NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

पाँच प्रदेशमा आज वर्षाको सम्भावना

काठमाडौं । पाँच प्रदेशमा आज वर्षाको प्रक्षेपण गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको आकलन गरेको हो ।

महाशाखाले सार्वजनिक गरेको बुलेटिन अनुसार, यी पाँच प्रदेशका एक/दुई स्थानमा बुधबार हल्का वर्षाको सम्भावना छ । वर्षाको सम्भावना रहेका स्थानबारे भने महाशाखाले केही खुलाएको छैन ।

त्यस्तै, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा  आज हल्का हिमपात हुने अनुमान छ ।

बिहीबार देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना भए पनि वर्षाको आकलन गरिएको छैन ।

महाशाखाका मौसमविदहरूका अनुसार, शुक्रबार कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दूई स्थानमा हल्का वर्षा तथा गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

नेपालमा हाल पश्चिम वायुको आंशिक प्रभाव देखिएको छ । यही वायुको प्रभावले केही दिनयता मौसममा बदली आएको मौसमविदको भनाइ छ ।

मौसमविदहरूले यस वर्षको हिउँदमा औसतभन्दा बढी वर्षा हुने अनुमान गरे पनि अहिलेसम्म पानी परेको छैन । आफूले गरेको प्रक्षेपण नमिलेपछि मौसमविदहरूले यसमाथि समीक्षा थालेका छन् ।