुईवटा फुटबल मैदानसहित पार्क बनाउन विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)समेत तयार गरिसकेको थियो ।

यसअघि महानगरले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना अघि सारेको थियो । त्यसका लागि कार्यपालिका बैठकमा सहमति पनि जुटाएको थियो । तर, सर्वत्र विरोध भएपछि तत्कालका लागि पछि हटेको थियो । त्यसपछि पार्क बनाउने भन्दै महानगरले खुलामञ्चमा ताला लगाउँदै आएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

अब भने फुटबल मैदानका रूपमा सधैँका लागि खुलामञ्च खोल्ने योजना बनाएको छ । त्यहाँ पार्क पनि हुनेछ । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार खुलामञ्चमा तालिम दिन मिल्ने गरी दुबो कार्पेटसहित दुईवटा फुटबल मैदान बनाइनेछन् । ‘हरियाली पनि हुने, सबैजना जान पनि मिल्ने गरी फुटबल मैदानसहित पार्क बनाइँदै छ । त्यहाँ फुटबलको तालिम पनि सञ्चालन गर्छौँ,’ उनले भने, ‘यसका लागि डिपिआर, डिजाइन इस्टिमेटसमेत भइसकेको छ । मैदान बनाउन चाँडै उपभोक्ता समिति गठन हुँदै छ ।’

ऐतिहासिक खुलामञ्चलाई खेलकुद मैदान बनाउनु गलत : अभियन्ता
खुलामञ्च फुटबल मैदानमा परिणत हुन लागेपछि सम्पदा अभियन्ताहरूले भने आपत्ति जनाएका छन् । इतिहास बोकेको खुलामञ्चलाई पूर्ण रूपमा खेलकुद मैदान बनाउन नहुने उनीहरूको भनाइ छ । अभियन्ता गणपतिलाल श्रेष्ठले खेलकुदकै रूपमा खुलामञ्चलाई विस्तार गरिनुभन्दा समन्वय गरेर सानो टुँडिखेल वा रंगशालालाई प्रयोग गर्न सकिने बताए ।

‘खुलामञ्चको आफ्नै इतिहास छ । यो ठाउँ सार्वजनिक स्थल हो । सबैका लागि, सधैँका लागि खुला हुनुपर्छ,’ अभियन्ता श्रेष्ठले भने, ‘फुटबल नै खेलाउने हो, त्यसको तालिम नै दिने हो भने सानो टुँडिखेलमा खेलाउन सेनासँग सहजीकरण गर्नुपर्‍यो । रंगशालामा खेलाउन समन्वय गर्नुपर्‍यो । आज फुटबल मैदान बनाएर भोलि लैनचौरजस्तै सर्वसाधारणलाई निषेधजस्तो भयो भने के गर्ने रु’ खुलामञ्चमा फुटबल मैदान बनाउन नदिन विभिन्न रचनात्मक दबाब दिइने उनले बताए ।