NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

विमानस्थल भन्सारमा सशस्त्र प्रहरी परिचालन

काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार चेकजाँचमा सोमबारदेखि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । भन्सारको सुरक्षामा बारम्बार त्रुटि भएपछि सरकारले सशस्त्र प्रहरी बललाई सहयोगीका रूपमा खटाएको हो ।

भन्सारकै नेतृत्व र निर्देशनमा सशस्त्र प्रहरीले विमानस्थलको आगमन कक्षको भन्सार क्षेत्रमा चेकजाँच सुरु गरेको छ । यसअघि निजी कम्पनीका सुरक्षाकर्मीले चेकजाँच गर्दै आएका थिए ।

अर्थ मन्त्रालयले गरेको अनुरोधअनुसार गृह मन्त्रालयले सशस्त्र प्रहरीलाई खटाएको हो । अन्तर्राष्ट्रिय सीमा क्षेत्रको सुरक्षा जिम्मेवारी सशस्त्र प्रहरीलाई भएकाले उसलाई खटाउने निर्णय भएको गृह मन्त्रालयका एक अधिकारीले बताए । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत २६ पुसमा यससम्बन्धी निर्णय गरेका थिए ।

सरकारको निर्णयअनुसार सोमबार बिहान ६ बजेदेखि भन्सारको चेकजाँचमा सशस्त्र प्रहरी खटिन थालेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत डा. टोकराज पाण्डेले बताए । ‘गृह मन्त्रालयको निर्णयअनुसार भन्सारको प्रत्यक्ष सुपरिवेक्षण र निर्देशनमा सशस्त्र प्रहरी खटिएको छ,’ उनले भने, ‘एक सिफ्टमा पाँच सशस्त्र प्रहरी ड्युटीमा खटिनेछन् ।’

गृह मन्त्रालयको निर्णयअनुसार सशस्त्र प्रहरी बल मुख्यालयले इन्स्पेक्टरको कमान्डमा ३० जनाको टोली विमानस्थल भन्सारमा खटाएको हो । विमानस्थल भन्सार कार्यालयको सुरक्षा संवेदनशीलता, कामको बढ्दो चुनौती, कर्मचारीको अपर्याप्ततालगायत विशेष आवश्यकतालाई मध्यनजर गरी सशस्त्र प्रहरीलाई परिचालन गर्नुपरेको गृह मन्त्रालयको निर्णयमा उल्लेख छ ।

हाल आगमन कक्षको वाक थ्रु गेट रहने क्षेत्रमा सशस्त्र प्रहरी खटिएको छ । साथै, कुनै शंकास्पद व्यक्तिलाई थप अनुसन्धान गर्नुपरेमा पनि भन्सारलाई सशस्त्र प्रहरीले सहयोग गर्नेछन् ।

पछिल्लो समय विमानस्थल भन्सार कार्यालयबाट सुन तस्करी भएको घटनामा भन्सारको पनि कमजोरी उजागर हुँदै आएको छ । कतिपय अवस्थामा दक्ष कर्मचारीको अभाव तथा प्रविधिको कमजोरीले पनि तस्करी हुने गरेको छ । यसअघि भन्सारको चेकजाँचमा निजी सुरक्षा कम्पनीका अनुभव नभएका कर्मचारी खटाएपछि चेकजाँच प्रणालीमा प्रश्न उठ्दै आएको थियो । विमानस्थलको चेकजाँचमा भन्सारसँगै सुरक्षाकर्मी पनि खटाउन वर्षाैँदेखि गृह मन्त्रालयले कुरा उठाउँदै आएको पनि थियो । तर, अर्थ मन्त्रालयको अनिच्छाले आगमनमा सुरक्षा निकायलाई निषेध थियो ।

विमानस्थलको सुरक्षामा सुधार गर्ने योजनाअनुसार सरकारले सशस्त्र प्रहरीलाई खटाउन थालेको हो । ‘भन्सारमा सुधारको प्रक्रियाअन्तर्गतको एक कदम हो,’ भन्सार विभागका एक अधिकारी भन्छन्, ‘हालै मात्र भन्सारमा चारवटा नयाँ एक्सरे पनि थपेका छौँ, आधुनिक प्रविधि र दक्ष जनशक्तिबाट विमानस्थलको चेकजाँच बलियो बनाउने प्रक्रिया चलिरहेको छ ।’

यसअघि विमानस्थलबाट हुने सुन तस्करीमा भन्सार र नेपाल प्रहरीका कर्मचारी, नागरिक उड्डयन प्राधिकरण तथा एयरलाइन्स कम्पनीका कर्मचारीसमेत पक्राउ पर्दै आएका छन् । सशस्त्र प्रहरीसमेत हुँदा विमानस्थलका निकायहरूबीच ‘क्रसचेक’समेत हुने भएकाले यसले सुरक्षामा सुधार हुने गृह मन्त्रालयका अधिकारी बताउँछन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।