NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

यस्तो छ बालेनको ‘कोर टिम’

काठमाडौं ।काम गर्ने शैली र दल तथा तिनका नेताप्रतिको टिप्पणीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सधैँ चर्चामा रहन्छन् । आफूलाई मन नपरेको विषयमा तत्काल प्रतिक्रिया जनाउने र विवादमा परेपछि गल्ती महसुस गर्ने शैलीले उनले सल्लाह लिने कोर टिमबारे नागरिकका आ–आफ्ना बुझाइ छन् । तर, मेयर साहको टिम र उनको काम गर्ने शैली अधिकांशले अनुमान गरेभन्दा फरक छ ।

मेयर साहको कोर टिमका सदस्यमा स्थानीय तहको निर्वाचनमा जो थिए, अहिले पनि लगभग उनीहरूकै बाहुल्य छ । चुनावका वेला सहयोग गर्ने केहीलाई उनले काठमाडौं महानगरपालिकामा नियुक्ति गरेका छन् । उनको टिममा महानगरमा औपचारिक रूपमा नियुक्ति तथा तलब–सुविधा नपाएका व्यक्ति समेटिएका छन् ।

बालेनको कोर टिममा कुमार व्यञ्जनकार (कुमार बेन), प्रा.डा. जगदीशप्रसाद अग्रवाल, डा. विशाल ज्ञवाली, जगतमान श्रेष्ठ, दीपक ज्ञवाली, सुनील लम्साल, अधिवक्ता ओमप्रकाश अर्याल, सन्तोष साह, सन्तोष गिरी, सुरेन्द्र बजगाईं, धीरज जोशी, नवराज खनाल, सस्मित पोखरेल, हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) र भूपदेव साहलगायत छन् । जसमा अधिवक्ता अर्यालबाहेक अन्य सबै महानगरको नियुक्ति तथा तलब–सुविधा नलिई उनलाई सघाउने सारथि हुन् ।

कुमार व्यञ्जनकार ललितपुर महानगरपालिकामा १० पटकसम्म स्वतन्त्र रूपमा वडाध्यक्षमा विजयी नरसिंह व्यञ्जनकारका छोरा हुन् । उनले चुनावदेखि नै बालेनलाई सघाउँदै आएका छन् । मेयरका हरेक निर्णय तथा योजनामा कुमार बेनकै सल्लाह हुने गरेको छ ।

चिकित्सा शिक्षा आयोगका पूर्वसदस्य डा. अग्रवाल अवैतनिक सल्लाहकार हुन् । उनले महानगरको स्वास्थ्य विभागलाई आवश्यक सल्लाह–सुझाव दिने गर्छन् । डा. ज्ञवाली क्यान्सररोग विशेषज्ञ हुन् । बालेनले उनीसँग स्वास्थ्यका विषयमा सुझाव लिन्छन् ।

पूर्वजलस्रोतमन्त्री ज्ञवाली जलस्रोत तथा खानेपानीविज्ञका रूपमा महानगरका अवैतनिक सल्लाहकार छन् । सुनील लम्साल पूर्वाधारविद् तथा स्ट्रक्चर इन्जिनियर हुन् । उनले इन्जिनियरिङ तथा पूर्वाधारसम्बन्धी कार्यमा सहरी तथा पूर्वाधार विभागलाई सघाउँछन् ।

कोर टिमभित्रकै सन्तोष साह र सन्तोष गिरी फुड सेफ्टी तथा हाइजेनिकसम्बन्धी सल्लाहकार हुन् । साह मास्टर्स सेफसमेत हुन् । गिरी लामो समय फुड सेफ्टीमा काम गरेका व्यक्ति हुन् । सुरेन्द्र बजगाईं मेयर साह र उनले गरेका विषयलाई सञ्चारमाध्यममा ल्याउने भूमिकामा छन् । नवराज खनाल कृषि र स्वास्थ्यसम्बन्धी विज्ञ हुन् । सस्मित पोखरेल र धीरज जोशीले अधिवक्ताका रूपमा मानव अधिकार तथा कानुन शाखालाई सघाउँदै आएका छन् ।

भूपदेव साह बालेनको स्वकीय सचिव हुन् । उनले मेयरसँग भेट्ने आगन्तुकको समय मिलाइदिने, उनका कार्यक्रमको टिपोट राख्ने, मेयरका विषयमा जानकारी दिने र उनका योजनामा प्रत्यक्ष जोडिएर काम गर्दै आएका छन् । कुनै निर्णय लिनुपर्दा बालेनले हास्य कलाकार अर्जुन घिमिरेसँग सल्लाह लिने गर्छन् ।

महानगरको सहरी योजना आयोगका सबै सदस्य मेयरको कोर टिमभित्र पर्छन् । आयोगमा मेयर साहले विषयविज्ञका रूपमा कर्मचारी नियुक्ति गरेका छन् । बालेनको मुख्य टिममा ३० जना हाराहारीमा सदस्य रहेको सचिवालयले जनाएको छ । ‘हामीसँग त्यस्तो आश्चर्यजनक ठूलो टिम होइन, सानो टिम भए पनि परिचालन व्यवस्थित छ । सबैजसो केही न केही क्षेत्रसँग विज्ञ तथा जानकार हुनुहुन्छ,’ बालेनका स्वकीय सचिव भूपदेव भन्छन्, ‘चुनावमा जिम्मेवारी दिएका सबैलाई महानगरमा जिम्मेवारी दिन सकिएको छैन, न त हामीसँग त्यस्तो पार्टी नै छ । सीमित नियुक्ति भएकाले विज्ञ र आवश्यक व्यक्ति छानेर नियुक्ति गरेका छौँ ।’

महानगरको सहरी योजना आयोगमा रहेका सबै कर्मचारी मेयरले नै नियुक्ति गर्न पाउने कानुनी अधिकार छ । योे टिमले महानगरका विभाग तथा योजनामा काम गर्ने गर्छ । आयोगको उपाध्यक्षमा डा. सुमननरसिंह राजभण्डारी, उपनिर्देशक कुमारी राई, विज्ञ सदस्यहरू विनोद न्यौपाने, सुरजराज काफ्ले, बाबुराम भट्टराई छन् ।

सहायक विज्ञमा रजिता शाक्य, शोभना राजभण्डारी, शैलेन्द्र झा, पुरुषोत्तम महत, अग्मा मालाकार, प्रशान्त खरेल, योगिता पन्त, सदीक्षा शाक्य, आनन्द मानन्धर, विवेक बास्तोला, प्रतीक्षा राई, रोहितकृष्ण मानन्धर, प्रतीक श्रेष्ठ र लेखा अधिकृत श्यामप्रसाद न्यौपाने छन् । उनीहरू बालेनका कोर टिमकै सदस्यको हैसियतमा रहन्छन् ।

गत ६ असारमा महानगरकी शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिइन् । उनी महानगरको सुविधा नलिने गरी अवैतनिक सल्लाहकारका रूपमा थिइन् । बालेनले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर काम गरेको, सल्लाहकारको सुझाव नमानेको र नगर प्रहरीले पनि उद्दण्ड व्यवहार देखाएकाले आफूलाई त्यहाँ बस्न मन नलागेपछि राजीनामा दिएको उनको भनाइ थियो । तर, महानगरले उनलाई शिक्षा विभागको सल्लाहकार बन्न पुनः ताकेता गरिरहेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।